नवराज भट्टराइलाई परदेशबाट साथीको चिठी

कपन अनलाइन, काठमाडौँ/दृष्टिकोण

प्रिय साथी नवराज, धेरै धेरै सम्झना !

कुशल रही कुशलताको कामना गर्दछु । परिवारमा पनि सवै आराम नै हुनुहोला भन्ने आशा गरेको छु।

साथी, तिमी पनि यस पटकको स्थानीय चुनावमा हाम्रो वडा बाट अध्यक्ष पदका लागि उठेको कुरा सामाजिक संजालमार्फत थाहा पाएँ । असाध्यै खुशी लागेको छ । तिमीजस्तो मान्छे राजनीतिक नेतृत्वमा आउन खोज्दा धेरै युवाहरुमा एउटा सपना मौलाएको छ, व्यक्तिगत रुपमा मैले साँच्चिकै परिवर्तनको महशुस गरेको छु ।

 

अनि,  धन्न तिम्रो पार्टीले तिमीलाई टिकट दिएर सहि निर्णय गरेछ । नत्र त सबै पार्टीमा राम्रालाई भन्दा हाम्रालाई नै टिकट दिने चलन छ क्यारे । फेरी सबै पार्टीमा कपाल पाक्नु र दारी फुल्नुलाई नै उम्मेदवार छनोटको पहिलो आधार मानिन्छ क्यारे । क्षमता, योगदान र चरित्रलाई धोतिलाई दिने चलन छ क्यारे । खैर जे होस् टिकट पाएछौ, अब जित्नु पर्छ, याद गर तिमीलाई समयले दोश्रो/तेश्रो हुने छुट दिएको छैन ।

 

नवराज, म तिम्रो साथी भएकोले मात्रै यो कुरा भनिरहेको छैन ।  तिम्रो जितको कामना यस कारण गरिरहेको छु कि, अब आउने दिनहरुमा तिमीजस्तो युवाले नै मेरो देश, मेरो नगर, मेरो गाउँ अनि मेरो टोल हाँक्नु पर्छ । विकासको नेतृत्व लिनु पर्छ । हामीले किनारामा बसेर फोहर राजनीति भनेर नेताहरुलाई गाली गरिरहँदा तिमी जस्तो युवाहरु त्यो फोहर सफा गर्न र नेतृत्व सम्हाल्न राजनीतिमा हेलिनु पर्छ । बिकास भएन, भ्रष्टाचार भयो भन्दै गर्दा तिमी जस्ता इमान्दार युवाहरु निर्णायक तहमा पुग्नु पर्छ । अनि मात्रै यो देश, नगर, गाउँ र टोलले काँचुली फेर्ने छ। मैले तिमीबाट त्यहि आशा गर्ने हो ।

 

तर खवरदार, फोहर सफा गर्दागर्दै तिमी आफै त्यो आहालमा कहिल्यै नडुब्नु ।  भ्रष्टचारीका अगाडि कहिले नडग्नु । तिमीले पनि थुप्रै अग्नी परिक्षा दिने दिन आउँदै छ। बरु तिमीले नम्बरी सुन आगोमा खारिएर अझै चम्किए जस्तै चम्किन कोशिस गर्नुपर्छ ।

 

सबै राजनैतिक पार्टीको आआफ्नै विचार तथा सिधान्त हुन्छन । कसैको विचार गलत जस्तो लाग्दैन, घोषणापत्रमा जनताको कुभलो हुने कसैले लेखेको थाहा पाएको छैन तर मेरो देश यस्तो देश हो जहाँ धेरै चोटी व्यवस्था परिवर्तन भएर पनि जनताको अवस्था परिवर्तन नभएको मुलुक हो । जुनसुकै तन्त्रले पनि परिवर्तनको अनुभूति जनताले गर्न नपाएको देश हो नेपाल । सबै पार्टीले सत्ता चलाएर परीक्षण भैसकेको मुलुक हो नेपाल  । तर विकास, शुसासनको अनुभूति हामीले गर्न कहिलयै पाएनौ भन्दा धेरै हुदैन । यी राजनैतिक दलले कस्तो काम गरे भनेर जनताले हिसाब राखेकै होलान् अनि तेस्को सजाय वा पुरस्कार के पाए भन्ने दिन अब आउने चुनावको नतिजाले देखाई हाल्ला ।

 

त्यो समय अब धेरै टाढा रहेन। तर याद गर साथी कुनै व्यक्तिको इच्छा शक्तिले मात्रै पनि धेरै थोक गर्न सकिन्छ भन्ने कुरा कहिले नभुल्नु । किनकी बिपी कोइराला, गणेशमान सिंह त्यस्तै मनमोहन अधिकारी र मदन भण्डारी पनि व्यक्ति थिए। धेरै अगाडी पुग्नु पर्दैन लालबाबु पण्डित मन्त्रि भएको धेरै भाको छैन अनि अहिलेनै पनि जनार्दन शर्मा अनि गगन थापा लाई हेरे पुग्छ । यिनै ब्यक्तिको इच्छाशक्तिले मात्रै पनि जनतामा केहि न केहि आशा जगाएकै छ । यी असामान्य इच्छा शक्ति भएका सामान्य मानिस नै हुन् । साथी तिम्रो लागी पार्टी भनेको साधन हुनु पर्छ साध्य होइन, अनि बाटो हुनु पर्छ लक्ष होइन । साध्य त जनता हुन्, साध्य त देश हो अनि तिमीले टेकेको माटो हो र हुनुपर्छ ।

 

किनकि मतपेटिकामा मतपत्र संगै थुप्रै आमाहरुले आफ्नो आशिर्वाद खसाएकी हुन्छिन् ।  थुप्रै बुबाहरुले आफ्नो भरोसा खसाएका हुन्छन, थुप्रै दिदी बहिनीहरुले आफ्नो गुनासो खसाएका हुन्छन अनि थुप्रै दाजु भाहरुले आफ्नो हौसला खसाएको हुन्छन् । अनि मजस्तो थुप्रै साथीहरुले तिम्रो नाममा आफ्नो बिश्वास खसाएको हुन्छन् ।

 

हो , त्यो आशिर्वादको तिमीले लाज राख्नु !  बुवाको भरोसालाई भर दिनु, दिदीबहिनीको को गुनासोको सुनुवाई गर्नु ।  दाजु भाइको हौसलालाई बुलन्द राख्नु अनि हजारौ साथीहरुको बिश्वासलाई कायम राख्नु । त्यति गर्न सक्यौ भने गणितीय जोड घटाउमा परिणाम जे आए पनि त्यो तिम्रो लागी गौण बन्नेछ । तिमीले मानिसको मन जित्ने छौ र जित्नु पर्छ । तिम्रो जितको अग्रिम बधाईसहित हार्दिक शुभकामना ।

 

उही तिम्रो साथी

रबिन लामा,

हाल साउदी

तपाइँको प्रतिक्रिया ।