नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु

नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु

कपन अनलाइन 

सुर्खेत, १ फागुन । प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ ।यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन भएका छन् ।

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुटेको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिए ।

संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ । त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिइन् ।

प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ ।

जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।