मुक्तिनाथ बाबाका कर्तुतहरू
कपन अनलाइन मुक्तिनाथ बाबालाई सम्झिनुहुन्छ ? जोरधारालाई करोडौं उठाइदिन्छु भनेर महायज्ञ लगाउने बाबा क्या ! अब याद आयो होला । यिनकै लहैलहैमा कपनमा केही मै हुँ भन्नेहरु पनि सानातिना बाबा नै बनेको याद छ भने तिनै मुक्तिनाथ बाबाका केही कर्तुतहरु सार्वजनिक भएका छन् । त्यसो त कपनमा नै पनि करोडौं पैसा उठाइदिने भनेर उल्टै यहाँको पैसा हजम पारेका यी बाबाका कर्तुतको बारेमा समाचार छापिएपछि धर्म र आस्थाका नाममा दुनियाँलाई उल्लु बनाउने बाबा नामधारी यस्ता अनुहारको धज्जी उडेको छ । बाबा वा माताका नाममा हिन्दू धर्मलाई बदनाम गराउने यस्ता पात्रहरुप्रति हामी सजग पनि हुनुपर्छ ।
मुक्तिनाथ बाबाको नाममा जोरधाराले ठूलो खर्च गरेर यज्ञ लगायो । यज्ञमा जति दान उठ्यो वा वागदानको रुपमा बोलियो त्यो सबै कपनवासीको नै थियो । अझै मुक्तिनाथको बाबाको ट्रष्ट र जोरधाराको संयूक्त खातामा करिब ७ लाख रुपैंया फ्रिज भएर बसेको छ । वागदान दिन्छु भन्नेहरुले अझै पैसा दिएका छैनन् । जोरधारा खानेपानीले विभिन्न सहकारीबाट ऋण लिएर ट्यांकी बनाएको छ । यसरी मुक्तिनाथ बाबाका नाममा हामी कपनवासीले पनि ठगिएको थियौं । धार्मिक आस्था र विश्वासका कारण यी बाबालाई सबैले आदार र सद्भाव राख्दै आएका थिए । तर यी ढोंगी तथा धर्म र आस्थालाई बेचेर खाने व्यक्ति हुन् भन्ने समाचार आज सेतोपाटीमा छापिएको छः
कमलनयनाचार्यको नामै अनौठो छ- अनन्तश्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्री मुक्तिनाथबाबा)। भक्तहरु उनलाई छोटकरीमा ‘मुक्तिनाथ बाबा’ भनेर पुकार्छन्। काठमाडौं, भक्तपुर वा नवलपरासीको त्रिवेणी आश्रममा पनि उनले आफूलाई मुक्तिनाथबाबा भनेरै चिनाउने गरेका छन्।
रथयात्रा, लक्ष्यदिप वा अरु पूजापाठ मुक्तिनाथ पिठाधिश्वरकै नाममा हुने गरेको छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरुको एउटै तीर्थस्थलको पिठाधिश्वर भएकाले पनि उनलाई आफ्नो प्रचार गर्न सजिलो भएको छ।
हिमालपारिको जिल्ला मुस्ताङ वा मुक्तिनाथ मन्दिरका अधिकारी भने उनले कसैले नदिएको पगरी गुथेको आरोप लगाउँछन्। मुक्तिनाथ विकास समितिले पनि कमलनयनाचार्यको ‘पिठाधिश्वर’ वा ‘मुक्तिनाथबाबा’ स्वघोषित भएको बताएको छ।
ज्ञानेन्द्र राजा भएपछि केही वर्ष पटकपटक मुक्तिनाथ ओहोरदोहोर गर्ने गरेका बाबा अचेल केही वर्षमा केही घन्टाका लागि मात्र झुल्किने गरेको मन्दिरका पुजारीहरुले बताएका छन्।
राजाको सक्रिय शासनकालमा सेना र प्रहरीको आडमा रानी सुवर्णप्रभा पालादेखिको रानीपौवा धर्मशाला ‘कब्जा’ गरेकोमा स्थानीयहरु बाबासँग आक्रोसित छन्। मार्केटिङका लागि मात्र मुक्तिनाथको नाम भजाएको भन्दै मन्दिरसँग सम्बन्धितहरु पनि खिन्न छन्।
‘उहाँ कसरी मुक्तिनाथ बाबा हुनुभयो हामीलाई केही थाहा छैन,’ मुक्तिनाथका मूलपुजारी वाङ्गेल लामाले सेतोपाटीसँग भने, ‘पहिला आर्मीका चिफहरु लिएर आइरहनुहुन्थ्यो, राजा ज्ञानेन्द्र गएपछि त बस्नेगरी आएको देखेको छैन।’
विश्व शान्तिका लागि होम गर्ने भनेर मन्दिर परिसरमा पनि स्वामीले केही जग्गा लिएको लामाले बताएका छन्। ‘राजा ज्ञानेन्द्र र उनका छोरालाई नै मुस्ताङ लिएर आउनसक्ने व्यक्तिले मागेपछि हामीले नाइँ भनेनौं,’ उनले भने, ‘भाका सकियो तर छाड्ने सुर देखिँदैन।’
राजदरबारको हवाला दिएर स्वामीले रानीपौवाको धर्मशालाका केही कोठा र मन्दिर परिसरमा जग्गा लिए। त्यसैलाई मुक्तिनाथ पिठ भन्दै उनले आफूलाई पिठाधिश्वर घोषणा गरेका हुन्।
‘उहाँ १/२ वर्षमा केही मिनेटलाई मात्र आउनुहुन्छ, हेलिकोप्टर चढेर,’ लामाले भने, ‘दुवै ठाउँमा अरु धार्मिक गतिविधि छैन, उहाँका भाइदाइ पूजापाठ गरेर बसेका छन्।’
राजाको सक्रिय शासन सकिएपछि सुरुमा माओवादी डरले स्वामी मुस्ताङ नगएको त्यहाँका स्थानीयको अनुभव छ। पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, माओवादी निकट व्यापारी अजय सुमार्गी र कृष्ण आचार्यसँग संगत थालेपछि पनि उनी ढुक्क बस्नेगरी मुस्ताङ जान भ्याएका छैनन्।
मन्दिरका हिन्दु पुजारी मुक्तिनाथ सुवेदीले पनि ‘कमलनयनाचार्य स्वामीले आफूखुसी मुक्तिनाथ पिठाधिश्वर र मुक्तिनाथ बाबा लेखेको’ बताएका छन्।
‘मुक्तिनाथ मन्दिरसँग सम्बन्धित जस्तो देखाएर मानिसलाई आकर्षित गर्न विभिन्न उपाधि लेख्नुभएको देखिन्छ,’ सुवेदीले भने, ‘उहाँलाई कतैबाट ती उपाधि दिएको जानकारी हामीलाई छैन।’
मुक्तिक्षेत्रको नामबाट धेरै ठाउँमा विरासत खडा गरेको तर मुस्ताङलाई वास्ता नै नगरेको भनेर पनि स्थानीय आक्रोसित छन्। आक्कल-झुक्कल मुस्ताङ टेक्ने र माथिको सोर्समा अड्डा जमाउने बाबाले केही नगरेको उनीहरुको गुनासो छ।
‘उहाँ बेलाबेला कुनै व्यापारी लिएर हेलिकोप्टरमा झुल्किनुहुन्छ,’ मुक्तिनाथ विकास समितिका सहसचिव उत्तम शर्माले भने, ‘माथिकै पावर लगाएर २०६ वर्ष पुरानो धर्मशालाका केही भाग लिनुभएको छ।’
बाबाले आफ्ना प्रवचन, पर्चा र प्रकाशनमा धर्मशाला बनाएको असत्य विवरण प्रकाशित गरेकोमा भने उनीहरु आक्रोशित छन्।
‘कसले पिठाधिश्वर बनायो, किन बनायो र मुक्तिनाथको नाम कसरी जोडियो भन्नेबारे हामीलाई केही थाहा छैन,’ शर्माले भने, ‘१०/१२ वर्ष पहिला पनि उहाँ पिठ वा धर्मशालामा बस्ने हैन, तल जोमसोमको तारे होटलमै सुतेर फर्कने हो।’
मुक्तिनाथको नाम जोडेकोमा उनीहरुले गम्भीर आपत्ति भने गरेका छैनन्। कहीँ, कतै विवादमा नाम जोडिएला र आफूहरुले पनि मुन्टो निहुराउनुपर्ला भन्ने सुर्ता भने उनीहरुलाई छ।
‘ध्यान, तप, साधनामा उहाँलाई खासै रुचि भएको हामीले देखेका छैनौ,’ समितिका अर्का सदस्यले भने, ‘घरि ज्ञानेन्द्र, घुरि प्रचण्डको पछि लागेर चाल चल्ने बाबा कुनै दिन बदनाम होलान् र मुक्तिनाथको नाम पनि जोडिएला भन्ने डर हामीलाई छ।’