कोपिलाको जीवन !
कपनअनलाइन
काठमाडौं,मंसिर १३ । कविता/ दुर्गा रिमाल
एकादेश थियो थिए नव लता फुल्ने थिए फूल भै
छैनन् है तिनका सुसार मलजल् हुर्कन्न वर्षा नभै
पानी घामसँगै निस्वार्थ मनले फुल्ने थिए कोपिला
बाँच्ने आश निरास भै मरिसके छैनन् कुरा जोशिला
माटो शान्त थियो मुहार हँसिलो छाती खुलेको थियो
फुल्ने भूमि हराभरा क्षितिजको लाली चढेको थियो
पानी माथि सुवास सुन्दर थियो त्यो ज्योतिको चाँदनी
फुल्ने बैंस थियो सुहृदय थियो उन्मादको मेदिनी
फक्रौंला वहमा पराग टिपुँला काँडा सबै मासुला
झेल्दै घाम उषा, निसा निडरको त्यो बागमा नाचँुला
हाँसौला सुनसान भूमि बिचमा राती जुनेली भरी
काँडा पात दुवै सुखान्त क्षणको फुल्ने कला हो यही
नाचौंला धुनमा विश्राम नगरी त्यै कोपिला साथमा
ती मौरी भमरा सबै रस लिऊन् ती फूलको वागमा
चारैतर्फ सुवास निस्चल बनोस् हावा बनोस् माधुरी
हर्षै हर्ष बनोस् सुगन्ध बनियोस् इै कोपिला जीवनी
साथी साथ थिए, थिए मिलनका वर्षासँगै भाष्कर
हाम्रो जीवन हो सिधा सरल हो, हो कोपिला सुन्दर
वृद्धा, बालक साथ यौवन हुने फक्रेर यै कोपिला
आफ्नै काम तमाम गर्छ यसले फेर्दिन्छ बाँच्ने कला