कस्ले काउकुती लायो ?

कस्ले काउकुती लायो ?

कपनअनलाइन

काठमाडौं,मंसिर १३।गङ्गा कर्माचार्य पौडेल/बाल कथा

“आब्बुई ! मेरो खुट्टामा कस्ले काउकुती लायो ?” मध्य रातमा शर्मिलाले चिच्च्याएर भनी । ऊ कराएको सुनेर उर्मिला ज¥याक् जुरुक उठेर झटपट बत्ति बाली । त्यसपछि कोठाको चारैतिर आँखा डुलाएर भनि “खोई ? तँ र म बाहेक अरु यहाँ कोही छैन ।”
“उँ…मलाई कस्तो डर लाग्यो । यी ..मुटु नै ढुक्ढुक् भइराछ ल छाम्नुस्त” शर्मिलाले भनी ।
“नडरा केही हुन्न, म छदै छु नि ।” उर्मिलाले संझाई – “अहो ! तपाईलाई काउकुती लाको भए पो थाहा हुन्थ्यो । हजुरआमाले कथा सुनाउँदा भन्नु भएको होइन ? भुतले सुतिरहेको मान्छेसहित खाटै उचालेर खोलामा पु¥याउँथ्यो रे । कतै मलाई पनि भुतले लिन आको त होइन ?” शर्मिलाले डर मिश्रित स्वरमा भनि ।
उर्मिला र शर्मिला दिदी बहिनी थिए । १० वर्षकी उर्मिला कक्षा पाँच मा र ८ वर्ष कि शर्मिला कक्षा तीनमा
पढ्थे । उनीहरुको सुत्ने कोठा एउटै थियो ।
शर्मिलाको कुरा सुनेर उर्मिलाको मनमा चिसो पस्यो । तैपनि बहिनीको अगाडि डर देखाउन चाहिन । त्यसैले “ल ल सुत भोली छिटो उठेर होमवर्क गर्नु पर्छ भनी ।
“नाई के म यहाँ सुत्दीन । बुवाआमाको कोठामा जान्छु” भनेर शर्मिला जुरुक्कै उठी ।
“बुवाआमालाई दुःख दिन हुन्न क्या.. थुपुक्क सुत” दिदीले भनेपछि शर्मिला मन नलागि नलागि ओछयानमा पल्टिई । निद्रा चाँहि पटक्कै लागेन । घरि दाहिने घरि देब्रे कोल्टो फेर्र्दै आँखा चिम्लने प्रयास गरे कि मात्र थिई । खुट्टामा काउकुती लायो ।
“आब्बुई ! लौन फेरि कस्ले काउकुति लायो । अब के गर्ने होला ? दिदीलाई पनि कति उठाउनु ?” शर्मिलाले मनमनै भनी र बत्ति बाली । बत्तिको उज्यालो कोठाको चारैतिर फैलियो । उसले नजिकै अर्काे खाटमा फ्वाँ फ्वाँ निदाईरहेकी दिदीलाई बाहेक अरु कसैलाई देखिन । त्यसपछि आ..बत्ति बालेरै सुत्छु भनेर ओछ्यानमा घोप्टो परि । अब भने खुट्टामा काउकुति लागेन र एकछिन पछि ऊ मस्त निदाई ।
“ए ! शर्मिला उठ आँगनमा घाम लागि सक्यो” उर्मिला कराई ।
शर्मिलाले जिउ तन्काउँदै उठेपछि उर्मिलाले उसलाई सचेत गराउँदै भनि “तैले आज रातभरि बत्ति बालेर सुतेको कुरा बुवालाई भनिदिउँ ? अस्ती मात्र बुवाले अनावश्यक बत्ति बालेर बिजुलिको दुरुपयोग गर्नुहुन्न भनेको होइन ? अनि सुन् राती खुट्टामा काउकुति लाको कुरा कसैलाई नभन्नु नि ।”
रुन्चे मुख लाएर शर्मिलाले हस् भनि ।
दिदीले जे सुकै भने पनि शर्मिलाको खुट्टामा राती काउकुति लाए जस्तै त्यो घटनाले उसको मनमा पनि काउकुति लागिरह्यो । त्यसैले स्कूलमा गएपछि आफ्नो मिल्ने साथी कमलाको कानमा सुटुक्क भनि “हेरन हिजो राती मेरो खुट्टामा कसले काउकुति लायो ? मलाई काउकुती लाउने भुत हो कि ? भनेर कस्तो डर लाग्यो बाबै ..। यो कुरा मैले भनेको भनेर कसैलाई नभन् है । दिदीले कसैलाई नभन्नु भन्नु भएको छ ।”
कमलाले त्यो कुरा मनमा राखि राख्न सकिन र बिमलाको कानमा सुटुक्क भनि “तँलाई थाहा छ हिजो राती शर्मिलाको खुट्टामा काउकुति लायो रे बाबै.. उसको घरमा त भुत रैछ । मैले तँलाई मात्र भनेकी । यो कुरा कोसैलाई नभन्नु है भने कि थिई उसले ।”
त्यसैगरि बिमलाले उषालाई भनि “थाहा छ तँलाई ? हिजो राती शर्मिलाको खुट्टामा भुतले काउकुति लायो रे । मैले तँलाई मात्र भने कि । अरुलाई नभन्नु है ।”
त्यसरि एककान, दुईकान मैदान हुँदै, केटीहरुले एकदिनमै गाउँभरि हल्ला फिंजाए ।
साँझ पख छिमेकी काका आएर भने “दाई ! तपाईको घरमा राती भुतले खुट्टामा काउकुति लाउँछ रे । तपाईको घरमा भुत छ रे । मैले गाउँमा त्यस्तै सुनेर के रहेछ भनेर बुझ्न आएको ।”
शर्मिलाका बाबाले आश्चर्य मान्दै भने “के नचाहिने कुरा गरेको ? कस्ले भन्यो त्यस्ता वाहियात कुरा ।”
“नपत्याए सोध्नुस् न आफ्ना छोरीहरुलाई” पिँढीमा बसेर होमवर्क गरिरहेका उर्मिला र शर्मिला तिर सङ्केत गर्दै उनले भने ।
बाबाले छोरीहरु तिर हेरेर एकसाथ सोधे “के यिनले भनेको कुरा साँचो हो ?”
हो बाबा ! हिजो राती मेरो खुट्टामा कसले काउकुती लायो थाहा छैन । मैले त भुतले काउकुती लायो कि भनेर डरले थुरथुर भएँ ।” शर्मिला अघि सरेर बोली ।
“अनि दिदीलाई भनेनौ ?”। बाबाले सोधे
“भनेको नि, दिदीले पत्याउनु नै भएन । तपाईहरुको कोठामा जान्छु भन्दा नि दिनु भएन । अझ यस्तो कुरा कसैलाई नभन् भन्नुभयो । स्कूल गएपछि सुटुक्क कमलालाई मात्रै भनेकी थिएँ । गाउँलेहरुले कसरी थाहा पाएछन् कुन्नी ?” पुलुक्क दिदीको मुखमा हेरेर शर्मिलाले भनी । उर्मिला चाहिं निहुरिएर कितापमा हेरिरही ।
“एउटै कोठामा दिदीलाई केही नगर्ने, बहिनीको खुट्टामा मात्र कस्ले काउकुति लायो ? हेरौंन त” भनेर काका कोठा भित्र पसे । बाबा उर्मिला, शर्मिला नि पसे ।
भुइँतलाको कोठा अलि अँधेरो थियो । काकाले बत्ती बालेर कोठाको चारैतिर हेरे । ओछ्यान टक्टकाए । शर्मिलाको ओछयान्बाट आधा पाकेट बिस्कुट फुत्रुक्क भुइँमा खस्यो । उनले खाटमुनि पनि हेरे । पुरानो लुगा राखेको बाक्सा देखियो । त्यसलाई तान्न भनेर यसो हात लम्काएकाउँदा एउटा ठूलो मुसा फुत्त निस्केर भाग्यो । त्यसपछि बाक्सालाई खाटमुनिबाट बाहिर निकालेर हेर्दा मुसाका छाउराहरु भेटिए, खुट्टामा काउकुती लाउने भुत भेटियो भनेर काका चिच्याए अनि पछि हाहाहा गरि हाँसे । काकासँगै उर्मिला, शर्मिला, र बाबा पनि पेट मिचिमिचि हाँसे ।

तपाइँको प्रतिक्रिया ।