काठमाडौ महानगरको नगर सभामा जनप्रतिनिधि सम्मानित,को को छन वडा अध्यक्ष र सदस्यहरु ?
कपन अनलाइन
काठमाडौं, पुस १४।
काठमाडौ महानगरपालिकाको १६ औँ नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ । आज प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको १६ औँ अधिवेशनले उपप्रमुख एव वजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गर्नुभएको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो ।
यस्तै ३० औँ महानगर दिवस २०८१ का अवसरमा प्रदान गरिएको जनप्रतिनिधि सम्मान गरिएको थियो । यसअन्तर्गत स्थानीय सेवा गौरव पुरस्कारबाट वडा नं ४ का अध्यक्ष दिनेश महर्जन, वडा नं५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नं ६ का अध्यक्ष भवन लामा, वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नं १६ का वडा सदस्य पुष्प महर्जन, वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीलाई सम्मानित गरिएको थियो ।
यस्तै वडा नं ८ का सदस्य राज्यलक्ष्मी भुषाल, वडा नं १० का सदस्य सुनिता भित्रकोटी, वडा नं १७ का सदस्य कमला महर्जन र वडा नं ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरियो । वडा नं ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नं २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मानित गरिएको थियो ।