क्षेत्र नं. ४ बाट पासाङ, गगन थापा र विद्यादेवी भण्डारीको संभावना

कपन अनलाइन समाचार विश्लेषणकेशव पाठक

आगामी मंसिर ४ गते हुने भनिएको संबिधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट अनुमान गरिए अनुरुप नै नन्दकशोर पुन ‘पासाङ’, गगन थापा र विद्यादेवी भण्डारीलाई पार्टीहरुले पहिलो नम्बरमा नाम सिफारिस गर्ने भएका छन् ।  एकिकृत माओवादीले कपनमा नै अस्थायी बसोबास गरिरहेका भनिएका नन्दकिशोर पुन पासाङलाई पहिलो नं. मा नाम सिफारिस गरेको छ । करिब १ वर्षभन्दा अघि देखिनै पासाङलाई यो क्षेत्रको उम्मेदवार भनेर एमाओवादी वृतले प्रचारप्रसार गरिरहेको अवस्थामा उनीसँगै माहाँकालमा घरबास भएका केन्द्रिय सदस्य धर्मदत्त देवकोटा र भर्खरै एमाले छाडेर पार्टी प्रवेश गरेका गोविन्द कृष्ण अधिकारीको नाम पनि सिफारिस गरिएको छ ।

 

एमाओवादी काठमाडौं क्षेत्र नंं ४ ले यिनै तीनजनाको नाम सिफारिस गरेको हुँदा समानुपातिकतर्फको उम्मेदवार पनि यिनै तीन नामबाट एक हुने कुरा पक्का भएको छ । यसअघि चुनावमा भाग नलिएका नन्द किशोर पुन यो चुनावमा आफ्नो गृह जिल्लाको निर्वाचन क्षेत्रसहित काठमाडौं क्षेत्र नं. ४ मा उम्मेदवार हुने सम्भावना देखिएको छ । काठमाडौं जिल्लामा एमाओवादीका लागि कमजोर क्षेत्रकोरुपमा चिनिने क्षेत्र नं. ४ मा यसअघिको संविधानसभाको निर्वाचनमा पार्टी तेस्रो भएको थियो । कमजोर क्षेत्र भएकोले राम्रो प्रतिस्पर्धाको लागि नाम चलेको व्यक्ति यो क्षेत्रमा ल्याउने एमाओवादीको कसरत अनुरुप नै पासाङ छनौट गरिएको बताइएको छ । सम्भवतः धर्मदत्त देवकोटालाई समानुपातिक तर्फ उठाइनेछ भने स्थानीय अनुहार भए पनि गोविन्द कृष्ण अधिकारी कुनै पनि रुपमा प्रत्यक्ष तर्फको सांसद पदमा उठ्न पाउने अवस्थामा रहेको देखिदैन । तर केही एमाओवादीहरु उनलाई समानुपातिकमा ल्याउन सकिने बताउँछन् । यद्यपि एमाओवादी प्रवेश गरेको ५ महिनामै सांसद पदको संभावित उम्मेदवारमा उनको नाम आउनु आफै पनि उनका लागि आगामी दिनको संभावित व्यक्तिको रुपमा भने चिनाएको छ ।

 

नेपाली कांग्रेसले पनि हल्ला चलिए अनुसार नै गगन थापालाई पहिलो नम्बरमा सिफारिस गरने भएको छ । यसअघि यसै क्षेत्रबाट समानुपातिकतर्फबाट उम्मेदवार भएका थापा राष्ट्रिय राजनीतिका पनि चर्चित युवा पात्र हुन् । यद्यपि उनलाई नेपाली कांग्रेसले प्रत्यक्षमाभन्दा पनि समानुपातिकमा उम्मेदवारी दिन लगाएर देशभरी चुनावी प्रचारप्रसारमा लैजान सक्ने संभावना अझै बाँकी छ । यसअघि गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा आफ्ना ससुरा अर्जुन नरसिंह के.सी.लाई ल्याउन लागेको हल्ला पनि चलेको थियो । उनका ससुराले अहिलेसम्म नुवाकोटबाट चुनाव नजितेका कारण सुरक्षित क्षेत्रको रुपमा केसीलाई यहाँ ल्याइने कुरा चलेको थियो । तर गगन थापाले हालै पार्टीको एक भेलामा यस क्षेत्रबाट पार्टी अध्यक्ष शुसिल कोइराला उठ्न सक्ने संभावना पनि औंल्याएकोले यस क्षेत्रका कांग्रेसले सिफारिस गरेका व्यक्तिभन्दा फरक अनुहार पनि क्षेत्र नं. ४ मा पठाउन सक्ने देखिन्छ ।

 

पहिलो संबिधानसभा निर्वाचनमा कमजोर उम्मेदवारका बावजुद पनि स्पष्ट जीत हासिल गरेको क्षेत्र भएकाले कांग्रेसले आफ्ना बरिष्ठ नेता उठाउने सम्भावना नकार्न सकिदैन । गगन थापासँगै चिरन्जिविनिधि तिवारी र न्हुच्छेनारायण श्रेष्ठलाई पनि पार्टीले क्षेत्र नं. ४ को प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस गर्नेछ । ने.का. क्षेत्र नं. ४ का सभापति भए पनि न्हुच्छेनारायण श्रेष्ठले टिकट पाउने सम्भावना भने एकदमै कम देखिन्छ । समानुपातिकतर्फ टिकट पाउने उम्मेदवारको रुपमा माहांकाल गाविसका राजु श्रेष्ठको नाम सबैभन्दा अगाडि रहेको छ । त्यसैगरी पूर्व सभासद सुप्रभा घिमिरेलाई पनि समानुपातिकतर्फ सिफारित गरिने भएको छ  । त्यस्तै कपनका गाविसका पूर्व गाविस अध्यक्ष आत्माराम पौडेल पनि समानुपातिकको सिफारिसमा पर्ने संभावना छ तर उनले टिकट पाउने सम्भावना टाढाटाढासम्म देखिदैन । यदि गगन थापा को सट्टा चिरन्जिविनिधि तिवारीले प्रत्यक्षमा टिकट पाए भने योक्ेत्रमा कांग्रेस कमजोर हुने बताइन्छ । पहिलो संबिधानसभामा जितेको क्षेत्र भएको हुँदा नेपाली कांग्रेसले जित्ने र सुरक्षित उम्मेदवारलाई यहाँ उठाउने छ ।

 

नेकपा एमाले क्षेत्र नं. ४ ले पूर्ववत् विद्यादेवी भण्डारीलाई नै पहिलो नम्बरमा सिफरिस गर्दैछ । गएको निर्वाचनमा पनि उनी नै यस क्षेत्रबाट उठेकी थिइन् पूरानो आफैले जितेको क्षेत्रमा उनीभन्दा तुलनात्मकरुपमा कम चर्चित ने.का. की सुप्रभा घिमिरेसँग करिब ३६०० मतले पराजित भएकी थिइन् । यो अवस्थामा फेरि पनि विद्यादेवी भण्डारीले यस क्षेत्रमा उम्मेदवारी दिनु भनेको एमालेले आफ्नो खुट्टामा आफैले बन्चरो हान्नु हो भन्नेहरु क्षेत्र नं. ४ मा धेरै छन् । एमाले कै कार्यकर्ता पनि उनीसँग खुशी छैनन् भनिन्छ । एमालेभित्रको केपि ओली प्यानलकी मानिने भण्डारीले यो क्षेत्रमा उठ्न चाहेसम्म कसैको केही नलाग्ने पनि बताइन्छ ।

 

विद्यादेवी भण्डारीसँगै नाम सिफरिस भएका अर्का व्यक्ति हुन् निर्मल कुइँकेल । एमाले काठमाडौं जिल्लाका अध्यक्षसमेत रहेका कुइँकेल प्रतिभाशाली नेताको रुपमा चिनिन्छन् । क्षेत्र नं. ४ बाट कुइँकेललाई टिकट दिइयो भने चुनाव जितिने कतिपय एमाले कार्यकर्ता बताउँछन् । कुइँकेल पनि केपि ओली प्यानलकै भनेर चिनिने भएकोले बरिष्ठ नेता केपि ओलीले सुझबुझपूर्ण निर्णय लिन सके भने क्षेत्र नं. ४ मा एमालेलाई फाइदा हुन सक्छ । प्रत्यक्षमा निर्मल कुइँकेल र समानुपातिकमा विद्यादेवी भण्डारीलाई टिकट दिइएमा क्षेत्र नं. ४ मा एमाले सम्भावित बिजेताको कोटीमा पर्ने विश्लेषकहरु भन्छन् । यदि ठीक विपरित विद्यादेवी भण्डारीलाई टिकट दिइयो भने यसको फाइदा एमाओवादी उम्मेदवार पासाङले लिने सक्ने पनि बताइन्छ । एमाले क्षेत्र नं. ४ ले चपली गाविसका पूर्व गाविस अध्यक्ष उद्धव खरेललाई पनि संभावित व्यक्तिको रुपमा सिफरिस गरेको छ । तर खरेलले तत्काललाई टिकट पाउने सम्भावना भने देखिदैन ।

 

यसै क्रममा चौथो पार्टीको रुपमा उदाउने भनिएको राप्रपा नेपालका तर्फबाट चलचित्रकर्मी उद्धब पौडेलको नाम प्रत्यक्षतर्फ क्षेत्र नं. ४ आउने सम्भावना देखिएको छ । चावहिल निवासी पौडेल हालसालै राप्रपा नेपालमा प्रवेश गरेका थिए । त्यसो त कपन निवासी हरिशरण सिलवास पनि राप्रपा नेपालको तर्फबाट आफूले टिकट पाउने भन्दै हिँडेका छन् ।

तपाइँको प्रतिक्रिया ।