कपनका कुरा पूराना कुरा
हालसालै कपनबाट प्रकाशित भएको एक संस्थाको वार्षिक मुखपत्रको सम्पादकीयमा कपनका पूराना बासिन्दाप्रति लाञ्छना तथा अपशब्द प्रयोग गरिएको भनेर लामो समयदेखि बसोबास गरिरहेका पूराना भनिने यी बासिन्दाहरु धेरै चिन्तित देखिए । उनीहरुको भनाई थियो समाजमा राम्रा र नराम्रा सबै खाले प्रवृत्ति होलन् तर सिंगो समुदायलाई नराम्रो भन्नु गलत मानसिकता हो । त्यति मात्र हैन कपन नामको यस भूगोलमा लामो समयदेखि बसोबास गर्ने भनेर रैथाने भनिएका कोही पनि यहाँका रैथाने होइनन् । कपनमा बसोबास गर्ने नगरकोटीबाहेक शतप्रतिशत वाम्हण, क्षेत्री तथा अन्य जातजातिहरु केही पुस्ता अघि विभिन्न अन्य जिल्लाबाट बसोबास गर्न आएका हुन् ।
कपनको यो पूरानो भनिएको बस्ति कस्तो छ ? यहाँको मानिसहरु खासमा कस्ता थिए वा छन् भन्ने कुराप्रति अहिलेको विशाल कपनले खासै चासो देखाएको पाइँदैन । पूरानो भनिने यो बस्तिमा उर्जाशील र विशिष्ट क्षमता भएका चिनिएका व्यक्तिहरु पनि यतिखेर कपनको सामाजिक, राजनीतिकलगायतका भूमिकादेखि टाढिँदै गएको देखिन्छ । कपन नाममा समाहित भएपछि सबैलाई यहाँको वास्तविकता र मौलिकताको पहिचान हुनुपर्छ वा गराउनु पर्छ भन्ने धारणामा केही पूराना कुरा संकलन गर्ने गरिएको प्रयास हो यो लेख ।
धैरैलाई थाहा छैन कपन राजधानीको त्यस्तो गाउँ जहाँ मोटर हिँड्न सक्ने बाटो बनेको करिब १०० वर्ष भयो । तत्कालिन माइला बडागुरुज्यूको बग्गी चलाउनका लागि बनेको यो बाटो संभवतः काठमाडौंबाट गाउँहरु निस्कने पहिलो ठूलो बाटो हुनसक्छ । प्रसिद्ध बुढानीलकण्ठ जाने बाटोसमेत गोरेटो अवस्थामा रहेको बेला यहाँ ठूलो बाटो बनेको थियो । हाल कपन गुम्बा रहेको क्षेत्र तत्कालिन माइला बडागुरुज्यूको थियो । पछि उनको सन्तानले त्यो क्षेत्र बिक्री गरेपछि कपन गुम्बा बनेको हो । तेजकुमार के.सी. भन्छन्– चावहिल, चुच्चेपाटी, मांहाकाल भएर रामहिटीहुँदै कपन छिर्ने यो बाटोका कारण कपनले ०२९ सालमै बिजुली बत्ति पनि पायो । उनी भन्छन्, सायद ठूलो बाटो भएकाले हामी पहिलो प्राथमिकतामा पर्यौं कि ।
कपनमा पूराना कुरा बुझ्ने क्रममा कपन अनलाइनसँग नजिकिएका तेजकुमार के.सी निजामति कर्मचारी हुन् । कपनका पूराना बासिन्दा आमरुपमा सरकारी कर्मचारी नै बढि छन्, एक घर एक सरकारी नोकरीजस्तो । नयाँ पूस्ताका पनि अधिकांश मानिस सरकारी कर्मचारी, सेना, पुलिसमा सेवारत बढि भेटिन्छन् के.सी. थप्छन् । हालै कपन ३ स्थित कपन बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्यमा मनोनित भएका तेजकुमार के.सी. ०२९ सालमा बत्ति त आयो तर उनका पिता तत्कालिन उपप्रधानपञ्च(पछि प्रधानपञ्च पनि भए) सूर्यबहादुर के.सी.ले गाउँले सबैले बत्ति बाली सकेपछिमात्र आफूले बत्ति बाल्ने भने पछि गाउँमा बत्ति भए पनि टुकीमा धेरै समय निर्वाह गरेको सम्झिन्छन् । ०४२ सालमा मात्र उनको घरमा बत्ति बल्यो । ०४२ सालमा कपन गाविसभरी बत्ति बलेको उनी बताउँछन् । अर्थमन्त्रालयमा जागिरे छन् तेजकुमार के.सी. । अर्थमन्त्रालयअन्तर्गत निजामति कर्मचारी युनियनको माथिल्लो पदमा काम गर्छन् । यो नेपाली कांग्रेससमर्थित कर्मचारी संघ हो । कपन क्षेत्रको सामाजिक कार्यमासमेत उनको सक्रियता ठूलो छ ।
आजका दिनमा जस्तै हिजो पनि कपनको समस्याको केन्द्रविन्दु खानेपानी थियो । त्यो बेला पनि कपन गाविस खानेपानीको विषयमा रुमलिएको थियो । यो समस्याको निराकरण गर्न कपन गाउँपञ्चायतले १७ लाख रुपैंयाको आयोजनामा सर्वे गराएर शिवपुरीदेखि पानी ल्याउने योजना शुरु गरेको थियो । अझै पनि अवशेषको रुपमा कपनको जगडोल र आरुबारीमा धेरथोर पानीको आपूर्ति शिवपुरीबाट त्यहि पाइपमार्फत ल्याइएको पानीबाट भैरहेको छ । यो आयोजनासम्बन्धि चाखलाग्दो घटना सम्झछन् तेजकुमार के.सी । त्यसताका उता आरुबारीमा तत्कालिन अधिराजकुमार धिरेन्द्र शाहका पाश्र्ववर्तीको घर थियो । तिनै पाश्र्ववर्तीका छोराको व्रतबन्धमा आरुबारी आइपुगेका अधिराजकुमारले त्यहाँ घ्याम्पामा पानी राखिएको देखेर चासो लिएछन् । त्यहाँका स्थानीयले पानीको समस्या रहेको बताउँदै पानीको दीर्घकालिन उपाएका लागि कपनले १७ लाखको आयोजना तयार पारेको र त्यस आयोजनामा हामीलाई पनि मिसाउन आग्रह गरेछन् । त्यसपछि कपनलाई भनेर बनाइएको आयोजनामा आरुबारीसमेत मिलाएर अधिराजकुमार धिरेन्द्रले हुकुमप्रामाङ्गि गरेर बजेट निकासा गरिदिए र खानेपानीको व्यवस्था भएको थियो ।
ऊ बेला पनि कपनवासीहरु विकास र गतिशिलताप्रति अग्रसर थिए सम्झन्छन् तेजकुमार के.सी. । ०३७ सालमा यहाँका युवाहरुको प्रयासमा राधाकृष्ण पुस्तकालय स्थापना गर्ने जमर्को गरियो । स्थानीय मन्दिरको नाममा स्थापना गर्न लागिएको यो पुस्तकालय निर्माण कमिटि बन्यो । अहिलेका कपनमा चिनिएका नामहरु शशिप्रसाद शर्मा, श्यामप्रसाद चालिसे, विशुकुमार के.सी. र स्वयम् तेजकुमार के.सी.ले यो पुस्तकालय निर्माणको पहल गरे । आफैले इँटा बनाएर भवन निर्माण गरेर बाँसलाई काटेर माटो लगाएर बनाइएको तखातामा किताब राख्ने काम भयो । कविगोष्ठि, ब्याडमिन्टनप्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिताका विभिन्न कार्यक्रम बेलाबेलामा गरिन्थ्यो यहि पुस्तकालयको आयोजनामा । मासिक शुल्क उठाइएको थियो आयश्रोतका लागि । ०४२ सालतिर आइपुग्दा पुस्तकालयका हरेक सदस्यले मासिक रु. १ उठाउने गरेको सम्झना पोख्छन् तेजकुमार के.सी. । धेरै पढेलेखेका मानिसहरु त थिएनन् जजसले स्थापना गरे उनीहरुले पढ्ने र संरक्षण गर्ने काम गर्थे तर बाँसमा माटो लगाएर बनाइएको तखाताका कारण धमिरा लाग्यो र ती पुस्तकहरु क्रमशः नष्ट भयो । त्यहि राधाकृष्ण पुस्तकालयलाई पछि आधारशिला समूह भनेर संस्थाको रुपमा विकसित गरियो । जुन अझै पनि कपनमा क्रियाशिल छ । यो कपनको सबैभन्दा पुरानो सामाजिक संस्था तथा क्लब पनि हो । कपन गाविसको कार्यालय जाँदा दायाँ पट्टि साइडमा मायादया क्लिनिकसँगै रहेको भवन आधारशिला समूहको हो । यस समूहको पहिलो अध्यक्ष थिए रामप्रसाद अधिकारी ।
आधारशिला समूहले ०४५ सालपछिका केही उपत्यकाव्यापी भएका हाजिरीजवाफ प्रतियोगितामा चारैतिर प्रशंसायोग्य सफलता हासिल गरेको सम्झिँदै तेजकुमार के.सी. त्यसताका फुटबलभन्दा भलिबल प्रतियोगिता धेरै हुने गरेको बताउँछन् । हाल कपन १ फैकामा रहेको साम्भला रिसोर्ट भएको ठाउँमा भलिबल प्रतियोगिता भैरहन्थ्यो । तर दर्ता गरिएको संस्था नविकरण गर्नुपर्छ भन्ने ज्ञान नहँुदा लामो समय यो आधारशिला समूह नविकरण बिना संचालित भएपछि नविकरण प्रकृया झंझट भयो । अनि यहि नै संस्था नयाँ रुपमा दर्ता गरियो आधारशिला युवा समूह भने । यसपाला तेजकुमार के.सी. नै अध्यक्ष भएर यो संस्था दर्ता गरियो । तर भवन जीर्ण भैसकेकोले नयाँ भवनतिर जुट्यौं हामी के.सी. भन्छन् । नरहरि आचार्य र तत्कालिन जिल्ला सभापति तीर्थबहादुर के.सी.ले संयुक्त रुपमा नयाँ भवनको सिलान्यास गरेका थिए । जुन भवनलाई अहिले हामी देख्छौं ।
४० को दशकमा कपन भेकका युवाहरु कस्ता थिए होलान् ? काँठका युवाहरु विग्रिएका हुन्छन् भन्ने आमधारणा रहेको सन्दर्भमा यो प्रश्न सान्दर्भिकता हुन्छ जस्तो लाग्यो । हामी यहाँका बच्चाहरुलाई गुच्चासमेत खेल्न दिँदैनथ्यौं समृद्ध र बौद्धिक कपनको परिचय दिँदै तेजकुमारले भने । फुटबल खेलका क्रममा कहिलेकाँहि भएका झगडा र झडपलाई लिएर काँठ बस्तिका मानिसप्रति यस्ता अनर्गल हल्ला चलाइएका हुनसक्छन् । फुटबलमा त अहिले पनि समृद्ध भनिने बेलायत, जर्मनीजस्ता देशमा त होहल्ला वा झगडा हुन्छ भने यसैलाई आधार बनाएर कपनका युवाहरु विग्रिएका थिए भन्नु ठीक होइन उनले प्रस्ट्याए । त्यो बेलाका युवाहरुमध्ये पनि १९ वर्ष मुनीकाहरु झन् सभ्य थिए । काँठको आफ्नै सभ्यता थियो, विशेषता थियो अनि परम्परा थियो त्यसमा विग्रने कुरा केही थिएन उनी भावुक बने । ४० को दशकमै यहाँका प्रायः मानिस जागिरे थिए, सबैसँग साइकल थियो उनले विकासतिर औँल्याए ।
जमाना र समयसँगै परिवर्तनको भएको समाज र कपनले सामान्यरुपमा धेरै कुरा परिवर्तन व्यहोरिसकेको छ । परिवर्तनलाई आत्मसात गर्दै तेजकुमार के.सी. भन्छन्, जुत्ता वा चप्पल हातमा बोकेर चावहिल पुगेर लगाउन पर्ने थियो कपन आज अधिकांश बाटाहरु पिच भएका छन् यो परिवर्तनले बिगारेको के छ र ? उनी भन्छन् यहाँ कोही ढिलो वा कोही छिटो सबै कतै न कतैबाट बसाइसराई गरेर आएका मानिस हौं । हामीले उताबाट ल्याएको संस्कृति र यहाँका केही संस्कृति नै काँठको संस्कृति हो । उनी भन्छन् – काँठ भनेको सहर विकाससँगै सर्दै सर्दै जान्छ । अब बिस्तारै कपनजस्ता बस्तिहरु काँठबाट सहर भैसके भने योभन्दा टाढा जहाँ अझै सहर बन्न बाँकी छ ती काँठ हुन् । के.सी. भन्छन्– काँठ कहिल्यै लोप हुँदैन । यो सर्दै सर्दै जान्छ ।
कुराकानी गर्दै जाँदा कपनको राजनीतिसँग पनि लामै कुराकानी भयो उनीसँग । तेजकुमार के.सी.का पिता सूर्यबहादुर के.सी. कपनको इतिहासमा सबैभन्दा बढि स्थानीय निकायमा काम गर्नु भएकाले उनीसँग राजनीतिक कुरा गर्न किन छुटाउने । त्यो कुराकानीलाई समय मिलाएर फेरि प्रकाशित गर्ने छौं ।
– केशव पाठक
साथमा फोटोग्राफरको रूपमा सागर बैजु