मनको ढोका !
कपनअनलाइन
काठमाडौं, मंसिर २० । त्रिलोचन आचार्य/कविता
नखोली मनको ढोका अक्षर देखिँदैन है
पढिन्न कहिल्यै काव्य कविता लेखिँदैन है
बन्दैन मित्रता अग्लो चित्र क्यै कोरिँदैन है
उठ्दैन बलियो बाँध पहरा फोरिँदैन है
घर जस्तो हुने छैन घर, छाप्रो समान हो
स्वाद मिठो दिने छैन मिठाई नै तितो अहो !
देखिँदैन कतै आँखा सेतो कालो बरोबर
चिनिँदैन कतै सुख्खा ठाउँ वा हो सरोबर ।
ढोका यो मनको खुल्दा चोखो आस्था छ झल्मल
नउघारी बसे हुन्छ अन्धकार र अल्मल
चिनिँदैन अहो ! आफ्नो अर्को भन्ने कदाचित
देखिँदैनन् कुनै पुष्प उद्यानमा सुवाशित ।
नखोल्दै द्वार यो बस्दा बुद्ध चिन्दैन दृष्टिले
माटोको गरिमा झर्छ बाली भर्दैन सृष्टिले
सूर्य वा चन्द्रमा लाग्छन् डुलुवा परका चिज
बेअर्थी बाँसुरी लाग्छन् बेकार स्वर संगीत ।
अघि आउन पाउन्नन् आविष्कार कलाहरू
खासै महत्वका हुन्नन् हिमबुट्टे थलाहरू
दिन के रात के हुन्छन् निराकार धरातल
विवेक नखुली उस्तै अम्मृत वा हलाहल ।
हिँडोस् विश्वासले मान्छे खोलेर मनको पथ
गरोस् हिम्मतले काम तानेर युगको रथ
सधैँ लागिरहे बाटो नसकिने कुरा कुन ?
ढोका त्यो मनको खोल्दा नदेखिने कुरा कुन ?