पुरुष क्रस कन्ट्री साइक्लिङमा नेपालका बुद्धि बहादुर तामाङलाइ स्वर्ण
कपन अनलाइन
काठमाडौं मंगसिर २०। बुद्धिबहादुर तामाङ१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त साइक्लिङतर्फको पुरुष क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका छन् ।गोकर्णको जगडोलमा हिजो भएको साइक्लिङमा पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरी एक घन्टा १९ मिनेट आठ सेकेन्डमा पूरा गर्दै बुद्धिले स्वर्ण पदक जितेका हुन् यो विधामा नेपालले क्लिनस्विप गरेको थियो ।
एक घन्टा १९ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै राजीव राईले रजत जिते भने एक घन्टा २१ मिनेटमा दूरी पार गरेका ओकस बज्राचार्यले कांस्य पदक जितेका हुन् । उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको सो प्रतियोगितामा बिजेताहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पदक वितरण गरेका थिए।
त्यसैगरि हिजो नै भएको महिला तर्फको १६ किलोमिटर दूरी एक घन्टा २० मिनेट २० सेकेन्डमा पूरा गर्दै लक्ष्मी मगरले स्वर्ण जितेकी थिइन् ।नेपालकै उषा खनाललाई पराजित गर्दै लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्।
भारतकी प्रणीता प्रफुलले एक घन्टा ३६ मिनेट २९ सेकेन्डका साथ कांस्य पदक प्राप्त गरेकी थिइन् । यससँगै नेपालले साइक्लिङमा चार स्वर्ण जितेको छ । बुधबार पनि नेपालले दुई स्वर्ण जितेको थियो । डाउनहिलको पुरुषमा राजेश मगर र महिलामा निस्मा श्रेष्ठले पहिलो दिन स्वर्ण दिलाएका थिए । उक्त कार्यक्रम अवलोकन गर्नको लागि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल यज्ञडोल जगडोल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देल लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
फोटो :सरोज बस्नेत