कपनले निर्धारण गर्छ पासाङको भविष्य(चुनावी विश्लेषण)

कपन अनलाइन  समाचार विश्लेषण/

संबिधानसभाको चुनावको तिथि नजिकिँदै गर्दा चुनावमा भाग लिने उम्मेदवारको दिनचर्या यन्त्रवत हुन थालेको छ । बिहान ५ बजेदेखि रात ११ बजेसम्म उम्मेदवारहरु कसरी चुनाव जित्ने भन्ने ध्येयमा दौडिरहेका छन् । झनै ह्याभिवेट उम्मेदवारहरुको प्रतिस्पर्धा हुने ठाउँमा त उम्मेदवारले आफ्नो खाने र सुत्ने कुरालाई सूचिमासमेत राखेका छैनन् । यी दिनहरुमा कतिपय उम्मेदवारहरुले आफ्नो तौल घटाइसकेका छन् भने घाम हिँडेर अनुहार समेत कालो भैसकेको छ ।

 

मतदान गर्ने दिन २० दिनमा घटेर साँघुरिँदा काठमाडौं क्षेत्र नं. ४ को चुनावी माहौल झनै तातेको छ । गगन थापा र पासाङका कारण चर्चामा रहेको यो क्षेत्रको राजनीति कपन गाविसमा केन्द्रित रहेको छ । सबैभन्दा बढि मतदाता भएको गाविसमा कसले धेरै मत लिने भन्ने विषय सबै उम्मेदवारहरु दैनिकजस्तो कुनै न कुनै रुपले कपन केन्द्रित भएका छन् । कपनमा नै बसोबास गर्ने भएको पासाङलाई भने अलि सजिलो पनि भएको छ । तीनवटै दलहरुले यो चुनावमा कपनबाट आफूले ५००० मत ल्याउने दावी गरेका छन् र आफ्ना क्रियाशिलतालाई बढाएका छन् । १४,९६७ मतदाता रहेको कपन गाविसमा नयाँ दल भए पनि एमाओवादी कमजोर छैन भने एमाले र कांग्रेसले सदैव आफ्नो मजबुत क्षेत्र मान्ने गर्दछन् ।

DSC_0090

हालै पद्मकन्या कलेजका तीनजना छाात्राले गरेका अध्ययन सर्वेक्षणमा कपनबाट एमालले सबैभन्दा बढि मत लिने रिपोर्ट सार्वजनिक गरिएको छ । यस रिपोर्टमा दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा एमाओवादी रहने उल्लेख गरिएको छ । कपनका १५० जना मानिससँग गरिएको प्रश्नका आधारमा तयार गरिएको यस रिपोर्टले कपन गाविसमा एमालेले ४५०० मत पाउनेछ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४००० मत लिनेछ भने तेस्रो स्थानमा रहेको एमाओवादीले ३००० मात्र मत लिने उल्लेख गरिएको छ ।

survey2

यस सर्वेक्षणले एमाओवादीलाई विशेष धक्का लागेको छ । कपनबाट अरु पार्टीकोभन्दा धेरै अन्तरको मत लिने दाउमा रहेको एमाओवादीको संगठन कमजोर रहेको सर्वेक्षणमा उल्लेख छ । एमाओवादीको बरिष्ठ व्यक्ति उम्मेदवार हुनु र कपनमा बसोवास गर्ने व्यक्ति हुँदा पनि एमाओवादीले यसको फाइदा लिन सकेन भने उसको पराजय निश्चित रहेका विश्लेषकहरु बताउँछन् । विश्लेषकहरु एमाओवादीले कपनबाट कति मत लिन्छ त्यसबाटै उसको भविष्य देखाउँछ किनकी कपनबाहेक अन्य गाविस तथा वडाहरुमा एमाओवादीको अवस्था मिश्रित रहेको छ । महानगरपालिकाको वडा नं. ७ र ८ बाट एमाओवादीले धेरै मतको आशा गरे पनि त्यो अनुसारको चुनावी माहौल बन्न सकिरहेको छैन भने महानगरपालिकाको वडा नं. १ र ३३ मा उसको अवस्था पहिलेदेखि नै कमजोर रहेको छ ।

DSC_0098

 

महांकाल गाविसमा पछिल्लो दिन बनिरहेको माहौलले भने एमाओवादीलाई केही राहत मिल्ने संकेत देखिन्छ तर चुनिखेल गाविसमा वैद्य माओवादीको प्रभाव धेरै छ भने चपली गाविसमा औसत किसिमको सांगठनिक रुप देखिएकोले चिन्ताको विषय बन्दै गएको देखिन्छ । एमाओवादी पार्टीभित्र टप फाइब व्यक्तिमध्ये एक मानिने पासाङको चुनावी अनुभवको अभावले पनि केही असर परिरहेको पार्टी कार्यकर्ताहरु बताउँछन् । तर नेपाली कांग्रेसका गगन थापाविरुद्ध पार्टीका ठूलै मानिसहरुको चलखेल एवम् सुप्रभा घिमिरेको उम्मेदवारीले पारेको मानसिक असरले कहिँकतै गगन थापालाई कमजोर बनाइरहेको एमाओवादीको ठम्याई छ । नेपाली कांग्रेसको सबैजसो इकाइमा केही न केही विवाद यथावत रहेकोले यसको फाइदा पासाङलाई हुन सक्ने बताइन्छ ।

 

त्यसैगरी तुलनात्मकरुपमा कमजोर भनेर चिनाइने एमाले उम्मेदवारका कारण पनि पासाङले आफू जितिने मानसिकता तयार पारेको देखिन्छ । संघीय समाजवादी पार्टीबाट पूर्व एमाले कार्यकर्ता चुनावी माहौलमा उभिएकाले नेवार समुदायको एमालेको मत काटिने सक्ने अनुमान एमाओवादीले लगाएको छ । त्यसैगरी चाबहिल, मित्रपार्क तथा जयवागेश्वरीका केही नेपाली कांग्रेस र एमाले मतलाई राप्रपा नेपालका उद्धब पौडेलले काट्न सक्ने पक्षले पनि पासाङका उत्साह प्रदान गर्न सक्छ । चुनावी मैदानमा उत्रिएका महत्वपूर्ण दलहरुमा पासाङमात्र प्रत्यक्षतर्फ जनजाति उम्मेदवार भएकाले उनले जनजातिलाई प्रभावित बनाउन सक्ने देखिन्छ । उनको घरदैलो कार्यक्रममा उपस्थित कार्यकर्ताहरुको अनुहारमा यो विषय मुखरित भएको देख्न सकिन्छ ।

DSC_0117

 

क्षेत्र नं. ४ मा आजसम्मको प्रचारप्रसारको अनुपात हेर्ने हो भने पासाङ अन्य उम्मेदवारभन्दा निकै अगाडि छन् । उनले तीनवटा गाडिमा माइक लगाएर दिनभर आफ्नो क्षेत्रमा प्रचारप्रसार गरिरहेका छन् भने गगन थापाको आफ्नो गाडिमासमेत रुख चिन्हको झण्डा छैन । नेपाली कांग्रेस तथा एमालेले गाडिमा माइक राखेर प्रचारप्रसार गरेका छैनन् । अहिलेको अवस्थामा पासाङले प्रचारप्रसारमा अब्बल बनेर मत आकर्षित गरिरहेका छन् ।

 

गएको संबिधानसभा निर्वाचनमा तत्कालिन विजयी उम्मेदवार सुप्रभा घिमिरेभन्दा करिब ४००० मतले एमाओवादी उम्मेदवार पछाडि थिए । अबको चुनावमा किन एमाओवादीलाई भोट दिने भन्ने बारे रणनीतिक प्रचारमा पासाङ होमिएका छन् । जनयुद्धमा उनले निर्वाह गरेको कमाण्डरको भूमिका तथा एमाओवादीको हाइकमाण्डको व्यक्ति हुनुको नाफा उनले लिन खोजिरहेका छन् । एमाओवादीले सरकार बनायो भने संभावित राम्रो मन्त्रालय उनले पाउने विषय पनि चुनावी रणनीति बनाउन खोजिएको छ । व्यक्तिगत रुपमा वर्तमान प्रहरी महानिरिक्षकलगायतका सुरक्षा संयन्त्रका प्रमुखसँगको उनको सम्बन्धले पनि उनलाई केही फाइदा पुग्ने बताइन्छ ।

(फोटो: आज कपनमा देखिएको घरदैलो कार्यक्रमको)

 

तपाइँको प्रतिक्रिया ।