नेकपा-माओवादीका पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मासँग गरिएको विशेष अन्तर्वार्ता

नेपालमा अहिले जति राष्ट्रघात तथा जनघात भएको छ, जति जनजीविका र जनआकांक्षाका विरुद्धमा गतिविधि भएको छ त्यसको नेतृत्व एमाओवादी गरिरहेको छ ।

सरकारले यसै वर्षको मंसिर ७ मा हुने गरी चुनावको मिति सार्वजनिक गरेको छ । चुनावका बारेमा केही ठूला दलहरु सकारात्मक छन् भने नेकपा-माओवादीसहितका दलहरुलाई चुनाव विरोधी धार भन्ने गरिन्छ  । अहिलेको हुने भनिएको चुनावमा नेकपा-माओवादीले पनि भाग नलिने पटकपटक दोहोर्याइसकेको छ ।  चुनावको मिति घोषणा तथा चुनाव हुने नहुने भन्ने कुराको संशयका बीच कपनमा नै अस्थाई बसोबास गरिरहेका नेकपा-माओवादीका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले अत्यन्त व्यस्तताको माहौलमा कपन अनलाइनका सम्पादक केशव पाठकसँग १५ मिनेट लामो वार्तालाप गर्नु भएको छः-

 

  • कपन अनलाइनः नेकपा-माओवादी त्यति धेरै कृयाशील नभएको महशुस गरिरहेका छन् जनताहरु, केमा व्यस्त छ अहिले पार्टी ?

खड्गबहादुर विश्वकर्माः हाम्रो पार्टी अहिले मूलभूतरुपमा आन्तरिक अवस्थाको सुद्धिकरण र राष्टिय राजनीतिमा प्रतिगमनको विरुद्धमा छलफल, सहकार्य र संयुक्त आन्दोलनमा नै व्यस्त छ ।

 

  • कपन अनलाइनः तर यो सहकार्य र संयूक्त आन्दोलन त्यति प्रभावकारी देखिएन । यहाँहरुको विरोधको आवाज टिकाटिप्पणिको विषयसमेत बन्यो । ३३ दलको आन्दोलनमा ६६ जना पनि सहभागि देखिएन भन्ने कुरा समेत आयो ।

खड्गबहादुर विश्वकर्माः जनताको चाहना प्रतिगमनलाई तुरुन्त पार्टीले कन्ट्रोल गरोस् भन्ने चाहन्छ । यो प्रतिगमन तुरुन्त सच्चियोस् भन्ने चाहन्छ । त्यहि प्रकृयाले मुभमेन्ट अगाडि नबढेको हुँदा जनताले भन्नु अस्वभाविक हैन । तर शक्तिशाली मुभमेन्टका लागि तयारी गर्नु सबैभन्दा ठूलो कुरा हो । यही तयारीको क्रममा हामी बढि केन्द्रित भएको छ । ३३ दलका ६६ मान्छे भन्ने कुराचाहिँ प्रतिक्रियावादीहरुको हाम्रो मोर्चा विरुद्धको षडयन्त्र मात्र हो । बरु ४ दलका ८ मानिस पनि नहुने खतरा बढेको कुराचाहिँ जगजाहेर भएको छ । हाम्रो मेचीकाली कार्यक्रममा हजारौंको सहभागिता रहेको सबैलाई थाहा नै छ ।

 

  • कपन अनलाइनः यद्धपि अख्तियार घेराउ कार्यक्रममा सारै न्यून उपस्थिति थियो ।

खड्गबहादुर विश्वकर्माः अख्तियार घेराउ कार्यक्रम हामीले अलि व्यवस्थित गर्न नसकेकोले कम उपस्थिति भएको हो । त्यहाँ हाम्रो उपस्थिति न्यून देखिएकै हो । सत्य हो ।

 

  • कपन अनलाइनः नेकपा माओवादीमा दुई धार देखिएको र पार्टी कतातिर जाने भन्ने बारे निष्कर्ष निक्लन नसकेको कुरा सार्वजनिक भैरहेको छ । वैद्य पक्ष र विप्लव पक्ष भन्ने कुरा आइरहेको छ । पार्टी अलि निस्तेज हुनुमा यो कारण पनि हो कि ?

IMG_4013खड्कबहादुर विश्वकर्माः यो बीचमा केही मिडियाहरुले लेखेको मैले पनि पाएको छु । पछिल्लो पोलिटव्यूरोको बैठकमा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम, पार्टीले अख्तियार गर्नु पर्ने नीतिको बारेमा पूर्ण एकमत रहेको म जानकारी दिन चाहन्छु । त्यही एकरुपताबाट आतंकित भएका अवसरवादी, नवसंशोधनवादी र देशीविदेशी प्रतिक्रियावादीहरुको प्रलापबाहेक अरु केही हैन । त्यसैगरी अहिले साम्राज्यावादी, विस्तारवादी तथा यो देशका दलालहरुको निशानामा हाम्रो पार्टी छ । हाम्रो पार्टी छ भनेको नेपाली जनता छ । यो पार्टीलाई तोडफोड नगर्ने हो भने अरुले आफ्नो राजनीतिको भविष्य देखेका छैनन् । यही मेन्टालिटीबाट अभिव्यक्त भएको विचारसिवाय केही हैन । हामीमा  कुनै मतभेद छैन ।

 

  • कपन अनलाइनः विप्लवज्यूले बेलाबेला प्रस्तुत गर्ने जनयुद्ध चुनाव विरोधी कुरा अनि वैद्यज्यूको त्यति धेरै सार्वजनिक अभिव्यक्ति नआउनुले कहिँकतै मतभेद छ कि भन्ने जनताको चासो रहेको छ ।

खड्गबहादुर विश्वकर्माः हाम्रो पार्टीको लाइनको बारेमा जसरी अहिले विवाद छ भनिराखिएको तथा कथित विवाद सिर्जना गर्न खोजिएको छ यो नै षडयन्त्रपूर्ण छ । वास्तविकरुपमा अहिले हाम्रो पार्टीको कार्यदिशा भनेको जनयुद्धको जगमा जनविद्रोह हो । यो कार्यदिशा विकास गर्नका निम्ति हाम्रा सिनियर लिडरहरुको धेरै ठूलो कसरत र मेहनत खर्च भएको छ । यो हाम्रो महाधिवेशनमा एकरुपताका साथ पास गरेको दिशा हो । अहिले हाम्रो पार्टी नेपालमा यहाँका श्रमजिवी जनताहरुको आफ्नो पार्टी भएको छ, नेपालका राष्ट्रवादीहरुको पार्टी हो । यो पार्टी भनेको राष्ट्रिय स्वाधिनताको पहरेदार पार्टी हो भन्ने वैचारिक राजनीतिक मान्यता नेपाली समाजमा स्थापित भएको छ । यहि मान्यताको खिलापमा षडयन्त्रको रुपमा विभिन्न कुराहरु आएका हुन् । हाम्रो विचार, लाइनलाई यी बाहिरी तत्वहरुले गरेको हमला मात्र हो । हाम्रो पार्टीको एकमात्र लाइन भनेको जनयुद्धको जगमा जनविद्रोह हो । पार्टीको तत्कालिक कार्यनीतिको हिसाबले हामीले भनेको जनसंविधान राष्ट्रिय एजेण्डा हो । अहिलेको प्रतिगमन अन्त्य गरी जनसंविधान निर्माणका निम्ति अग्रगामी राष्ट्रिय सम्झौता हुनुपर्छ । त्यो विधि निर्माण गर्ने थलो भनेको अहिलेको सन्दर्भमा सर्वपक्षीय गोलमेच सम्मेलन नै हो । हाम्रो प्रष्ट नीति छ । हामीलाई जनताले आशाको केन्द्रविन्दु मानेका छन् । अरु सबै चार दल भनेका पछिल्ला दिनमा साम्राज्यवाद र विस्तारवादका नांगा दलाल हुन् भन्ने कुरा नेपाली जनता र लाटाले पनि बुझिसकेको छन् । यस्ताबेलामा हाम्रा कार्यदिशामा विवाद छ भनेर कार्यदिशा विकास गर्ने नेताहरुका बारेमा भ्रम फैलाउन काम मात्र भएको हो । यो षडयन्त्र मात्र हो ।

 

  • कपन अनलाइनः नेपालमा रहेका सबै पार्टीमा विवादहरु रहेका हुन्छन्, तर विवाद छ नि भनेर सोध्दा चाहिँ यी सब विपक्षीहरुको षडयन्त्र भनेर रेडिमेड उत्तर दिने चलन नै भएको छ । हावा नचलि त पात हल्लिएनन् होला नि त ?

खड्गबहादुर विश्वकर्माः अहिलेको जमानामा हावा नचलीकन पनि रुखका पात हल्लाउने मूर्खता गर्न सक्छन् विरोधीहरुले । विज्ञान र प्रविधिको विकासले गर्दा पनि होला हावा नचली पनि पात हल्लिएको भान पार्न सकिदो रहेछ । वैचारिक दृष्टिले हाम्रा पार्टीमा बहस, छलफल त हुन्छ नै  तर प्रष्ट कुरा के हो भने कार्यदिशाको सबालमा हाम्रो पार्टीभित्र कुनै विवाद छैन । मलाई अचम्म लाग्छ, किन चाहिँ जर्बजस्ति विवाद भनेर प्रचार गरिँदै छ ? यो हिटलरको मान्यताजस्तो झुटो कुरालाई सयपटक प्रचार गरियो भने त्यो सही बन्छ भन्ने मान्यतामा षडयन्त्र गर्ने खेल मात्र हो । नेपालका यी दलालहरु हिटलरको संचारप्रमुख गोयबल्सलाई नै माथ गर्ने काममा लागेका छन् ।

 

  • कपन अनलाइनः चुनावका कुरा आइरहेका छन्, चुनाव हुँदैन भने नेकपा माओवादी कारणले नहुने भनेर भन्ने गरिन्छ । बीचमा तीन बुँदे शर्तका कुरा पनि आए । खासमा नेकपा माओवादीको चुनावप्रतिको धारणा के हो ?

खड्गबहादुर विश्वकर्माः चुनावका कुरा चार दलका कुरामात्र हो । यदि चुनाव गरेर जनताको संविधान निर्माण गर्ने हो भने पनि राष्ट्रिय सहमति आवश्यक छ । चुनाव नै विकल्प भन्ने कुराको निष्कर्षमा देश पुगेकै छैन । यो  त चारदलको कुरा मात्र हो । हामीले त्यहि राष्ट्रिय सहमतिको कुरा गरेको हो । हामी चुनाव विरोधी हैन । तर सहमति चाहिन्छ । तर संविधानसभाको चुनावको नाममा नौंटकी गरिएको छ । जनताको आवरणमा साम्राज्यवादीहरुको चासोचाहिँ मुखरित हुन्छ भने त्यसको पक्षमा नेपाली जनता पनि छैनन् र हाम्रो पार्टी पनि छैन । राजनीतिक मुद्धाको हल गर्न गैरराजनीतिक मानिसको सरकार बनाइयो । चारदल त १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त अन्तरिम संविधानका २४ वटा मुख्य धाराहरुलाई संशोधन गरेर त्यसको आत्मालाई नै मारे । हामीले यसरी बनेको सरकार र यो संशोधनलाई प्रतिगमन भनेका हाँै । यो भनिएको चुनाव यही प्रतिगमनको रुप हो ।

 

  • कपन अनलाइनः यहाँले भनिरहेको चारदलको यो नाटकलाई जनतासमक्ष पुर्याउन नेकपा माओवादी सक्षम भएको छ त ?

खड्गबहादुर विश्वकर्माः हामीले अहिले यही नाटकको पर्दाफास गर्ने कामहरु गरिरहेका छौं । देशभरी यस्ता विरोधका तथा जनजागरणका कार्यक्रमहरु भैरहेका छन् । यस किसिमको प्रतिगमनलाई मूर्खता गरेर सच्याउन तयार भएन र चुनावको मिति तोकियो भने यसले देशमा ठूलो हलचल मच्चाउने छ । जनता प्रतिगमनका विरुद्धमा लड्न उठ्नेछन् त्यो तयारी भएको छ । यो चुनावलाई नेपाली जनताले विरोध मात्र हैन खारेज गर्नेछन् ।

 

  • कपन अनलाइनः कहिले मिल्ने हल्ला चल्छ, कहिले फुटेको नाटक मात्र हो भन्ने कुराहरु आउँछ । एमाओवादीसँग तपाईहरुको सम्बन्ध के हो ?

IMG_4019खड्गबहादुर विश्वकर्माः एमाओवादी पनि एउटा पार्टी भएको हुँदा कांग्रेस, एमाले वा अरु पार्टीहरुसँग जस्तो जे छ हाम्रो दृष्टिकोण  र सम्बन्ध त्यहि हो । जसरी अहिले माओवादीको एमाओवादीसँग विशिष्ट सम्बन्ध छ अरुसँग भन्दा भनेर देखाउन खोजिएको छ । उ सँग विशिष्टस्तरको छलफल चलिरहेको भनेर देखाउन खोजिएको छ यो पनि षडयन्त्रकै एउटा कडिको रुप हो । नेपालमा अहिले जति राष्ट्रघात तथा जनघात भएको छ । जति जनजीविका र जनआकांक्षाका विरुद्धमा गतिविधि भएको छ त्यसको नेतृत्व एमाओवादी गरिरहेको छ । यो वास्तविकता हो । यो विषयमा कांग्रेस, एमाले त पछि परिसक्यो । त्यसैले संसदवाद र दलालीकरणको नेतृत्व एमाओवादीले गरिरहेको छ भने राष्ट्रिय स्वधिनता र नेपालको जनवादीकरणको नेतृत्व हाम्रो पार्टीले गरिेरहेको अवस्थामा हामी विपरित ध्रुवमा छौं ।

 

  • कपन अनलाइनः पछिल्ला दिनमा देशका केही पार्टीका नेताहरु एमाओवादीमा प्रवेश गरिरहेका सन्दर्भ आइरहेका छन् । यसले आगामी दिनमा नेपाली राजनीतिको अवस्थालाई कसरी लैजाला ?

खड्गबहादुर विश्वकर्माः अहिले संसदीय प्रतिक्रियावाद र दलालहरुको नेतृत्व एमाओवादीले गरिरहेको हुँदा अलि बढि खराब मानिस सबैभन्दा बढि त्यहाँ जानु स्वभाविक मान्छु म ।  अर्को कुरा, दलाल नै हुनु छ कमजोर दलालसँग किन बस्ने भनेर पनि खराब प्रवृतिका मानिस एमाओवादीमा गएका छन् ।

तपाइँको प्रतिक्रिया ।