वसुधैव कुटुम्बकम्(कविता )
कविता
भाइ भाइ फुटे जान्नु अर्कैले लाभ पाउँछ
पालो मिचेर अर्काले झन् प्रभाव जमाउँछ
कस्तो रावणको बुद्धि थियो
शक्ति र वैभव
धोका बेमेलले गर्दा निष्प्रभाव
भयो सब ।
पुज्यछन् राम सीताझैँ हनुमान र
लक्ष्मण
कसैले पनि श्रद्धाले पुज्दैनन् ती
विभीषण
उस्तै हो रामको भक्ति सहयोग
गरे पनि
सबैले भन्दछन् पापी देश द्रोह
गर्यो भनी ।
रूप क्षणिक हो राम्रो काम राम्रो
सधैँ भरी
राम्रो कर्म गरौं हामी नाम राख्न
सधैं भरी
देशभक्ति जसै राम्रो कर्म अर्को
कहाँ छ र
यस्तो कर्म गरौँ हामी प्रशंसा होस्
सबै तिर ।
इच्छा नेपाल आमाको पूरा गर्न
सबै जुटुन्
स्वाभिमान बचाएर काम गर्न सबै
उठुन्
सबैका आँतमा नौलो भलो
बिचार जन्मियोस्
चन्द्र सुर्य रहेसम्म मेरो नेपाल
चम्कियोस् ।
आँखाबाट निकालेर फाल्दिन्छ
जसले कस
कर्मले देवता बन्छ कर्मैले बन्छ
राक्षस
बनेका कर्मले कृष्ण श्रीराम बुद्ध
देवता
यस्तै दृष्टान्त भेटिन्छन्
पढेमा धर्मका कथा ।
मान्छे सधैं बनोस् मान्छे आफ्नो
कर्तव्यमा जुटोस्
आवाश्यक जहाँ हुन्छ सेवा गर्न
त्यहाँ उठोस्
आत्मा सम्मान होस् आफ्नो
सम्मान सबको गरोस्
सद्भावना , दया, माया, करुणा
मनमा भरोस् ।
प्रपन्नाचार्य झैँ ज्ञानी विवेकानन्द
झैँ यश
जङ्गली सिंह झैँ आओस् सबैमा
उच्च साहस
दाहिना हुन् सधैँ ब्रम्हा शिवशंकर
माधवम्
फैलियोस् देशमा सारा वसुधैव
कुटुम्बकम् ।
कवी : गणेश प्रसाद खतिवडा
दुधकौशिका गाउँपालिका वडा नं – ३, पञ्चन, सोलुखुम्बु