गुन्द्री तथा सुकुलको ब्यथा !
कपन अनलाइन
काठमाडौं, मंसिर २०। गोबिन्दशरण उपाध्याय/
पहाडी समुदायका लागि धानको परालले बुनेको गुन्द्री नौलो वस्तु होइन । धान थन्क्याएपछि अलि सप्रेका धानको पराल अलग्गै राखेर, पुस माघको चीसोमा आँगनको घाम ताप्दै आमाले गुन्द्री बुन्नु हुन्थ्यो । आज पनि बुन्नुहुन्छ नयाँ पढेलेखेका पुस्ताहरू वेवास्ता छन् । तीन–चार दिनमा एउटा गुन्द्री सकिन्थ्यो बुनेर । हामी केटाकेटी नयाँ गुन्द्रीमा सुत्न र वस्न पाउँदा निकै रमाइलो मान्थ्यौं । पाहुनापाछा वा ज्वाई–चेली आउँदा नयाँ गुन्द्रीमाथि “राडी” ओच्छ्याउनुको सानै अर्को हुन्थ्यो ।
चारकिला गाडेर, बाबियोको घरबाट हातले बाटेका जेउराले तान तयार गरेर, एकएक गरी परालको पोयोहरू तानमा छिराउँदै काठबाट बनेको “हत्केलोले ठोक्दै” गुन्द्री तयार हुन्छ । गाउँघरमा आज पनि परालको गुन्द्री बुन्ने गरिन्छ । गुन्द्री बुन्ने तरिका निकै मेहनतिलो हुन्छ र जति मेहनत गरिन्छ त्यसअनुसार यो गुनिलो पनि हुन्छ ।
चिसोबाट जोगिन यो भन्दा भरपर्दो अरू केही छैन । लगभग दूईवर्षसम्म लगातार प्रयोग गर्न सकिने तानमा बुनेको नेपाली गुन्द्री पूर्णतया नेपाली मौलिक रैथाने सीप हो र हजारौं वर्षदेखि पहाडी नेपालीहरू
(महिला)हरूले बुन्दै आएका छन् । बाक्लो, न्यानो र सजिलैसँग उत्पादन गर्न सकिने नेपाली परालको गुन्द्री सबैको लागि प्यारो हुन्छ ।
वांसको चोया काडेर निर्माण गरिने डोको र सनपाटबाट निर्माण गरिने नाम्लो लगभग लोपोन्मुख छन् । यी दुवैलाई प्लास्टिकका थैलाले विस्थापित गरेको छ । अव इण्डियन र चाइनिज म्याटले गुन्द्रीलाई विस्थापित गर्दै छ । ५०० वर्ष भन्दा बढी समय नगल्ने प्लास्टिकको साटो रैथाने गुन्द्रीहरू धेरै गुणकारी हुन्छन् भनेर हाम्रा बालबालिकाले न आफ्ना पाठ्यपुस्तकमा पढ्न पाउँछन् न विद्यालयको घमाइलोमा तान बाँधेर यो रैथाने सीप सिकाउँन सरकारी तन्त्रको चासो छ । विदेशी आइएजिओहरू नेपाललाई अमेरिका र बेलायतझैं बनाउने सपना बेच्न तयार छन् तर नेपालको रैथाने गुन्द्री बुन्न सिकाउने सीप सिकाएर आत्मनिर्भर बनाउनतिर कसैको चासो छैन ।
आज पूजाआज्ञा र क्रिया वस्दा गुन्द्रिको प्रयोग बढेको छ । गुन्द्री प्राकृतिक भएकोले पवित्र मानिन्छ । गाउँघरमा “कोरा” बार्न गुन्द्रिको प्रयोग गरिन्छ तर आजभोली नयाँ पुस्ताले जाँगर र सीप दूवै गुमाएकोले गुन्द्री–संस्कृति सङ्कटमा परेको छ । अमेरिका र बेलायतबाट फर्केर क्रिया वस्दा गुन्द्री खोज्ने तर यी रैथाने सीपको विस्तार र प्रवर्धन गर्न ध्यान
नदिने उचित भएन । आज विदेश जाने धेरै मान्छेहरू गुन्द्री मै हुर्केका हुन् भन्ने ग्यारन्टी म दिन्छु तर उनीहरूले गुन्द्रीको संरक्षणमा ध्यान नदिंदा मन दुख्छ ।
गुन्द्री यतिबिध्न न्यानो हुन्छ कि असजिलो परेको बखतमा ओड्ने र ओच्छ्याउने दूबै काममा प्रयोग गर्न सकिन्छ मुख्य कुरा चिसोबाट जोगिनु हो – यसले चीसोबाट जोगाउने ग्यारेन्टी गर्छ । तर विदेशीको नक्कल गर्न मात्र खप्पिस नेपालीहरू स्वदेशी वस्तुको मूल्य र उपयोगिता चिन्दैनौ र चिने पनि स्वीकार गर्न लाज लाग्छ । यदि पाठ्यक्रममा यी रैथाने सीपहरू सामेल गरिदिएको भए आज ‘गुन्द्री’ ब्रान्डमा विश्वभरि नेपाली गुन्द्रीहरू विक्री हुन्थे । प्लास्टिकको प्रयोगबाट वाक्क भएका अमेरिकी र युरोपेलीहरू सजिलैसँग गल्ने गुन्द्री किनेर प्रयोग गर्न तछाडमछाड गर्थे ।
पुराना काठमाडौँ उपत्यकाका वासिन्दाहरूका लागि ‘सुकुल गुण्डा’ भन्ने शब्द नौलो छैन किनभने सिरक–डसना किन्न नसक्नेहरूले वाहिर राम्रो लुगा पहिरेर निस्के पनि घरमा भने सुकुल अर्थात् काठमाडौँ उपत्यकाको रैथाने गुन्द्री ओढेर ओच्छ्याएर रात काट्थे । यसको अर्थ हो – गुन्द्रीले काठमाडौँ उपत्यकाको चिसो सजिलैसंग रोक्थ्यो । मलाई लाग्छ, आज पनि सही तवरले गुन्द्रीका गुणहरू बुझ्ने हो भने असंख्य बालबालिकाहरूलाई चिसोबाट जोगाउन सकिन्छ निमुनियाबाट उनीहरूको ज्यान जोगाउन सकिन्छ ।
अब हामीले मौलिक सीपहरूमा आधारित रैथाने उत्पादनहरूको पहिचान गरेर तिनको संरक्षण र प्रवर्धन गर्न आवश्यक भैसकेको छ । जागौं, ‘गुन्द्रीको पनि अमेरिकाले कपीराइट ग¥यो अरे !’ भन्ने समाचार पढ्नु भन्दा पहिला नै आफ्नो गुन्द्रीको महत्व चिनौं र स्थानीयतहबाट नै एसको प्रवर्धन गर्न पहल गरौँ । विद्यालयहरूमा तान ठोकेर बालबालिकालाई गुन्द्री बुन्ने तालिम दिउँ र त्यसको मूल्यांकन गरेर उत्तीर्ण अंकमा समावेश गरौँ ।
यदि हामी समय मै जागेनौं भने हाम्रा मौलिक सीपहरू विदेशीले पेटेन्ट गर्ने छ र हामी फेरी तेही सीप महँगोमा किनेर प्रयोग गर्न बाध्य हुनेछौँ । गुन्द्रीको चियोचर्चो छाप्ने समाचारपत्रहरूले पनि गुन्द्री शब्द प्रयोग गरे वापत रोयलिटी तिर्नु पर्ने छ । आफ्नो जरोकिलो जोगाउनु छ भने आफैले अग्रसरता लिउँ । हामी सघाउँन तयार छौँ ।