ह्यान्डबल मैदानको विशाल सभाले राजु श्रेष्ठको विजय उद्घोष गर्याे
कपन अनलाइन, काठमाडाैँ । स्थानीय तह निर्वाचनअन्तर्गत वुढानिलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले आयोजना गरेको विशाल आमसभाले मेयर उम्मेदवार राजु श्रेष्ठको विजय उद्घोष गरेको छ । वुनपा १० को ह्यान्डबल मैदानमा भएको अन्तिम सभामा बोल्दै मेयर पदका उम्मेदवार राजु श्रेष्ठले आफ्नो उम्मेदवारी र वुनपाका लागि अाफ्ना प्रतिबद्धता जानकारी गराए ।
मेयर उम्मेदवरा नेता श्रेष्ठले वुनपामा मेयर बनेपछि तलब भत्ताबिना काम गर्ने तथा धार्मिक पर्यटन र जेष्ठ नागरिकलाई ३ वटा डेकेयर वृद्धाश्रम बनाउनजस्ता विकासवादी खाका पस्किएका थिए । आफ्नो २५ मिनेट लामो भाषणमा उनले आफूले जितेपछि विकासका लागि काम गर्ने बताए । उनले भाषणमा नगरपालिकाको मानविय विकास, प्रशासनिक विकास तथा आर्थिक विकासका कुरा गरे । त्यसैगरी महिला, युवा तथा बालबालिकाका लागि गर्ने कामहरु पनि बताए ।
राजनीतिक जीवनमा आफूले माओवादीबाट पाएको दुःखको बारेमा समेत भावुक तरिकाले बताएका श्रेष्ठले आफ्नो भाषणमा कसैलाई गाली गर्ने काम गरेनन् । उनले आफ्ना कुरा मात्र बताए । राजु श्रेष्ठको भाषणलाई सबैले रुचाएका थिए । राजुको २५ मिनेट लामो भाषणको बीचमा लामो लामो ताली बजेको थियो भने स्वस्फूर्त बिजयको नारा लागेको थियो ।
अन्तिम चुनावी सभामा विशिष्ट अतिथिका रुपमा स्वास्थ्य मन्त्रीसमेत रहेका क्षेत्र नं. ४ का सांसद गगन थापाले नेपाली कांग्रेसलाई वर्तमान अवस्थाबाट माथि उठ्ने विशेष सम्बोधन गरे । थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्ण काम गरिरहेकेो बताए । उनले यो देशमा कांग्रेसले जिम्मवारी लिँदै अझ गम्भीर भएर देशलाई समृद्धिको बाटोमा लैजाने काम नेपाली कांग्रेसले नै गर्नु पर्ने अभिभारा भएकोले स्थानीय तहको विकासका लागि नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने बताए ।
मन्त्री थापासँगै सांसद रामहरि खतिवडालगायतका वत्ताले सभालाई सम्बोधन गरेका थिए । कार्यक्रममा नेका सभापति शेरबहादुर देउवा प्रमुख अतिथिकोरुपमा उपस्थित भएका थिए । यो सभाले वुनपामा नेपाली कांग्रेसको जीतलाई झन् प्रभावकारी बनाएको बताइन्छ ।