‘‘पत्रैपत्रमा तिमी’’ कवितासङ्ग्रलाई नियाल्दा !
कपनअनलाइन
काठमाडौं,मंसिर १३ । बिजय कट्टेल “छहरा”
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले ७६औँ प्रकाशनमालाको लहरमा कवि लक्ष्मी पोखरेलको पत्रैपत्रमा तिमी कविता सङ्ग्रह प्रकाशित गरेको छ । जम्मा ४३ वटा कविताहरू समावेश गरिएको उक्त सङ्ग्रहमा कवि विवश पोखरेलको प्रकाशकी यमन्तव्य रहेको छ भने, कवि र कविताको बारेमा साहित्यकार दधिराज सुवेदीले उक्त कृतिमाथि राम्ररी विष्लेषण गर्नु भएको छ । बजार मूल्य रु १५० । रहेको यस सङ्ग्रहलाई गजुरमुखी प्रिन्टर्स विराटनगरले प्रकाशनमा ल्याएको हो ।
२०१८ सालमा सप्तरी जिल्लाको फूलबरियामा जन्मिएकी लक्ष्मी पोखरेल आफू वैबाहिक जीवनमा बाँधिएपछि विराटनगरलाई साहित्यको कर्मथलो बनाउँदै साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनु भएको हो । पोखरेलका मनभित्र सिर्जनाको खानी हिमालको पानीजस्तै कञ्चन भएर बगेको छ । जसरी फूलका हरेक पत्रमा सुन्दरता छ । सुवास छ, कोमलता छ र एकता छ त्यस्तै वहाँले पोखेका भावनामा श्रृङ्खलावध्द हिमालझैँ भावनाका लहरहरू पङ्तिबध्द चुलिएका छन् । खै किन? कविताभित्र यसरी पोखिन्छन् क्रमबध्द कविताका अंशहरू ।
रुखबिरुवाले शिशिरसँग वसन्त साटेझैँ
पीरहरू पन्छाएर खुसी साट्न किन सक्दैनन् मान्छेहरू?
आकाशको अँगालोमा इन्द्रेणी हाँसेझैँ
उमङ्गलाई अँगाल्दै हाँस्न किन सक्दैनन् मान्छेहरू?
जे सिकायो त्यहिमात्र रटिरहने सुगाझैँ
निकाली रहन्छन् एउटै धुन
आफ्नैपनको भाषा ओकल्न किन चहादैनन् मान्छेहरू?
कवि लक्ष्मी पोखरेलको पत्रैपत्रमा तिमी कविताकृति भित्रका गीति भावनामा सजाउन योग्य लाग्छन् । २०५६ सालदेखि निरन्तर सिर्जनाको खेतीमा रमाउने पोखरेल बिभिन्न सामाजिक सेवामा आवद्द हुनुहुन्छ । समय र परिवेशलाई सहज र सरल ढङ्गले उतार्न सक्ने कवि हृदय भित्र गाउँ, समाज र राष्ट्रको भावना निकै संवेदित भएर पोखिएको छ । तसर्थ वहाँका कविताहरू समयका प्रतिविम्ब हुन भन्दा फरक नपर्ला ।
अस्मिताको माला च्याती चारैतिर छर्नेहरू
तलझारी अरुलाई झुठो हल्ला गर्नेहरू
किन गर्छौ? गलतप्रचार अस्तित्वनै लुट्नेगरी
आफैलाई हेर तिमी प्रकृतिमा मर्नेहरू ।
हो, लुट र झुटको खेती गर्नेहरूका लागी लक्ष्मीका कविता आगोका फिलुङ्गाझैँ लाग्छन् । माटोको माया र आफ्नै देशको छायामा रम्न खोज्ने वहाँको सिर्जनाभित्र स्वावलम्बनका अनन्त बिरुवाहरू ब्याडमा हुर्किएका छन् । जसलाई बेलैमा सारेर मल र पानी मिलाउन सके चारैतिर हरियाली छाउन सक्ने कुरामादुईमत छैन । आफ्नै आमासँग बच्चाले बस्न नपाउँदाको पीडाले रन्थनिएको मनलाई मलमपट्टी लगाएरै भएपनि रोक्नुपर्छ । आफ्नै करेसामा लहलह बाली झुलेको हेर्ने रहरलाई आफ्नै मनको झोलीमा बोक्नुपर्छ भन्ने कविको भावना गङ्गाजल जस्तै पवित्र छ । त्यसैले त कविहृदयले धमिलिएको आँसुको नदी रोक्न समृद्धिको स्वादिलो झुटो सपना बाँड्नेहरूका लागि ठूलै चुनौति दिएकी छन् ।
किन पोखिन मान्दैनन् तन्नेरी पसिना
आफ्नै भूभागका मलिला खेतहरूमा
समृद्धिको स्वादिलो सपना बाँड्नेहरूहो ?
भनिदेऊ न लौ ! कहाँनेर भेटिन्छ अव
नदीको भँगालोलाई रोक्ने दरिलो तटबन्ध
र कहिले सुक्नेछ अब
बिदेसिएका छोरालाई सम्झँदै
तिनका बाआमाले नुहाउने गरेको आँसुको नदी ।
दर्जनौँ सङ्घसंस्थामा आवद्द लक्ष्मी पोखरेल नारी विकास संङ्घकी केन्द्रीय सदस्य समेत हुनुहुन्छ । गुराँस पुस्तकालय विराटनगर लगायत समाजसेवाका अनगिन्ती कर्महरूले वहाँलाई योग्य र सबल व्यक्तित्वको रुपमा परिभाषित गरिदिएको छ । सरल स्वभाव सिर्जनशील बानी र लगनशील जिन्दगीले पक्कैपनि वहाँलाई सफलताको शिखर चढाउनेछ र मक्किएका दिवालहरू लडाउने छभन्ने हामीलाई आशा छ । यो पवित्रकर्मको लागि हामी वहाँलाई धन्यवाद दिन चाहन्छौ ।
यस सङ्ग्रहका सवै कविताहरु पढौँपढौँ लाग्ने किसिमका छन् । अध्ययनशील व्यक्तिका लागी यि सिर्जनाले सहि गोरेटोमा हिँड्न सिकाउँछन् भने खराब व्यक्तिका लागी खबरदारी गर्नेछन । पहिलो प्रयासमानै गरिएको यो साधना राम्रोनै मान्नु पर्छ । कलाले निखार त कहिले पो पाउँला र ? तर शुद्धाशुद्धिमा अझ बढी ध्यान पु¥याउन सके सुनमा सुगन्ध थपिनेथियो । भन्न सजिलो तर कर्म गर्न भने कठिन हुन्छ । वहाँको बलशाली कलमले यसरीनै खबरदारी गरिरहोस् । आगामी दिनमा पनि लक्ष्मीका कृतिहरु यसैगरी अगाडि बढिरहुन् । पढिरहन पाऊँ । कृतिकारलाई मेरो तर्फबाट सफलताको शुभकामना !!!