कपनमा नेपाली कांग्रेसको चुनाव प्रचारप्रसार तीब्र
कपन अनलाइन, काठमाडौँ । वुनपाको वडा नं. १०, ११ र १२ मा समेटिएको कपनमा नेपाली कांग्रेसले तीब्ररूपमा वडा प्रचारप्रसार समिति बनाएको छ । क्षेत्रीय चुनाव प्रचारप्रसार समितिले बनाएको वडा समितिले उम्मेदवारको पक्ष जनलहर उत्पन्न गराउने छ । क्षेत्रीय चुनाव प्रचारप्रसार समितिका संयोजक कर्माछिरिङ शेर्पाका अनुसार अहिलेको युगसापेक्ष चुनावी माहौल तयारका लागि विशेष तयारी गरेर प्रचारप्रसार समितिहरु गठन गरिएको छ । चुनाव प्रचारप्रसार समितिले बुथ तथा ब्लक गरी बिभिन्न साना साना इकाई पनि गठन गरी टोलटोलमा प्रचारपसाारका इकाई पुर्याएको संयोजक शेर्पाले बताए ।
कपनका ३ वटा वडाहरुमा हरेक वडामा २०१ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । उम्मेदवार अझै निश्चित नभए पनि चुनावी वातारवण बनोस् भनेर चाँडैनै प्रचारप्रसार समिति निर्माण गरेर अगाडि बढ्ने प्रयास गरिएको वडा नं. १२ का नेका सभापति होमनाथ तिमिल्सिनाले बताए । वडा नं. १२ ले हिजो २०१ सदस्यीय प्रचार प्रसार समिति बनाएको छ । सो समितिलाई पार्टी इकाईका उपसभापति सुनित चालिसेले संयोजन गर्नेछन् । वडा नागरीक मञ्चका संयोजकसमेत रहेका सुनित चालिसेले वडा नं. १२ को हरेक घरघरमा उम्मेदवार र प्रचार सामाग्री पुर्याउने तथा अन्य बिभिन्न प्रचारमूलक कामको थालनी भैसकेको बताएका छन् । यस वडामा आधादर्जनले वडाध्यक्ष पदका आकांक्षा राखे पनि इकाई सभापति होमनाथ तिमिल्सिना वडाध्यक्षको उम्मेदवार हुने लगभग पक्का मानिएको छ । यस वडामा माओवादी केन्द्रले माधव भट्टराई र एमालेले शम्भु भट्टराइलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।
यसैगरी कपनभित्र पर्ने वडा नं. १० मा पनि नेपाली कांग्रेसको प्रचारप्रसार समिति बनेको छ । २०१ सदस्यीय प्रचारप्रसार समितिको संयोजकमा रत्नाकर ज्ञवाली रहेका छन् । बुनपाकै जनसख्याका आधारमा सबैभन्दा ठूलो वडा भएकाले वडा नं. १२ को प्रचारप्रसारलाई मजबुत बनाउन हरेक किसिमको तयारी भएको ज्ञवालीले बताए । यस वडामा इकाई सभापति श्याम डोटेल, क्षेत्रीय सदस्य रामप्रसाद लुइँटेल, पूर्व इकाई संयोजक नारदमणिघिमिरेलगायत आधा दर्जनले वडाध्यक्ष पदका आकांक्षी रहेका छन् । यस वडामा एमालले नवराज भट्टराइलाई उम्मेदवार बनाउने सर्वसम्मत गरिसकेको छ ।
साविक वुनपाको ३ वटा वडा मिलेर बनेको वडा नं. ११ मा पनि नेपाली कांग्रेसले २०१ सदस्यीय प्रचारप्रसार समिति बनेको छ । वडा नं. ११ मा पूराना नेता शशिप्रसाद शर्माको संयोजकत्वमा बनेको प्रचारप्रसार समितिले वडाभित्र प्रचारप्रसार तीव्र पारेको संयोजक शर्माले कपन अनलाइनलाई बताएका छन् । यस वडामा अच्युत पौडेल, राजेन्द्र अधिकारी, राधेश्याम कार्की, सन्तोष भण्डारी, दिलिप खत्रीले वडाध्यक्ष पदका लागि दावी गरेका छन् । यस वडामा एमालले राजु अधिकारी र माओवादी केन्द्रले सम्पत तिमल्सिनालाई उम्मेदवार बनाउने निश्चित भैसकेको छ ।
नेपाली कांग्रेसले वुनपाको मेयर पदका लागि क्षेत्रीय सभापति राजु श्रेष्ठलाई उम्मेदवार बनाउने लगभग पक्का रहेको छ । त्यसैगरी उपमेयरका लागि सुभद्रा खड्का, कृष्णकुमारी बस्नेत, मिना पराजुली, पवित्रा पोखरेल, रिता बुढाथोकी र कल्पना मल्ल ठकुरीको चर्चा रहेको छ । नेकपा एमालेबाट वुनपा मेयरका लागि कुसुम कार्की, जयराम थापा, बालकृष्ण श्रेष्ठ र उद्धव खरेलमध्ये एकलाई उम्मेदवार बनाउने तयारीमा रहेको छ भने उपमेयरमा देवी रेग्मी, रमा राई, सुशीला सिलवाल र विन्दा गौतममध्ये एकले टिकट पाउने भएका छन् । वुनपा माओवादी केन्द्रले रविन अधिकारीलाई मेयर र हेमा अधिकारीलाई उपमेयरमा उठाउने निर्णय गरिसकेको छ ।