एमाले काठमाडौको संगठन सुदृढीकरण अभियान शुरु
काठमाडौँ, ३० साउन । नेकपा (एमाले), काठमाडौ जिल्ला संगठन कमिटीले आज देखी दुई महिने संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान २०७४ शुरु गरेको छ ।
प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्षित गरी शुरु गरिएको यो अभियान अन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम संचालन गरिने छ।
अभियानको शुभारम्भ गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई भीडमा आधारित होइन सुदृढ संगठनसहितको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेकामा जोड दिँदै विचारमा स्पष्टता र एकरुपता नभए संगठन सृदृढ नबन्ने बताए । पार्टीभित्र कुनै विषयमा चित्त नबुझेमा कुरा विधिपूर्वक राख्न र फाँटिएको विचार बोकेर नहिँड्न आग्रह गर्दै उनले संगठनात्मक अराजकताको सिलसिला चलेमा दुर्भाग्यपूर्ण हुने चेतावनी दिए । जिल्ला कमिटीलाई विधान बमोजिम अधिवेशन सम्पन्न गर्न निर्देशन दिँदै महासचिव पोखरेलले भने , “कमिटीभित्र नमिलेका जोड घटाउ र विवाद तत्काल विधि सम्मत रुपमा मिलाउनोस् ।”
एमाले प्रदेश नं ३ का सहसंयोजक काशीनाथ अधिकारीले स्थानीय निर्वाचनमा विजय हासिलसँगै पार्टीका लागि चुनौती खडा भएकाले त्यसलाई सामना गर्न अभियान सार्थक हुने अपेक्षा व्यक्त गरे ।
पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले सत्ता पक्षका पार्टी मिलेर लड्दा पनि स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेकाले राष्ट्रियता र समृद्धिसम्बन्धी पार्टीको नीति सही सावित भएको दाबी गरे ।
पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौ इञ्चार्ज सावित्रा भुषालले संघीय निर्वाचनमा पनि काठमाडौँमा १० वटै निर्वाचन क्षेत्र हुने सम्भावना रहेकाले ती सबै क्षेत्रमा स्थानीय तहमा प्राप्त मतलाई कायम राख्न संगठनलाई चुस्त र दुरुस्त बनाउन आवश्यक रहेको बताइन ।
एमाले प्रदेश नं ३ का सदस्य योगेन्द्र संग्रौलाले जिल्ला कमिटीले सुरु गरेको अभियानमा प्रदेश स्तरका नेता पनि परिचालित हुने जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा काठमाडौ जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा विजयी हासिल गरेपछि प्राप्त जनमतको संरक्षण गर्दै सगठित गर्न ,पार्टी, जन संगठनहरु बैधानिक ब्यवस्था अनुरुप नियमित क्रियासिल गराउन, दुई महिने अभियान आगामी असोज ७ गतेसम्म सञ्चालन गरिने जिल्ला संगठन कमिटीका अध्यक्ष कृष्ण राईले बताए । उनले पार्टीका कमिटीमा रहेका आन्तरिक तिक्ततालाई समाधान गर्दै निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई केन्द्रको निर्देशन अनुसार कारबाही र शुद्धीकरण गरिने पनि बताए ।
जिल्ला संगठन कमिटीका सचिव एवं काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचन घोषणापत्रमा उल्लेख भए अनुसार महानगरको विकास र समृद्धिमा आफूहरु योजनावद्ध रुपमा अघि बढेको उल्लेख गरे ।