आक्रामक चुनावी अभियानमा उद्धव खरेल
कपन अनलाइन
वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाबाट नेकपा (एमाले)का तर्फबाट उम्मेदवार रहेका उद्धव खरेलले आक्रामक चुनावी अभियानलाई निरन्तरता दिइरहेका छन् ।
अन्य पार्टीका उम्मेदवारभन्दा फरक चुनावी अभियान सञ्चालन गरिरहेका बौद्धिक नेताका रुपमा चिनिने उद्धव खरेललाई बुढानिलकण्ठ नगरपालिकामा जित नजिक रहेको उम्मेदवारका रुपमा लिइएको छ ।
उनले देशकै ठूलो नगरपालिकामा रहेका १३ वटै वडामा पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिसकेका छन् । घर दैलो अभियानका क्रममा खरेललाई जनताले स्वागत गर्दै र माला अबिर लगाइदिएर जितका लागि शुभकामना दिइरहेका छन् ।
२०५४ सालको स्थानीय तहको निर्वाचनमा समेत जित हासिल गरेर जनताको मन जितिसकेका खरेलसँग स्थानीय निकायको नेतृत्व गरिसकेको अनुभव रहेको छ । साहित्यिक छविसमेत रहेका खरेलले अन्य उम्मेदवारले भन्दा मौलिक शैलीको चुनावी अभियान सञ्चालन गर्नुले पनि उनी बुढानिलकण्ठमा मेयर पदमा जित निकाल्न सक्ने उम्मेदवारका रुपमा लिइएको हो ।
शिक्षा संकायमा स्नातकोत्तर र कानून विषयमा स्नातक गरेका खरेले आफ्ना प्रत्येक निर्वाचनसम्बन्धी गतिविधिलाई सामाजिक संजाल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिरहेका छन् । उनले प्रत्येक दिन आफ्नो फेसबुक पेजमार्फत साँझ ९ बजे जनतासँग साक्षात्कार गरिरहेको देखिन्छ ।
मतदाताले बोलाएको बेला समयमा नै पुग्ने स्वभावका कारणपनि उनको लोकप्रियता बुढानिलकण्ठमा जित नजिक रहेको छ भन्नेहरुको संख्यामा दिनप्रति दिन बढिरहेको छ । हँसिलो स्वभाव र आफ्ना विचार प्रस्टसँग राख्नसक्ने खरेलले चुनावी अभियानमा पनि बुढानिलकण्ठका मतदाताको धेरै राम्रो प्रशंसा बटुलिरहेका छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिएका खरेल २०३७ सालबाट हालसम्म निरन्तर रुपमा नेकपा (एमाले)को विभिन्न कमिटिमा सक्रिय भूमिका निभाउँदै आएका छन् ।
हाल एमालेका प्रदेश कमिटि सदस्य रहेका खरेलको निष्ठाको राजनीति, उदारता, सक्रिय भूमिकाका कारण एमालेले उनलाई जहिले पनि पार्टीको अत्यावश्यक र महत्वपूर्ण गतिविधिमा नेतृत्व गर्नका लागि जिम्मेवारी दिदैं आएको छ । नेकपा एमालेको राष्ट्रिय राजनीतिमा रहेको प्रभाव र एमालेले लिएको लिएको सही नीतिका साथै देशैभरी विद्यमान रहेको माहौल आफ्नो जितको आधार रहेको बताउने खरेलले स्थानीय निकायमा जनताले गरेको विश्वास पनि आफ्नो जितको आधार रहेको बताउँदै आएका छन् ।
लामो समयसम्म राजनीतिमा होमिएपनि खरेलमाथि कुनै दाग लागेको छैन । उनले जहिले पनि निष्ठाको राजनीतिलाई अंगिकार गरेका छन् । उनी पारदर्शी, नैतिकवान र प्रस्ट विचार राख्ने व्यक्ति भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । उनको विचार, निष्ठा, पारदर्शीता र स्थानीय निकायको अनुभवले बुढानिलकण्ठमा मेयर पदमा उनको जित निश्चित रहेको छ भन्ने जमात पनि ठूलै रहेको छ । खरेलको टिममा रहेकी उप मेयर पदकी उम्मेदवार रमा राई लगायत सबै वडामा छानिएका उम्मेदवारपनि उनको जितको आधार रहेको भन्नेहरु पनि भेटिने गरेका छन् ।