प्रजनन् स्वास्थ्य सेवाका रकम कटौती हुँदैनः महानिर्देशक माइस
कपन अनलाइन
काठमाडौँ, १३ जेठ । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले मातृ स्वास्थ्य, यौन तथा प्रजनन् स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घलाई प्रदान गरिँदै आएको आर्थिक एवम् प्राविधिक सहयोगमा कुनै कटौती नहुने जानकारी गराएको छ । अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, नर्वे, फिनल्याण्ड जस्ता प्रमुख देशले महासङ्घमार्फत् नै सङ्घलाई सो क्षेत्रमा विगत छ दशकदेखि आर्थिक एवम् प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् ।
अमेरिकाले अमेरिकी सहयोग नियोग (युएसआइडी) मार्फत् सन् २०१९ सम्म महासङ्घमार्फत नै सङ्घलाई रु ५५ करोड र अन्य देशले २० करोड भन्दा माथि सहयोग गर्ने प्रतिबद्धता जनाएको थिए । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएपछि विशेष गरी गर्भपतन सेवामा अमेरिकाले विकासशील देशलाई प्रदान गर्दै आएको आर्थिक एवम् प्राविधिक सहयोग कटौती गर्ने घोषणा पछि सर्वत्र चासो र चिन्ताको विषय रहेको थियो । तर अमेरिकाले आफूले दिने भनेको रकममा कुनै कटौती नहुने जानकारी महासङ्घलाई दिँदै कामलाई निरन्तरता दिन जानकारी महासङ्घलाई दिएको छ ।
नेपालको पाँचदिने भ्रमणमा रहनुभएका महासङ्घका महानिर्देशक टेबड्रोस माइसले सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै सङ्घद्वारा सञ्चालित यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रममा आर्थिक अभाव नहुने जानकारी दिनुभयो । सन् २०११ मा उहाँले महानिर्देशकको पद सम्हालेपछि पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो ।
विश्वका १७२ देश सदस्य रहेको महासङ्घमा नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा अस्थायी सदस्यता र सन् १९६९मा पूर्णकालीन सदस्या प्राप्त गरेको थियो । नेपाल सरकारको आर्थिक सहयोग बिना नै सङ्घले महासङ्को आर्थिक सहयोगमा परिवार नियोजन तथा मातृ स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य सेवा विभिन्न ४० जिल्लामा प्रदान गरिरहेको छ । हालसम्म यस्ता सेवा प्राप्त गर्नेको सङ्ख्य लाखौँ रहेको सङ्घले दाबी गरेको छ ।
सङ्घको अहिले सो क्षेत्रमा वार्षिक रुपमा रु ५० करोड बजेट रहेको छ । महासङ्का महानिर्देशक माइसले गरिब, सीमान्तकृत, सामाजिक रुपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट विमुख वर्गमा परिवार नियोजन तथा यौन तथा प्रजनन सेवाको पहुँच बढाउन महासङ्ले आगामी दिनमा नेपालमा थप लगानी गर्ने जानकारी पत्रकार सम्मेलनमा दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल परिवार नियोजन सङ्घले खासगरी दुर्गम क्षेत्र गरिब, सीमान्तकृत, सामाजिक रुपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट विमुख वर्गमा परिवार नियोजन तथा यौन तथा प्रजनन सेवा उत्कृष्ट रहेको छ । हामी अगामी दिनमा यस्ता सेवालाई अझ गुणस्तरीय बनाउन चाहन्छौँ ।”
यसैबीच स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र महानिर्देशक माइसकाबीच आज नै भेटघाट भएको छ । सो अवसरमा उहाँहरुका बीचमा अगामी दिनमा परिवानर नियोजन र प्रजनन् स्वास्थ्यका गर्ने कामका बारेमा कुराकानी भएको थियो ।
महानिर्देशक माइस र सङ्घका अध्यक्ष अमुसिह सिजापति, कार्यकारी निर्देशक उमेशराज पाण्डे र महासङ्घका कार्यक्रम निर्देशक जगदीश्वर घिमिरेका बीचमा पनि सङ्घका गतिविधि र कार्यक्रमका बारेमा कुराकानी भएको थियो । महानिर्देशक माइसले नेपाल परिवार नियोजन सङ्घले गरेका कामअन्तर्गत काभ्रे र भक्तपुरमा स्थलगत अवलोकन गर्ने र सङ्घको ३९ आँै केन्द्रीय सभामा उपस्थित हुने कार्यक्रम रहेको छ ।
पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष अमुसिंह सिजापतिले परिवर्तित अवस्थामा सङ्घको कार्यक्षेत्रमा व्यापक परिवर्तन गरिने जानकारी दिनुभयो । उहाँले सङ्घलाई कम्पनी ऐनमा दर्ता गरी आफ्नो सेवालाई पालिक्लिनिक मार्फत प्रदान गरिने वताउनुभयो । यसका लागि सङ्घको ३९ औँ केन्द्रीयसभा भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ । रासस