अपडेटः उच्चस्तरीय राजनीतिक समितिको बैठक सकियो :असन्तुष्टलाई मनाउन आजै बाट वार्ता सुरु गर्ने
काठमाडौ, ३१ जेठ । आगामि मंसिर ४ गते संविधानसभाको निर्वाचन गर्ने गरी सरकारले घोषणा गरेको मितिको उच्चस्तरीय राजनीतिक समितिले स्वागत गरेको छ ।
आज बसेको समितिको बैठकले निर्वाचनबाट मात्रै मुलुकले निकास पाउने भएकोले सरकारले तोकेको समयमा निर्वाचन सुनिश्चित गर्नु पर्नेमा प्रतिबद्धता जनाएको छ । त्यसको लागि बैठकले आजै बाट निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरुलाई वार्ताको आब्हान गर्दै बार्ता गर्ने निर्णय समेत गरेको छ ।
उसले निर्वाचनमा आउन सबै असन्तुष्ठ पक्षलाई देश प्रति जिम्मेवार हुन आग्रह गर्दै सरकारसहित सबै पक्षलाई निर्वाचनको सुनिश्चितताको लागि जिम्मेवार भएर आउन आब्हान गरेकोछ ।
आजको बैठक एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा बस्ने अन्तिम बैठक हो । भोलीबाट संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदारले नेतृत्व गर्ने छन । गच्छदारको संयोजकत्वमा बस्ने गरी आईतवारलाई बैठक बोलाईएको छ ।
अहिलेसम्म समितिको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली काग्रेसका सभापति सुशिल कोइराला र एमाले अध्यक्ष खनालले गरिसकेका छन् । प्रचण्डको नेतृत्वमा समितिको बैठक जम्मा तीन पटक बसेको थियो । कोइरालाको नेतृत्वमा एक पटक मात्रै बैठक बसेको थियो । समिति सबैभन्दा बढी खनालको पालामा सक्रिय बनेको थियो । उनको समयमा ११ पटक बैठक बसेको थियो ।