शिवरात्रीमा पाशुपत क्षेत्रमा जे देखियो

शिवरात्रीमा पाशुपत क्षेत्रमा जे देखियो

कपन अनलाइन

काठमाडौं फाल्गुन २ ।

महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको महान चाड हो ।हिन्दु धर्म शास्त्रमा उल्लेख गरे अनुसार चार रात्रि मध्यको एक रात्रि हो ।जसमा काल रात्रि, मोहरात्री, सुखरात्रि र शिवरात्री उल्लेख छ।  फाल्गुन कृष्ण चतुर्दर्शिको दिन शिव भगवानको जन्म भएको मानिन्छ । भक्तजनहरु बिहानै देखि पुजा गर्ने ब्रत बस्ने तथा राति  शिव धुनी जगाएर जागरणबस्ने गर्छन।   सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा  शिवरात्रीलाइ  लिइने प्रचलन छ । व्रतमा पनि सर्वोत्तम व्रतका रुपमा लिइने हुँदा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रिमा मंगलबार दर्शनार्थीहरूको पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा विहानैदेखि घुइँचो थियो ।

कपन अनलाइन टिम पनि शिवरात्रीको अवसरमा स्थलगत रिपोर्टिंग  गर्न पशुपतिनाथ पुगेको थियो।  हामी त्यहा पुग्दा दर्शनार्थीहरु लाइन मा बसिरहेका थिए। भने स्वयं सेवक प्रहरी सेनाले सुरक्षा दिईरहेको थियो ।पाशुपत क्षेत्रलाई आकर्षक शैलीमा सजाइएको थियो भने  पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका दिन भक्तजनलाई दर्शन गराउन विभिन्न व्यवस्थाहरु गरेको  थियो ।बिहानै देखि  पुजा अर्चना र दर्शन गर्न भक्तजनहरु ठुलो उत्साहका साथ लाखौको संख्यामा पशुपति परिसरमा उपस्थिति रहेका थिए।

बिगतमा झैँ यसपालि पनि शिवरात्रीमा पशुपति क्षेत्रमा भारतबाट आएका साधुमहात्मा देखि ढोंगी बाबा सम्मको ठुलो उपस्थिति थियो । सरकारले गाँजाजन्य प्रदार्थलाई लागुऔषधको श्रेणीमा सूचिकृत गरेपनि महाशिवरात्रिको समयमा गाँजा सेवनमा खासै कडाई गर्ने गरेको थिएन । गाँजा सेवन गर्नेहरुले पशुपति क्षेत्रलाई अखडाको रुपमा प्रयोग गर्न थालेकाले गाँजा सेवकलाई निरुत्साहित गर्नका लागि भने पनि यस बर्षको महाशिवरात्रिमा खुलेआम गाँजा विक्री तथा वितरण गर्नेलाई कारबाही गर्ने प्रयासको सुरुवात गरिएको थियो कोहि बाबाहरुले   चिलिममा  गाँजा भरेर ठिक्क परेर राखेका थिए।  भक्तजन आउन साथ बिक्रि गर्दथे भने कोहि सल्काएर आफुले पहिले लामो सर्को तानेर सुरक्षा कर्मिको आँखा छल्दै  नेपाली युवा भक्तजनहरुलाई तान्न दिन्थे  l  यस पटक आर्यघाट पूर्वपट्टि गुह्येश्वरी जाने उकालोको बायाँतर्फ ठाउँठाउँमा झुन्ड थिए नागा साधुका। युवाको जमात नागा साधुसँग झुम्मिएका थिए। कोही खरानी घस्दै धुनी ताप्दै थिए त कोही युवालाई चर्तिकला देखाउँदै थिए। पशुपतिमा माग्नेहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो। उनीहरु सडक छेउमा बसेर मागिरहेका थिए ।   त्यस्तै गरि ब्यापारीहरु पनि सडक किनार र  पाशुपत क्षेत्रमा आफ्नो आफ्नो सामान तेर्स्याएर ब्यापार गरिरहेका थिए ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि  शिवरात्रिमा पशुपतिमा नागा बाबा  आएका छन , यी नागा बाबालाई हेर्नेको पनि भीड लागेको थियो , यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर समेत  भएको छ ।  शरीरभरी विभूत खरानी घसेर पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका थिए ।जोगीका चार सम्प्रदाय सन्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय  मध्ये नागा जोगी सन्यासी सम्प्रदाय अन्तर्गत पर्छन्। पशुपतिमा चारै सम्प्रदायका जोगी आउने गर्छन्  र यस पटक पनि चारैसम्प्रदायका जोगीलाइ देख्न सकिन्थ्यो ।

पशुपतिमन्दिर नजिकै खोज सहायता कक्ष बाट मानिस हराएको , फेला परेको , र भिडमा होसियार हुन माइकिंग गरिरहेका थिए ।यसपटक पशुपति क्षेत्र विकास कोषले शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा सेवन र विक्रिवितरणमा पूर्ण रोक लगाएको भए ता पनि गाँजा को गन्ध पशुपति क्षेत्र भरि आइरहेको थियो ।

महाशिवरात्रीमा पशुपतिनाथ दर्शनका लागि आउने साधु, सन्त र सर्वसाधारणका लागि पशुपति क्षेत्रमा विभिन्न संघ सस्थाले निशुल्क भण्डारा  संचालन गरेका थिए भने कतिपय ठाउमा स्वास्थ्य सिविर समेत संचालन गरिएको थियो।  बिदेशीहरु बाबा हरुको हर्कत क्यामरामा कैद गर्न तल्लिन देखिन्थे भने कोहि बाबाहरु गाजाको तालमा लठठ् भएका देखिन्थे । यसपटक प्रहरीले सुरक्षा ब्यबस्था कडा गरेको थियो प्रहरी उपरीक्षक रामदत्त जोशीका अनुसार यसपटक  ५२ जना पक्राउ गरिएको छ  भने हुलदंगा गर्ने र गाँजा किनबेच गर्ने ५२ जनालाई पक्राउ गरेको छ ।श्लेषमान्तक वन र राम मन्दिर आसपास प्रहरीले  गस्ती गरिरहेका देखिन्थे भने उक्त क्षेत्र बाट पशुपति प्रवेश गर्न प्रहरीले रोकेको थियो। पास भएकालाइ मात्र प्रवेश दिएको थिए भने सर्वसाधारण भने चोर बाटोबाट गइरहेका देखिन्थ्ये।

केहि युवा जमात गाँजा कता पाइन्छ भनेर साधुहरु संग सोद्धै थिए , कोहि साधुहरुलाई फकाउदै पनि थिए केही युवा साधुलाई जिस्क्याउँदै थिए, ‘जय शम्भो बाबा, गाँजा कम भो…।’ साधुहरु पनि यसपटक ब्यापार नभएकोमा खिन्न देखिन्थे ।यसपटक पहिले जस्तो बेच्न नपाएकोमा खल्लो मान्दै थिए। अद्यपि प्रहरीको आँखा छलेर बेचिरहेका थिए।

तल बागमती किनारमा रहेको आर्यघाटमा लास जलिरहेको थियो भने लाश जलेको गन्ध र गाजाको गन्ध पाशुपत क्षेत्रमा फैलिरहेको थियो ।   पारीतिर (पशुपति मन्दिर) आर्याघाट किनारमा कावरिया टोली ढोलक र झ्याम्टाको चर्को संगीतमा नाचिरहेका थिए भने कतै भक्ति गीतमा भक्तजनहरु नाच्दै थिए ।

नेपाल प्रहरी सशस्त्र प्रहरी लगायत स्वयं सेवक नेपाल स्काउटको टोलीले सुरक्षा र सहायता गरिरहेका देखिन्थ्ये।महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गरेका थिए  ।यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन बिहान  गौशाला–चावहिल सडकमा नरोकिएको भए पनि बेलुका धेरै भिड भए पछि रोकिएको थियो ।हामी स्थलगत रिपोर्टिग सकाएर फर्कदा सम्म  मानिसहरुको भिड बढिरहेको थियो ।

फोटो  : सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।