समदर्शी “यात्री” !
कपन अनलाइन
काठमाडौं, मंसिर २०/ विजय चालिसे
वास्तवमा थरका हिसाबले मामा पर्नुहुन्थ्यो, पूर्णप्रकाश नेपाल “यात्री” ! मेरी आमा मुलुकभर फैलिएका नेपाल थरका मूलभूमि मानिने काभ्रेको मण्डन मैं जन्मनुभएकोले आरुबारी मेरो घर आएका बखत उहाँ आमालाई सधैं दिदी र बाबालाई भिनाजुको संबोधन गर्नुहुन्थ्यो । त्यस हिसाबले पनि मामा नै भन्नुपर्ने हो मैले । तर किन हो मलाई उहाँलाई दाजुकै संबोधन बढी आत्मीय, बढी न्यानो र बढी अभिभावकत्वपूर्ण लाग्थ्यो । त्यसैले “पूर्णप्रकाश दाइ” नै भन्ने गर्थें म ।
नेपालको विकट भागहरूको कष्टप्रद भ्रमण गरेर नेपाली साहित्य, इतिहास र सांकृतिका विविध क्षेत्रमा अन्वेषण गरी अमूल्य योगदान पु¥याउने धेरै छन्, नेपाली सपुत । तिनमध्ये केहीले राज्यको साधन–स्रोतमा त्यो कार्य सम्पन्न गरेका छन्, कसैले आफ्नै साधन स्रोत र सामथ्र्यको भरमा अझ त्यो भन्दा पनि बढी कार्यसम्पादन गर्न सफलता पाएका छन् । यस्ता प्रातःस्मरणीय नाउँहरूमा सर्वप्रथम योगी नरहरिनाथको नाउँ लिनुपर्छ भने अन्यमा सत्यमोहन जोशी, धर्मराज थापा, र पूर्णप्रकाश नेपाल ‘यात्री’ (१९९१–२०६९) लाई कहिल्यै बिर्सन सकिँदैन । हो, अरु धेरै नाउँ छन्, यस सन्दर्भमा लिनु पर्ने तर यी चार यथार्थमैं प्रतिनिधि पुरुषको रुपमा सम्झनु पर्ने विशिष्ट नाउँ हुन् ।
“यात्री” उपनामधारी पूर्णप्रकाश नेपालको यायावरी प्रवृत्तिकै प्रतिफल थियो उहाँको नेपाली भाषा, लोकसाहित्य र मानवशास्त्रका विशिष्ट अभियन्ता व्यक्तित्व ! कोशी अञ्चलको भोजपुर कटुन्जेमा जन्मेर आफ्नै स्रोतसाधनमा नेपालको मेचीदेखि महाकालीसम्मका भूभाग चाहार्ने यात्रीको त्यो यात्रा, यात्राको लागि मात्रै थिएन । उहाँको त्यो नितान्त निजी यात्रा अहिलेका प्रज्ञाप्रतिष्ठानजस्ता संस्थाले सरकारी खर्चमा गरेका भए लाखौं रुपियाँ खर्चको भारी बोकाएर दिने प्रतिवेदनका खेस्रा भन्दा कता हो कता गहन र उपलब्धिपूर्ण थिए । उहाँका यी यात्राले नेपाली लोकवार्ता शास्त्र, नृतत्वशास्त्र, इतिहास, भाषा–साहित्य र वाङ्मयका विविध क्षेत्रको प्रामाणिक अध्ययनका लागि नेपाली वाङाय भण्डारलाई महत्वपूर्ण सामग्री दिएका छन् । उहाँको यो क्रियाशीलताबाट नेपाली संस्कृति, सहित्य तथा नृतत्वशास्त्रको अध्यनमा ठूलो सहयोग पुगेको छ । यिनै विषयका अध्यनमा आफूलाई आजीवन क्रियाशील बनाएका यात्रीबाट नेपाली वाङ्मयले प्रशस्त सामग्री प्राप्त समेत गरेको छ ।
कतिपय विद्वानहरूको जीवन र व्यवहारमा द्वैध रूप भेटिन्छ । बाहिर देखाउने एउटा, र भित्र अर्को ! बाहिर स्वाभिमानी देखाउने कतिपय कथित विद्वान् र साहित्यकारको गुदी भन्नु नै राजनीतिक नेतृत्वको परिचर हुनु र वास्तविक अभीष्ट भने सधैं कुनै न कुनै पदको कुृर्शीमा गजधम्म बसेर आफैंले आफूलाई महान् ठान्ने मनोरोगको शिकार बन्नू हुने गरेको छ ! यस्तो प्रवृत्ति उहाँमा फिटिक्कै देखिँदैनथ्यो । ठूलादेखि साना सबैसँग समान खालको व्यवहार हुन्थ्यो उहाँको, समदर्शीजस्तै ! अर्थात् आफ्नो जीवनदर्शन र आदर्शमा समतावादी ।
“कर्मण्डेवाधिकारस्ते माःफलेषु कदाचन” को आदर्श पालना गर्दै स्पष्टता, सरल स्वभाव र गहन विद्वता, आफ्ना समवयी मात्र नभएर आफूभन्दा पछिल्ला पुस्तामा समेत स्पष्ट प्रभावको छाप छाड्न सफल पूर्णप्रकाश दाइप्रति हार्दिक श्रद्धाञ्जली !