अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

अलैँची गोदाममै थन्किएपछि सरकारसँग कृषकको गुहार

कपन अनलाइन 

– सन्तोष पुर्कुटी
ताप्लेजुङ, ३ असोज। “गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु”, आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म मनग्य बिरुवा बेच्न सफल भएका प्रसाईंले हौसिएर यसपटक नर्सरीमा थप लगानी पनि बढाए । तर हुर्किएका बिरुवा सोचेजस्तो बिक्री नभएपछि उनलाई हैरानी भएको छ ।

यता, लामो समयदेखि व्यावसायिकरुपमा नर्सरी गर्दै आएका स्थानीयवासी अर्का कृषक भिङ्मारे लिम्बूले पनि आफूले हुर्काएका बिरुवा बिक्री नभएको सुनाउँछन् । उनले भने, “नर्सरीमै फुल्न थालिसक्यो । उखेलेर फाल्नु पनि कसरी ? लगानी खेर जाने भयो ।” उता सिरिजंघा–७ खेवाङका नेत्र आचार्यको पनि समस्या उस्तै छ । यी त उदाहरणका पात्र मात्रै हुन् । जिल्लाका दर्जनौँ कृषकले दानाबाट नर्सरी गरेर उमारेको बिरुवा बारीमै थन्किएका छन् ।

अलैँचीखेती विस्तारमा कमी आएसँगै अपेक्षाकृतरुपमा बिरुवा बिक्री नभएको हो । मूल्य आकाशिएपछि खेतबारी नै मासेर अलैँचीको खेती विस्तार गर्न थालेका किसानले मूल्यमा आएको कमी र विभिन्न रोग कीरा लाग्न थालेपछि अहिले खेती विस्तार गर्ने क्रम घटेको हो ।

अलैँचीको बजार र मूल्य घटेपछि अलैँची किसान निकै चिन्तित बनेका छन् । बजारभाउ अहिलेकै अवस्थामा कायम रहे अलैँची हटाएर पुरानै खेती गर्ने सोच कतिपय किसानको छ । सिदिंवा गाउँपालिकाका कृषक भूपाल मङ्रातीले बजार र मूल्यको अवस्था यस्तै रह्यो भने पुरानै खेती गर्ने सोच बनाएका छन् । अलैँची व्यवसायकै सन्दर्भमा सञ्चालित एक गोष्ठीमा सहभागी हुन सदरमुकाम आएका मङ्रातीले भने, “वर्षभरि खान पुग्ने खेतबारी मासेर अलैँची रोपियो । त्यसमाथि सिँचाइलगायतका काममा ठूलो खर्च गरियो तर यही अवस्था रहिरह्यो भने कुनै फाइदा छैन । उल्टै ऋण लाग्ने भयो ।”

भिरालो जंगल क्षेत्रमा खेती गर्न सकिने भए पनि खेतबारी नै मासेर भने खेती गर्न नसकिने मङ्राती बताउँछन् । वर्षभरिमा एउटै जमिनबाट उत्पादन हुने अन्नपात, तरकारी, फलफूल, घाँसपात आदिको हिसाब गर्दा हालको बजारभाउमा बेचिने त्यही उत्पादित अलैँचीको मूल्यको तुलनामा निकै बढी हुने कृषक बताउँछन् ।

विगतका वर्षहरुमा ताप्लेजुङमा बिरुवा पाउन निकै हम्मेहम्मे पथ्र्यो । यहाँ उत्पादित बिरुवाले नपुगेर बाहिरी जिल्लाबाट झिकाउनुपथ्र्यो । प्रतिबिरुवा रु आठदेखि रु १५ सम्ममा बिक्री हुने गरेको थियो । तर यो वर्ष भने रु पाँचका दरले पनि बिक्री गर्न नसकिएको कृषकको भनाइ छ । बेर्नाबाट भन्दा बीजबाट उत्पादित बिरुवा निरोगी र लामो समयसम्म उत्पादन दिने हुन्छ । तर सबैलाई यसबारे जानकारी नहुनु पनि थप समस्या रहेको बिरुवा उत्पादकहरु बताउँछन् । यता जिल्ला कृषि विकास कार्यालयमा पनि यो वर्ष कृषकबाट भनेजस्तो माग नआएको कार्यालयले जनाएको छ ।

अलैँची पनि गोदाममै थन्कियो

गत वर्षको यही समयमा अलैँची व्यापारीका गोदाममा नयाँ अलैँचीका बोराले प्रवेश पाउँथे । तर अहिले पुरानै अलैँचीले गोदाम छाडेको छैन । क्रमशः घट्दै गएको भाउ बढ्छ कि भन्ने आशामा बिक्री नगरी राखिएको अलैँचीको कारोबार अहिले पूरै सुस्ताएको छ ।

प्रतिमन (४० किलो) को रु ८० हजारभन्दा बढी मूल्यमा खरिद गरेर राखिएको अलैँचीको भाउ क्रमशः घट्दै गएपछि कारोबार नै नभएको हो । अलैँची व्यवसायी बुद्ध दाहालले गत वर्ष ८० हजारदेखि एक लाख रुपैयाँसम्ममा किनेर राखिएको अलैँची अहिले पनि गोदाममै थन्किएको बताएका छन् । उनले भने, “बेचौँ ठूलो घाटा हुन्छ, राखौँ त गोदाममै ढुसी पलाएर कुहिने भयो ।” अलैँचीको मूल्य घटेपछि किसानमात्रै नभई कारोबारमा संलग्न व्यवसायीसमेत डुबेका छन् ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ओलाङ्चुङ्गोलाबाहेक सबै क्षेत्रको कूल चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ । प्रतिमन रु एक लाखको हाराहारीमा भाउ चल्दा यो जिल्लाबाट रु पाँच अर्बभन्दा बढीको अलैँची निर्यात भएको थियो ।

नेपाली अलैँचीको ट्रेडमार्क हुनुपर्यो  

खोल्सीको कालो सुन उपनामले चिनिने पहाडी क्षेत्रको मुख्य नगदे बाली अलैँचीको गुणस्तर वृद्धि गर्न र अन्तर्राष्ट्रियरुपमा बजारीकरण गर्न सरकारले प्रभावकारी कदम नउठाउँदा यस्तो समस्या आएको अगुवा कृषक तथा अलैँची व्यवसायी बताउँछन् ।

एकजना अगुवा कृषक उद्योगनाथ अधिकारीले सरकारी उदासीनताका कारण अलैँचीले बजार र मूल्य पाउन नसकेको बताए । यता अलैँची व्यवसायी संघका जिल्ला अध्यक्ष बालमणि बरालले भने, “सरकारले अलैँचीको गुणस्तर वृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारीकरणका लागि नीतिगतरुपमा काम गर्न सके राम्रो हुने थियो ।” उनले थपे, “नेपालको अलैँची राम्रो भए पनि विभिन्न मुलुक हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउँदा नक्कली वस्तुको मिसावट हुने गरेकाले यहाँको विश्वसनीयता घट्दै जाँदा समस्या भयो । यसका लागि नेपाली ट्रेडमार्कको आवश्यकता छ । यसमा राज्यले ध्यान दिनुपर्छ ।”

नेपालबाट छिमेकी मुलुक भारत साथै पाकिस्तान हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने अलैँचीमा नक्कली अलैँचीको मिसावट हुने गरेकाले नेपालको अलैँचीले बजार र मूल्य नपाएको यहाँका व्यवसायीको भनाइ रहेको छ ।

व्यवसायी आचारसंहिता निर्माण गर्दै

अलैँचीको उत्पादन र गुणस्तर वृद्धि गर्न पूर्वका अलैँची कृषक, व्यवसायी र सरोकारवाला संघसंस्थाबीच गम्भीर छलफल भएको छ । अलैँचीको बजार र मूल्य खस्कँदै गएपछि यसको गुणस्तर वृद्धि गर्न र बजारीकरणलाई सहज बनाउन आचारसंहिता बनाउने विषयमा उनीहरु बीच छलफल भएको हो ।

हालै सदरमुकाम फुङ्लिङमा अलैँची व्यवसायीले आचारसंहिता तयारी तथा कार्यान्वयन गोष्ठीको आयोजना गरी आचारसंहिताको नमूनासमेत तयार पारेका छन् । सो गोष्ठीमा सहभागी कृषक, व्यवसायी एवं सरकारी तथा गैरसरकारी संघसंस्थाबीच गम्भीर छलफल हुनाका साथै आचारसंहिताका लागि ५१ बुँदे आचारसंहिताको नमूनासमेत तयार गरिएको छ ।

कृषक, अलैँची व्यवसायी र सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुले आफूहरुले पालना गर्नुपर्ने नियम आफैँ तयार गरेका छन् । यो आचारसंहिताले अन्तिम रुप पाएको खण्डमा कृषकले अलैँचीखेती लगाउनुपूर्व माटोको परीक्षण, जमिनको उचाइ, मोहडा आदिको पहिचान गर्नुपर्ने भएको छ भने तयारी अलैँची वर्गीकरण गरी छुट्टाछुट्टै पोका बनाई बजार पु¥याउनु पर्ने छ । यसैगरी खेतीमा रासायनिक मलको प्रयोग गर्न नपाइनेलगायतका विषयलाई समेत यसमा समेटिएको छ ।

यता सरकारी निकायले भने अलैँचीको अन्तर्राष्ट्रिय बजारको खोजी र व्यवस्थापन गर्नुपर्ने छ भने अलैँचीसम्बन्धी नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्ने छ । यस्तै, व्यवसायीले उचित मूल्य निर्धारणमा बाह्य र आन्तरिक बजारको व्यवस्थापन गर्नुपर्ने, गुणस्तर खस्कन नदिन अलैँचीलाई सुख्खा ठाउँमा भण्डारण गर्नुपर्ने, डिजिटल तौल मापकसँगै ढक राख्नु पर्नेलगायतका नियम पालना गर्नुपर्ने छ ।

उक्त गोष्ठी अलैँची व्यवसायी संघ ताप्लेजुङले आयोजना गरेको हो । कृषि विकास मन्त्रालय, अन्तर्राष्ट्रिय श्रम संगठन र उन्नति परियोजनाको सहयोगमा अलैँचीको क्षेत्रमा यो संस्थाले काम गर्दै आएको छ । पछिल्लो समय अलैँचीको गुणस्तर एवं बजार र मूल्य खस्कँदै गएपछि यसलाई थप वृद्धि र विस्तारका लागि यस्तो आचारसंहिता बनाउन लागिएको अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले बताएका छन ।

तपाइँको प्रतिक्रिया ।