रामकृष्ण के.सी. माथि भएको आक्रमणको छानविन प्रकृयाका लागि ने.का. कपनले जनदवाब दिने
कपन अनलाइननेपाली कांग्रेस कपनका वरिष्ठ तथा प्रभावशाली नेता रामकृष्ण के.सी. माथि २ दिन अघि भएको सांघातिक आक्रमणको ने.का. कपनले घोर भत्र्सना गरेको छ । आज ने.का. कपन इकाइको आकस्मिक बैठकबाट के.सी. आक्रमणको निन्दा गरिएको कुरा कपन ने.का. सभापति विनोद चालिसेले कपन अनलाइनलाई बताए ।
आज ढिलो गरी बसेको इकाई समितिको बैठकमा रामकृष्ण के.सी.माथि भएको आक्रमण सुनियोजित देखिएको उल्लेख गर्दै दोषिमाथि सीघ्र कारवाहीको माग गरिएको सभापति चालिसेले बताए । घटना घटेको ३ दिन बित्न लाग्दा पनि मुख्य दोषिहरु अझै पक्राउ नपरेको प्रति इंगित गर्दै उनले भोलि साउन २ गते बिहान ८ बजे जन दवाबको अनौपचारिक कार्यक्रम राखिएको जनाएका छन् ।
यस मुद्धामा प्रहरी प्रशासनले ढिलासुस्ति गरेको हो कि भन्ने लागेकोले जनदवाबको कार्यक्रम गर्न लागिएको कपन ने.का. उपसभापति टंक सापकोटाले बताए । कपनमा नेपाली कांग्रेसका नेतामाथि भएको आक्रमणमा कपन कांग्रेस चुप लागेर मुकदर्शक बन्न नसक्ने बताउँदै सापकोटाले रामकृष्ण के.सी. माथिको आक्रमण सिंगो नेपाली कांग्रेसमाथिको आक्रमण भएको बताए ।
यसैबीच २ दिन अघि ९ बजे राति अप्रत्यासित आक्रमणमा परेका रामकृष्ण के.सी. औषधोपचारपछि घर फर्किएका छन् । उनको खुट्टामा प्लास्टर गरिएको छ भने गर्धनमा भएको घाउलाई औषधि खाएर र आइसले सेकेर निको बनाइरहेका छन् । कपन अनलाइनसँग टेलिफोनमा कुरा गर्दै उनले प्रहरीबाट दोषिको खोजबिन र पक्राउ गर्ने काम तदारुकताका साथ नभएकोमा दुःख प्रकट गरे । उनलाई डाक्टरले ३ महिना आराम गर्न भनेको छ ।