दौड

कथा

sketh

          -पाभेल

turtleandrabbit[1]कछुवा र खरायोको दौड नभएको धेरै वर्ष भैसकेको छ । यी दुईको दौड र नतिजा भने अझै पनि हाम्रा स्मृतिपटलमा जस्ताको तस्तै छ । कछुवाको बुद्धिमानीलाई लिएर धेरै कथा तथा कहानीहरु हाम्रा समाजमा विद्यमान छन् । आज सबैजना भित्रिरुपमा जे भए पनि बाहिरीरुपमा आफूलाई कछुवाजस्तै बुद्धिमानी देखाउन चाहन्छ । संसार दिन दुईगुना रात चौगुना विकास हुने क्रममा धेरै कुराहरु बदलिइसकेको भए पनि खरायो र कछुवाको दौडसँग सम्बन्धित कहानी जस्ताको तस्तै हामी उदाहरणको रुपमा उच्चारण गरिरहेको छौं ।

 

वर्षौँपछि फेरि कछुवा र खरायोले दौडको प्रतियोगिता राखे । खरायोको गति आज पनि कछुवाभन्दा छिटो नै छ र कछुवा पूर्ववत सुस्त र मन्द जीवन निर्वाह गरिरहेको छ । खरायोलाई आज पनि मानिस तथा जनावरहरु आफ्नो मिठो आहाराको रुपमा लिन्छन्,त्यसैगरी कछुवाको हड्डिलाई तस्करहरुले आँखा लगाउने क्रम आज पनि उस्तै छ । दौडका लागि स्थान तथा मिति तय गरियो । परिणामका बारेमा दुवैतिरबाट समान खाले बिचारहरु आइरहेका थिए । पछिल्लोपटकको परिणामको आधारमा हेर्दा कछुवाले नै जित्छ भन्नेहरुभन्दा खरायोले यस अघिको आफ्नो मूख्र्याईँलाई फेरि नदोर्याए कछुवाभन्दा धेर्रै छिटो नतिजामा पुग्ने छ भन्नेहरुको संख्या निकै नै ठूलो छ ।

 

दौड कछुवा र खरायोबीच राखिए पनि यसको चारैतिर प्रचारप्रसार गरियो । अहिले संचारको विशाल प्रगति भएको बेला संचारमाध्यमहरुले झनै जोडतोडले यस दौडलाई न्यूज बनाए । जताततै यसैको चर्चा परिचर्चाले छायो । दुईजना मानिस भेट्ने बित्तिकै यो दौड अब कसले जित्ला भनेर ठूलो बहश हुन्थ्यो । देशमा सबैभन्दा बढि राजनीतिको खेती हुने भएकोले यो दौडको पक्ष विपक्षमा  राजनीतिक दलहरु पनि आमने सामनेमा आए । कम्यूनिस्टहरुले एउटालाई रोजे भने प्रजातन्त्रवादीहरुले त्यसको विपक्षमा मत जाहेर गरे । समग्रमा पुरै समाज कछुवा र खरायोको नाममा विभक्त भयो । धुमधामले प्रचारप्रसार गरिने क्रममा कतिपय ठाउँमा कम्यूनिस्ट र प्रजातन्त्रवादी भनिनेहरुबीच हानाहान पनि भए । राज्यले निशेधाज्ञासमेत जारी गर्यो । सानासाना विषयमा विभक्त भएर ठूला–ठूला तोडफोड गर्ने जीवन बाँचिरहेकाहरु फेरि कछुवा र खरायोको दौडको नाममा यत्रतत्र पछारिए । प्रचारप्रसारको समय सकियो ।

 

दौडको समय नजिकिदै गर्दा आन्तरिक भेटघाट पनि तीव्र थियो । १ घण्टा अघि कछुवा समर्थक १ घण्टापछि खरायो समर्थक बनिसकेको हुन्थ्यो । पूर्व विजेता भएकाले कछुवाका पक्षमा पनि जनलहर उर्लिरहेको थियो । ठाउँ ठाउँ आफ्ना आफ्ना पक्षमा पूजा–अर्चना होमहोमादी कार्य भैरहेका थिए । समग्रमा एउटा विशाल आमनिर्वाचनको लहर उठेको थियो यो दौडको नाममा । दौड शुरु हुने ठीक अगाडि सर्वदलीय संयन्त्रले दौडको प्रत्यक्ष प्रशारण नगर्ने निर्णय गर्यो । प्रत्यक्ष प्रशारण गर्दा कछुवा पक्षलाई नमज्जा होला भन्ने आशयका साथ यो निर्णय गरिएको हो । दौड शुरु भयो ।खरायो आफ्नो गतिमा दौडियो । सबैको ध्यान खरायोतिर एकोरियो ।

 

बिचरा कछुवा ….. ? उसको गति एकदमै सुस्त भएकोले कछुवाका समर्थक पनि खरायोको दौडतिर ध्यानमग्न भए ।ला मो दौडपछि बीचबाटोमा पहिला जस्तो कुनै गल्ति नगरी खरायो दौडको अन्तिम लाइनको छेउमा पुग्यो र स्तब्ध भयो । उभन्दा पहिले नै कछुवा त्यहाँ पुगेर जुस खाँदै थियो । अश्चर्यचकित रह्यो खरायो । दुनियाँ सबै आश्चर्यमा परे । कसरी यो सम्भव भयो ? फेरि पनि कछुवा नै विजेता रह्यो । बीचबाटोमा कतै नसुस्ताई दौडेको खरायो पराजित भयो । राती सबै सर्वदलीय संयन्त्र सँगै बसेर जाँड पार्टी गरे । एउटा मेला धुमधुमले सकियो ।

…तर कछुवाले यो दौड कसरी जित्यो भनेर खरायोले पत्तो लगाउन सकेन ।

तपाइँको प्रतिक्रिया ।