साउने संक्रान्ति आजः नेपाली हिन्दु महिलाहरूले उत्सवको रूपमा मनाउने महिना शुरू
कपन अनलाइनआज साउने संक्रान्ति । सौर्यमान अनुसार सुर्य दक्षिणायनतिर गई कर्कट रेखा माथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । आजको दिन देशभर साउनेसङ्क्रान्ति अर्थात कर्कट सङ्क्रान्ति पर्व मनाइँदै छ ।
असारे हिलोबाट आउनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो चाड मनाइँदै आएको धार्मिक विश्वास छ । विभिन्न फलफूल चढाएर ‘कण्डारक’ नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाका रोगबाट बच्न सकिने विश्वासका साथ कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिसमेत बाली आ-आफ्ना घरआँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।
लुतो फाल्दा घरभित्र दूषित किटाणु प्रवेश नगरून् भन्ने उद्देश्यले नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र केहीबेर घरको ढोकासमेत बन्द गर्ने गरिन्छ । भोलिपल्ट खेतबारीमा पसे राँके लाग्छ भन्ने जनविश्वासअनुरूप खेतबारीको काम पनि गरिँदैन । कृषिप्रधान देश नेपालमा असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली इष्टमित्रका साथ रमाइलो गरी भोज खाने प्रचलनरही आएको छ ।
आजैबाट साउनलाई हरियो महिनाका रुपमा समेत मनाउने गरिन्छ । विशेषत्ः हिन्दु धर्मममा विश्वास राख्न महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउनलाई पर्व एवम् उत्सवको रुपमा मनाउँछन् । बोल बम जाने महिना पनि यहि हो । विशेषगरेर साउन महिनामा भगवान शिवको पूजा आराधना गरिन्छ ।