बाबुराम पक्षको वा म भट्टराई पक्षको भनेर हिँड्न खोज्छ भने उसको समाप्ति अनिवार्य छ – गंगा के.सी.(केन्द्रिय सदस्य एनेकपा माओवादी)

(आगामी संविधानसभाको चुनावी अभियानमा अरु पार्टीभन्दा जोडतोडका साथ लागेको एमाओवादी काठमाडौं क्षेत्र नं. ४ मा पनि निकै सक्रिय देखिन्छ । अघिल्लो चुनावमा तुलनात्मकरुपमा कमजोर देखिएको एमाओवादीले क्षेत्र नं. ४ मा विशेष ध्यान दिएको देखिन्छ । यसै सन्दर्भमा क्षेत्र नं. ४ मा इन्चार्ज भएर सक्रिय रहेका केन्द्रिय सदस्य गंगा कार्कीले कपन अनलाइनका सम्पादकसँग विशेष  वार्ता गरेका छन् ।)

फोटो-राजुबिक्रम थापा
कपन अनलाइनः चुनाव हुँदैन भन्नेहरु पनि छन्, वार्ताहरुले पनि अझै सकारात्मकता देखाउन सकिरहेको छैन । चुनाव हुन्छ भनेर आश्वस्त गर्ने गराउने किसिमको वातावरणचाहिँ कहिले बन्छ होला ?

 

_MG_5737गंगा कार्कीः पहिलो कुरा चुनाव हुँदैन भन्ने चिन्तन जसले राख्छ त्यो चिन्तर देश बर्बादी बनाउने चिन्तन हो । देशलाई निकास दिनका लागि चुनवाको विकल्प नै छैन । मंसिर ४ को चुनाव एकमात्र विकल्प हो । संविधानबिना राष्ट्र चल्न सक्दैन । पहिलो संबिधानसभाले संबिधान नबनाएपछि मानिसमा अलि अलि अविश्वास र आशंका उठ्नु अस्वभाविक हैन । यस बारेमा बहस चल्नु अनौठो कुरा पनि हैन । तर जनताले संविधानसभाको आवश्यक्ता महशुस गरिरहेका अवस्था पनि छ । मलाई के लाग्छ भने अहिले पार्टीको चुनावी अभियानमा लागि रहँदा यो अभियानले जनता अझै चुनावतिर आकर्षित भएको जस्तो लाग्छ ।

 

कपन अनलाइनः हिजो पनि संविधान सभाको चुनाव भएको हो तर संविधान बनेन । अब हुने भनिएको संविधानसभाबाट संविधान बन्छ नै भन्ने पनि केही छैन नि आखिर पात्रहरु त तिनै हुन् ।

गंगा कार्कीः हिजो हाम्रातर्फबाट केही कमजोरी नभएको होइन । मुख्य कुरा त्यो बेला साना विषयबस्तु पहिले छलफल गरियो अनि ठूला विषयबस्तुलाई पछाडि सारियो । ठूला विषयबस्तुलाई अगाडि छलफल गर्न नसक्नु त्यो बेलाको कमजोरी हो । एमाले–कांग्रेससँग बढि विश्वास गर्दा पनि संविधान बन्न सकेन । उनीहरुलाई बढि विश्वास गर्दा संविधानलाई प्रकृयामा लान सकिएन । यो पनि कमजोरीकै एउटा पाटो हो । हामी सहमति, समझदारी र सम्झौताबाट राजनीति गर्न आइसकेपछि राष्ट्रपति, प्रधानमन्त्रि तथा सभामुखको चुनाव गराउनु हुँदैनथ्यो सहमति गराएर जानुपथ्र्यो यसमा पनि कमजोरी भएकै हो । प्रधामन्त्रि तथा राष्ट्रपति अरुलाई जिम्मा लगाएर कमसेकम सभामुख हाम्रो पार्टीले लिन पाएको भए यो संविधान बन्थ्यो । जेठ १४ गते अन्तिम पहलकदमि सभामुख को हैसियतले सुभाषचन्द्र नेम्वाङले गर्नुपथ्र्यो उहाँले त्यही गर्न नसकेको कारण त्यो संविधानसभा निष्फल बन्यो । त्यसैगरी हामी पहिचान संविधानसभा छाड्न सक्दैनथ्यौं, कांग्रेस–एमालेहरुचाहिँ पहिचान र संघियता मान्न चाहन हुन्नथ्यो त्यसैले पनि त्यो संविधानसभा निष्फल भयो । अबचाहिँ हामी संविधानसभा बनेको ६ महिनाभित्र नै प्रकृयामा लगिहाल्छौं ।

 

कपन अनलाइनः आजभोलि यहाँहरु पहिचान र संघियता भन्न थाल्नुभयो । पहिला यहाँहरु जातीय पहिचान र र संघियता भन्नहुन्थ्यो । जातीय शब्द अब हटाएको हो एमाओवादीले ?

गंगा कार्कीः यो एउटा ठूलो भ्रम छ । एमाओवादीले जातीय राज्यको कुरा ल्यायो वा जातीय विखण्डनको कुरा गर्यो भनेर जुन बदनाम् गराउने काम भएको छ यसमा अलिकति पनि सत्यता छैन । हामी पाँचवटा कुरा मिलेपछि पहिचान हुन्छ भन्ने मान्यता राख्छौं । ति हुन् निश्चित धर्म, भाषा, संस्कृति, बसोबास, जाति हुनु पर्यो । जातिचाहिँ पहिचानको एउटा अंश मात्रै हो । यी पाँचवटा कुरा मिलेपछि पहिचान बन्छ । हामीले यसैलाई पहिचान भनेका हौं । हिजोको सत्ताले हिन्दुका नाममा अरुलाई उत्पिडन गर्यो । खस भाषाको नाममा अरु भाषालाई दमन गर्यो । हिन्दू संस्कृतिका नाममा अरु संस्कृतिलाई ओझेलमा पार्यो । अहिले यिनै कारणले हामी उत्पिडनमा परिरहेको छौ भन्ने आदिवासी जनजातिलाई लागि रहेको छ यो कुरालाई मनोवैज्ञानिक रुपमा हल गर्नुपर्यो । जातीय राज्य मात्र भनेका हैनौं । उदाहरणका लागि पनौतीभन्दा अलि पर कामीडाँडा गाविस छ । त्यो गाविसको नाम कामी डाँडा भनिनुमा सबैभन्दा पहिला गएर त्यहाँ कामी गएर बसेकाले भएको हो । पछि त्यहाँ पनि क्षेत्री, बाहुन पनि बसेका छन् । त्यहाँका क्षेत्री–बाहुनको ठेगाना पनि कामी डाँडा नै हो । त्यहाँ कामी बाहेक त कोही कामी भएका होइनन् नि । त्यही पहिचानको कुरा गरिएको हो ।

 

कपन अनलाइनः यहाँले पछिल्ला आंकडा पनि हेर्नु भएको होला । गणतन्त्रपश्चात हठात् देशलाई धर्म निरपेक्ष बनाइसकेपछि अहिले नेपाली क्रिश्चियनहरुमा जनजातिहरुको संख्या ६२ प्रतिशत पुगेको छ । जनजातिहरु बौद्ध धर्मी भनिरहेको अवस्थामा तपाई भनेजस्तो हिन्दु धर्मले उत्पिडनमा पारेर धर्म परिवर्तन भएका हुन् ? तपाइँले व्याख्या गरेको पहिचानमा धर्मको कुरा आउँदा यो कुरा पनि प्राथमिकतामा आउला नि ?

गंगा कार्कीः हामी हिन्दू संस्कार धर्म वा संस्कृतिलाई अस्वीकार गर्नु पर्छ भनिरहेका छैनौं । हामी काङकाजी शेर्पाले भनेजस्तो नाकचुच्चेहरुलाई गया पठाउनु पर्छ भने जस्तो वा नारायण खड्काले भनेजस्तो नाक थेप्चेहरुले भनेजस्तो तिब्बत धपाइदिनुपर्छ भन्ने कुराहरुको हामी घोर विरोधी हौं । हामीले साम्प्रदायिकता ल्याउन खोजेका होइनौं । म क्षेत्री हुँ । म कुनै भाषा, जाति वा संस्कृतिले उत्पिडन गर्यो भनेर म लडिराखेको छु र भोलि अर्काे भाषा, संस्कृति वा जातिले उत्पिडन गर्ने हो भने म यो आन्दोलनमा लाग्दिन । म सबैखाले विभेद अन्त्य गर्न कम्यूनिस्ट पार्टीमा लागेको हुँ । समाज परिवर्तनसँगै धर्म, रितिरिवाज, संस्कृतिमा परिवर्तन हुँदै आएको देखेका छौं । अहिले नेपालमा क्रिश्चियनहरुको संख्या बढ्दै छ । क्रिश्चियन अहिले नेपालमा कुनै जातिको रुपमा आइरहेको छैन । धर्मको रुपमा मात्र आएको हो ।

कपन अनलाइनः तेलंगनालाई आन्ध्रबाट हटाएपछि भारतमा जताततै थुप्रै जातीय वा क्षेत्रीय राज्य चाहियो भनेर आवाज उठिरेहेको छ । जातीय वा पहिचानका नाममा टुक्र्याउँदै जाँदा बाइसे चौबिसे होइएला कि भन्ने डर हुँदैन ? कसैलाई दिने कसैलाई नदिने त गर्न भएन ।

_MG_5718गंगा कार्कीः हामीले टुक्र्याउन लागेका होइनौं । हामीले हिजो जजसलाई उत्पिडनमा पारिएको छ तिनिहरुलाई सम्मान गरेर सबैलाई जोडेर सिंगो राष्ट्रियता मजबुत गर्न चाहिरहेका छौं । सबै भाषा, धर्म र संस्कृतिलाई समान गरिनुपर्छ भन्ने धारणा मात्र हो । भारतमा भएको जातीय राज्यको कुरासँग हाम्रो मेल खाँदैन । हामी कम्युनिस्ट हौं । हामीले अन्रर्विरोध हल गर्न मात्रै हो । नेपालमा चारवटा अन्तर्विरोध हल गर्नु पर्नेछ, जातीय, क्षेत्रीय, लैङ्गिक र वर्गीय अन्तर्विरोध । जातीय अन्तर्विरोध भनेको अन्ततः वर्गीय अन्तर्विरोधकै एउटा अंश हो । हामी कम्यनिस्टहरु साम्यवादमा जान्छौं । साम्यवादमा कुनै जाति, धर्म, लिङ्ग र वर्ग त्यहाँ जाँदैन । यी सबै साम्यवादमा पुगेपछि स्वतः समाप्त हुन्छ । अहिलेको जातियताका कुरा वा क्षेत्रीयताको कुरा त उनीहरुलाई नहेपिएको महशुस गर्न उठाइएका विषयवस्तु हुन् ।

 

कपन अनलाइनः अहिले तपाईहरुले उठाइरहेको तामसालिङ प्रदेशमा रहेको तामाङहरुमा सबैभन्दा बढि धर्म परिवर्तनको लहर चलेको छ । कुनै दिन तामाङहरुमा ५१ प्रतिशतभन्दा बढि क्रिश्चियन भए भने त्यतिखेर तपाइँको तामसालिङ प्रदेश के हुन्छ ? क्रिश्चियन प्रदेश हुन्छ ?

गंगा कार्कीः मैले धर्म कति प्रतिशतले धर्म मानिरहेका छन् भन्ने विषयमा पहिचानलाई उठाइरहेको छैन । बाहुन क्षेत्री पनि क्रिश्चियन भएका छन् । हाम्रो विषयवस्तु यत्ति हो, आदिमकालमा आएर कुन जाति त्यहाँ बस्यो त्यहि जातिको पहिचान हुनुपर्यो । सम्मान हुनुपर्यो । पृथ्वी नारायण शाहले एकिकरण गर्दा सबैको पहिचानलाई कुल्चिए । त्यहि पहिचानको कुरा गरिएको हो । हालमा भएका परिवर्तनको पहिचान हैन । धर्म फेर्नु उसको स्वतन्त्रताको कुरा हो । म धर्म मान्दिन मेरो स्वतन्त्रताको कुरा हो । हाम्रो सैद्धान्तिक, बैचारिक तथा आदर्शको कुरा गर्नु हुन्छ भने त सबै धर्महरु अफिम हुन् । यो त अफिम हो । एउटा बिन्दुमा पुगेर धर्मको अन्त्य हुन्छ ।

 

कपन अनलाइनः क्षेत्र नं. ४ मा आफू यस क्षेत्रको संयोजक भैरहँदा एमाओवादीको अवस्था कस्तो छ ?

गंगा कार्कीः शुरुमा मैले निकै कठिनाई र जटिलताहरु देखेको थिएँ । अहिले यहाँ आएर काम गर्दा सबै साथीहरुसँग छलफल गर्दा र केही योजनाहरु बनाउँदै जाँदाचाहिँ हिजो हामी कसरी हार्यौं भन्ने समिक्षा पनि गरेका छौं र अब हामी कसरी जित्दै छौं भन्ने योजना बनिसकेको अवस्था छ । यो बीचमा भएका बुद्धिजिवी भेला तथा वाइसिएल भेलाले पनि व्यापक रुप देखाएको छ । क्षेत्र नं. ४ मा १०० भन्दा बढि बुद्धिजिवी भेला भएका छन् । पहिलाको संविधानसभाको चुनावमा हामीले दुई महिनामा पनि तयारी गर्न पाएका थिएनौं । त्यसै भएर हार्यौं अहिले हामी पूर्ण तयारीकासाथ अगाडि बढेका छौं । विगतमा उम्मेदवारीका कारणले हामीले हारेका हौं । मैले त ४ नं. क्षेत्र जितियो भनेर घोषणा गरेको छु ।

 

कपन अनलाइनः पत्रकारसँग वा पार्टीका कार्यकर्तासँग बोल्दा हामीले अब जितियो भन्ने एउटा पकृया भैसक्यो । कमल थापाले आएर पनि यहाँ यहि भन्दिन्छन् । केही त्यस्ता बस्तुगत आधार बताउन सक्नुहुन्छ जसले जितिन्छ भन्न सकियोस् ?

_MG_5716गंगा कार्कीः भन्ने कुरा र हुने कुरा एउटै होइनन् । हाम्रो जित्ने आधार भनेको पार्टीभित्रको एकता कस्तो छ भन्ने पनि हो । हामीले अहिले ४ नं. क्षेत्रको पार्टीलाई निकै एकताबद्ध, सुदृढ र मजबुत बनाएका छौं । धेरै भन्दा धेरै भेला तथा बैठक राखेका छौं जसले आपसका अन्तरकुन्तरका विषयबस्तुलाई व्यापक छलफल गर्यौं । प्रत्येक वडा र गाविसको बैठकमा म आफै गएर हेरेको छु । अब अन्तर्विरोध नै बाँकी छैन । वाइसिएल भेला सम्पन्न गरिसकेका छौं । यहि प्रकृयाले हामीलाई सुदृढ बनाएको छ । अब जनताको बीचमा पहिचान र संघियताको विषयवस्तु लिएर जानको निम्ति पुरै तयारी गरिरहका छौं । यसको सुरुबाट भाद्र १ गते हुने जनसभाबाट अध्यक्ष प्रचण्डबाट हुनेछ । व्यापक अरु पार्टीका साथीहरु हाम्रो पार्टीमा प्रवेश गरिरहेका छन् । यद्यपि हामीप्रति जनताको आक्रोश तथा आवेग छ । एमाले, कांग्रेसले त गरेनन् तिमीहरुले पनि केही गरेनौ भन्ने जनताको. दुखेसो पनि रहेको छ । यो सकारात्मक आक्रोश हो । तिमीहरुले केही गर भन्ने आक्रोश हो । हामी देशभरका गाउँगाउँमा केन्द्रित भएका छौं । सबै केन्द्रिय सदस्यहरु गाउँगाउँ छिरेका छन् ।

 

कपन अनलाइनः अलिकति बस्तुगत तथ्यतिर हेरौं, हिजो तपाईको उम्मेदवार पवनमान श्रेष्ठ अहिले एमाओवादीमा छैनन् । कपनमा नै नेकपा–माओवादीको तन्दुरुस्त संगठन छ । तपाइँहरुचाहिँ १–२ जना अरु पार्टीका मानिसहरुलाई भित्र्याएर चुनाव जित्छु भनेर रमाइरहनु भएको छ । यो कताकता के को न्यानो भने जस्तो हुँदैन ?

गंगा कार्कीः यस विषयले हामीलाई केही पनि समस्या पार्दैन । वैद्य कमरेडहरु टुक्रिएर गए पनि उहाँहरुले के का लागि टुक्रियौं भनेर ठोस कुरा भन्न सकिरहनु भएको छैन । त्यसैले उहाँहरुको प्रभावकारिताको कुनै विषय नै होइन । उहाँहरु टुक्रिएर जानु भयो तिर नजाऔं आउनेहरु त जानेहरुभन्दा पचास गुणा बढि छन् । यता रामेछापका कुरा गर्छु म त्यहाँ जो बैद्य भनेर हिँड्नु भएको साथीहरु हुनुहुन्छ ती साथ चुनाव लडे भने डेढसय मत आउँदैन । रामचन्द्र झाहरु एमाओवादीमा आइसकेपछि मधेशमा अब एमाले नै छैन । उर्मिला अर्यालहरु आउनु भएको छ । पेरिसडाँडामा दिनैपिच्छे विभिन्न पार्टीका मानिसहरु प्रवेश गरिरहेका छन् । हामी फुटेका हौं त्यो साँचो हो तर फुटको पचासौं गुणा हामीले पूर्ति गरेका छौं । एमालेमा पहिरो गएको गयै छ । स्वस्थानीमा महादेवीले मरेकी सतीदेवीलाई बोकेर हिँड्दा अंगहरु खसेको जस्तै एमाले दिनप्रतिदिन खस्दै गएको छ । कांग्रेसभित्र यति ठूलो विवादका विषयवस्तु छ कि त्यसको हलको सम्भावना छैन । अहिले चुनावमा गएर केही गर्न सक्ने एउटा मात्र पार्टी एमाओवादी नै हो । एमाले त चुनावमा जानै चाहँदैन । यति फुटेर सकिइसकेको छ कि ऊ चुनावमा जाँदा आफ्नो हालतको कल्पनासम्म गर्न सक्दैन ।
कपन अनलाइनः एमाओवादीमा विवाद छैंन भनेर भन्दा पनि भ्रम नै छरेको जस्तो होला नि । तपाईहरुसँग विवाद छैन र ? कपनमा नै सारै विवादका बीच भट्टराई पक्षधरले जितेको हैन ? अझै प्रचण्ड पक्षधर साथीहरुसँग गाउँ पार्टी कमिटिको राम्रो सम्बन्ध बन्न सकेको छैन ।

गंगा कार्कीः हाम्रो त्यस्तो पार्टी हो एउटै निर्णयले उरलधुरल पनि बनाउन सक्ने पार्टी पनि हो कहिले सिध्यो कि क्या हो भन्ने लाग्न पनि सक्छ । एकपटक एमाले कांग्रेसले एमाओवादी सकियो भनेर भन्दै पनि हिँडे नि तर हामी निर्णय गरेर विस्तारित बैठकबाट हाँसिखुशी एकमत भएर आएका छौं । विस्तारित बैठकमा नाँचगान पनि चल्यो । हाम्रो पार्टीभित्र गुट छैन सकियो । हामीले समाजवादसम्म जाने कार्यदिशा बनाएका छौं । हाम्रो पार्टीभित्र कार्यदिशाको बारेमा बहश हुनेवाला छैन । अनि ४ नंं. क्षेत्रमा बाबुराम वा प्रचण्डको पार्टी भन्ने छैन । एकिकृत माओवादी पार्टीमात्र छ । हिजो अन्र्तसंघर्षको बेलामा केही कता कोही कता भएको हुन सक्छ । त्यसले देशैभरी प्रभाव पार्यो । निराशता पनि छायो । अहिले म के भन्न सक्छु भने अब चाहिँ म बाबुराम पक्षको वा म भट्टराई पक्षको भनेर हिँड्न खोज्छ भने उसको समाप्ति अनिवार्य छ । ऊ यो पार्टीमा नरहने कुरा अनिवार्य छ । पार्टीको अवस्था यस्तो भएको छ अहिले । हामीले आफ्नो स्थिति सुदृढ गरिसकेका छौं । यस्को र त्यस्को भन्ने अहिले छैन । हामी एक ढिक्का एक जुट भएर हिँडेका छौं । यो आजको दिनका कुरा हो । भोलि फेरि अरु विषयबस्तु बन्न सक्छ, अरु अन्र्तसंघर्ष बन्न सक्छ । मेरा विचार हिजो प्रचण्डसँग मिलेको थियो भने भोलि मेरै विचार पनि बाबुराम दाइसँग मिल्न सक्छ वा पोष्टबहादुर बोगटीसँग मिल्न सक्छ । अहिलेचाहिँ विषयबस्तु एकै भएकोले भिन्न विचार रहेन, छैन । यदि छ भनेर कसैले भनिरहेको छ हामीभित्र फुट पार्ने, चलखेल गर्ने नियतका साथ भएका कुरा हुन् ति पनि अब सम्भव हुँदैन ।

 

कपन अनलाइनः अहिलेको अवस्थामा क्षेत्र नं. ४ मा एमाओवादीको अवस्था हरेक वडा तथा गाविसको छुट्टाछुट्टै अवस्था कस्तो छ ?

गंगा कार्कीः अहिलेको अवस्थामा महानगरपालिकाको वडा नं. १ मा अलि मेहनत गर्नु पर्ने अवस्था रहेको छ । गाविसमा चपली गाविसमा जनशक्ति राम्रो भए पनि पार्टी निर्माणमा अलि ख्याल गर्नु पर्ने अवस्था रहेको छ । दुई तीनपटक यी ठाउँहरुमा जाँदा विस्तारै सुधारन्मुख रहेको छ । यहाँ कमजोर हैन तुलनात्मक रुपमा केही कमजोर भनेको हो । कस्सिएर लाग्दा आउँदो दुई तीन महिनामा यी ठाउँमा पनि हामी पूर्ण सबल बनिसकेको हुन्छौं ।

 

कपन अनलाइनः क्षेत्र नं. ४ नेपाली कांग्रेसले जितेको क्षेत्र हो । अहिले तपाइँले भन्दा कुन पार्टीसँग प्रतिष्पर्धा छ ?

गंगा कार्कीः हिजो त कांग्रेसले जितेको स्थिति हो । एमालेसँग त हिजो पनि मतको हिसाबले बराबर जस्तो नै स्थिति हो । हिजो उनीहरुले जित्दा जे चालबाजी गरे त्यो चालबाजी पनि आज हामीले बुझेका छौं । अहिले कांग्रेसका साथीहरु पनि हामीहरुमा आएका छन् । त्यस आधारमा हेर्दा हाम्रो प्रतिष्पर्धा सायद कांग्रेससँग हो कि जस्तो देखिन्छ । यो क्षेत्रमा एमाले चाहिँ यहाँ प्रतिष्पर्धामा छैन जस्तो लाग्छ ।

 

कपन अनलाइनः तपाइँहरु जसरी पनि चुनाव भनिरहनु भएको छ । यो जसरी भए पनि भनेको के हो ? जसरी भए पनि भनेर चुनाव कसरी हुन्छ ?

गंगा कार्कीः हाम्रो प्रश्ट कुरा के हो भने मंसिर ४ मा चुनाव नहुने हो भने हामी आन्दोलनमा जान्छौं । अहिले देशलाई संविधान चाहिएको छ । दायाँबायाँ केही कुरा नै छैन । हामी आन्दोलनमा गएर पनि चुनाव गरेर छाड्छौं । यो आन्दोलन चुनावी आन्दोलन हुनेछ । देशलाई अनन्तकालसम्म संक्रमणकालमा नलैजान चुनावको विकल्प नभएकोले जसरी पनि चुनाव भनिएको हो ।

तपाइँको प्रतिक्रिया ।