तथापि मैले नगरी हुँदैन। म टाकुरामा नचढी हुँदैन।।
(उपजाति/भुजंगप्रयात) -दिनेश पाण्डेय
गयो जवानी र बुढेस लाग्यो।
म भित्रको जोस र होस भाग्यो।
तथापि मैले नगरी हुँदैन।
म टाकुरामा नचढी हुँदैन।।१।।
०
तथापि मैले नगरी हुँदैन।
म टाकुरामा नचढी हुँदैन।
०
खाली भयो लौ अब दन्त पंक्ति।
फुलेर सेतै अझ केश झन् ती।
गले सबै अंग र ढंग मेरा।
भए खरानी सब रंग मेरा।।२।।
०
तथापि मैले नगरी हुँदैन।
म टाकुरामा नचढी हुँदैन।
०
खुम्चेर गाला पनि चाउरे-छु।
आफ्ना सबैमा म त झ्याउ -रे-छु।
आँखा दुबै छन् तर दृष्टि छैन।
ढाक्दोछ बादल् तर वृष्टि छैन।।३।।
०
तथापि मैले नगरी हुँदैन।
म टाकुरामा नचढी हुँदैन।
०
यी कान मेरा अब काम छैनन्।
यी हात खुट्टा भर क्यै दिँदैनन्।
फगत् सहारा छ लौरो र चस्मा।
हे राम ! यो मन् अब छैन वश् मा।।४।।
०
तथापि मैले नगरी हुँदैन।
म टाकुरामा नचढी हुँदैन।।
०
फुले केश मेरा गले पूर्ण दाँत ।
अझै मन् छ खाने नखा भन्छ आँत।
अहो कस्तो सम्बन्ध यो आँत-दाँत।
चपाउन्न दाँतै पचाउन्न आँत।।५।।
०
गल्यो देह मेरो ढल्यो दम्भ सारा।
हिँडौँ शक्ति नाईँ घरै लम्पसार।
रुँदै सम्झिरन्छु म आफ्नो जवानी।
सबै भैगए ती पुराना कहानी।।६।।