आदिनाथ मन्दिरको जीर्णोद्धार सुरु

आदिनाथ मन्दिरको जीर्णोद्धार सुरु

कपन अनलाइन 

काठमाडौँ, १६ असार । काठमाडौँको दक्षिण भेगस्थित चोभारको आदिनाथ मन्दिर जीर्णोद्धार सुरु गरिएको छ । विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि विधिविधानअनुसार आज तान्त्रिक पूजा गरी जीर्णाेद्धार सुरु गरिएको हो ।

मन्दिर जीर्णोद्धारका क्रममा कुनै पनि अनिष्ट नहोस् भनेर तान्त्रिक पूजा गरिएको हो । परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बन भएकाले आदिनाथ भनिएको हो । लिच्छविकालमा निर्मित सो मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्छन् । मन्दिरमा अवस्थित आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने परम्परा छ ।

मन्दिर जीर्णोद्धारका क्रममा मूर्तिलाई त्यहाँबाट निकालेर मन्दिर परिसरको अर्को सुरक्षित स्थानमा सारिएको छ । यसरी मूर्तिलाई मन्दिरबाट निकाल्दा तान्त्रिक विधिबाट क्षमा पूजा गरी स्थानीय देवदेवतासँग अनुमति माग्ने प्रचलन रहेको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो ।
उक्त मन्दिरमा असोज शुक्ल पूर्णिमा तथा चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुन्छन् । मन्दिरमा दर्शन गरेमा पारिवारिक सुखशान्ति कायम भई ठूला ठूला रोगव्याधिबाट मुक्त होइने विश्वास छ । रासस

तपाइँको प्रतिक्रिया ।