काठमाडौ क्षेत्र नं ४ मा डा.राजन भट्टराईको चर्चा
कपन अनलाइन
काठमाडौ,भाद्र २३ ।
नेपाल सरकारले केन्द्रिय तथा प्रादेशिक निर्वाचनको मिति घोषणा गरे पछी अहिले काठमाडौं क्षेत्र नं ४ मा पनि निर्वाचन केन्द्रित बहस सुरु भएको छ । प्रादेशिक संग संगै केन्द्रिय क्षेत्रमा उम्मेदवारीको विषय उठ्न थालेको छ । काठमाडौं क्षेत्र नं ४ रास्ट्रिय रुपमा चर्चित र महत्वपूर्ण निर्वाचन क्षेत्र रहेकोले पनि यहाँको चर्चा बढी हुनलाई स्वभाविक लिन सकिन्छ । वर्तमान राष्ट्रपती ,उप रास्ट्रपती र नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाको निर्वाचन क्षेत्र हुनका कारण पनि यो क्षेत्र सधै चर्चामा रहने गर्दछ ।
नेपाली कांग्रेस बाट सम्भवत गगन थापा नै उम्मेदवार रहने यस क्षेत्रमा नेकपा एमालेले कसलाई उम्मेदवार बनाउछ भन्ने चासो र चर्चा अहिले सर्वत्र देखिएको छ । २०७० को संविधानसभाको निर्वाचनमा एमालेको तर्फ बाट निर्मल कुइकेल उम्मेदवार बनेका थिए जो करिव १३ हजार मत अन्तरले थापा संग पराजित भएका थिए । अहिले यस क्षेत्रमा एमालेले केन्द्रिय सदस्य तथा सांसद डा . राजन भट्टराईलाई अगाडी सार्ने चर्चा चल्न थालेको छ ।
यस अनुमानका पछाडी केहि तथ्य र आधारहरु देखिएका छन । विज्ञ समुह बाट सांसद बनेका भट्टराईले आफ्नो सांसद विकास कोषको बजेट क्षेत्र नं ४ मा खर्च गरेका मात्र हैन उनले कार्यालय स्थापना गरेर यस क्षेत्रका गतिविधिमा समेत सहभागिता जनाई रहेका छन । यस क्षेत्रको हरेक विकास निर्माण र गतिविधिमा उनको सक्रिय उपस्थितिले पनि यस अनुमानलाई थप पुस्टी गर्दछ ।पछिल्लो समय एमाले काठमाडौं जिल्लाको अभियानको बुढानिलकण्ठ नगरपालिका संयोजनको जिम्मेवारी भट्टराईलाई दिईनुले पनि उनि यस क्षेत्र प्रति सकारात्मक रहेको विस्लेषण गर्न थालिएको छ ।
भारतको जवाहरलाल नेहरु विश्वविद्यालय बाट अन्तरास्ट्रिय सम्बन्धमा विधावारिधि गरेका भट्टराई नेपाल भारत प्रवुद्ध समुहका सदस्य पनि हुन् ।काठमाडौं क्षेत्र नं ४ मा सक्रिय बनेका भट्टराईले नचाहदा मात्र अन्य कुनै उम्मेदवार एमालेले खोज्ने एमाले ४ का एक नेताले बताए ।
काठमाडौं क्षेत्र नं ४ बाट निर्वाचन लड्ने तयारी गरिरहदा भट्टराईले अनुकुलता र प्रतिकुलता उत्तिकै सहनु पर्ने देखिन्छ । उनको यस क्षेत्रमा प्रतिकुलता भनेको उनका प्रतिस्पर्धी गगन थापा हुन् जसले यस अगाडिको निर्वाचनमा फराकिलो मतले जितेका थिए । दुइ प्रखर युवा विच हुने निर्वाचन रोमान्चक मात्र हैन प्रतिस्पर्धा पनि कडा हुने अनुमान गर्न सकिन्छ ।
डा .भट्टराईको अर्को प्रतिकुलता भनेको आन्तरिक व्यवस्थापन गर्ने रहेको छ किनकी पछिल्लो समय आन्तरिक विवाद यहाको स्थानीय पार्टी भित्र झाँगिएको प्रस्ट देख्न सकिछ । प्रादेशिक संसद्को टिकट वितरणमा यसले अर्थ राख्ने चर्चा एमाले वृतमा अहिले चल्न थालेको छ ।२ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा टिकट वितरण र व्यवस्थापनको चुनौती भट्टराईले सामना गर्नु पर्ने देखिन्छ ।
जसमा साविक कपन जसले स्थानीय तहको निर्वाचनमा करिव ५ हजार मत दिएको छ त्यसलाई सम्बोधन गर्नु पर्ने बाध्यता र विवसता उनको सामु देखिन्छ ।कपनका ३ वटा वडाको माग र अपेक्षालाई उचित सम्बोधन गर्नु पर्ने चुनौती उनको सामुन्ने छ।
डा .भट्टराईको सामु प्रतिकुलता मात्र हैन अनुकुलता पनि रहेका छन जसमा स्थानीय तहको निर्वाचनमा प्राप्त सफलता मुख्य रहेको छ । काठमाडौं क्षेत्र नं ४ मा करिव ८० प्रतिसत स्थानीय तह जितेको एमालेले यसलाई कत्तिको सदुपयोग गर्छ त्यसले यहाको परिणाममा प्रत्यक्ष असर पार्ने देखिन्छ । निर्वाचन पश्चात प्राप्त सफलताको उर्जालाई प्रयोग गर्न उनले देखाउने चातुर्य र नेतृत्व कलाले उनको आगामी यात्रा सहज वा जटिल के हुने त्यसको निर्धारण गर्ने देखिन्छ ।
उनको लागी अर्को अनुकुलता भनेको यस क्षेत्रमा नेतृत्व गरिरहेका पुराना र नया जनप्रतिनिधि तथा युवाहरुको समुह हो जसले स्थानीय निर्वाचनमा पनि राम्रो उपस्थिति जनाएका छन भने एमालेको आन्तरिक संगठनमा पनि प्रभावशाली स्थान बनाएका छन । यो युवा शक्तिलाई प्रयोग गर्दा भट्टराईलाई यहाको राजनीतिक यात्रा सहज हुने आकलन गर्न सकिन्छ ।
महानगर र नगर दुवै तर्फ निर्वाचन क्षेत्र रहेको क्षेत्र नं ४ मा यस पटकको निर्वाचन प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको अवस्थामा डा. राजन भट्टराईको उम्मेदवारी चर्चाले माहोल झन् तताउने देखिन्छ । नेपाली राजनीतिका दुई प्रभावशाली युवा विचको भिडन्तले यस पटक पनि काठमाडौं क्षेत्र नं ४ लाई राजनीतिक केन्द्रको आकर्षण बनाउनेमा कुनै दुइमत छैन ।