चोरी भएका ५० ओटा सवारी साधन (मोटरसाइकल र स्कुटर) धनीलाई हस्तान्तरण
कपन अनलाइन
काठमाडौं भदौ ३०।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (मंगलबार) सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले २८ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका छन ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमवाट आएका सुचनाका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित नयाँबसपार्क, टोखा, गंगाहिटी, बालाजु, बाफल, कपन, गोकर्ण, साँखु, मुलपानी, टिकाथली, लोलाङ, बोहोराटार, नेपालटार र नयाँबस्ती लगाएतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ५० ओटा सहित साउन महिनामा १४६ ओटा सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ ।
चोरीका १२ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २१ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
