टोलटोल, घरघरमा पुग्न थाले रविन अधिकारी

कपन अनलाइन, काठमाडौँ/बुनपा स्थानीय चुनाव विश्लेषण

स्थानीय निकाय चुनावको महत्व व्यक्ति व्यक्तित्व तथा लोकप्रियताका आधारमा बढि हुने गर्दछ । पार्टीको झण्डाभन्दा वा चुनाव चिन्हभन्दा उसको छवि तथा यजेन्डा बिक्ने स्थानीय निकाय चुनावमा बुनपाभित्र व्यक्ति बिक्ने पात्रको रेसमा सबैभन्दा अगाडि रविन अधिकारी छन् । नगर सहजीकरण समितिमा बसेर विकास निर्माणका क्षेत्रमा प्रभावकारी काम गरेको क्रेजले रविन अधिकारी यतिखेर बुनपाभरी सबैका प्रिय व्यक्ति बनेका छन् ।

 

विशेषगरेर युवाहरुमाझ रविनको क्रेज अपत्यारिलोरुपमा बढेको छ । सामाजिक संजालमा बुनपाका अरु सबै नेताहरुभन्दा उनको समाचार वा उनीसँग सम्बन्धित विषय बिक्छ । माओवादी केन्द्रका बुनपा संयोजक तथा मेयर पदका उम्मेदवार रविन अधिकारीको व्यक्तित्वलाई सो पार्टीले चुनावी माहौल प्रदान गर्न सक्यो भने चुनावी नतिजा नै हेरफेर हुने आंकलन चौतर्फि हुन थालेको छ ।

 
पछिल्ला समयमा रविन अधिकारीको पार्टी आफैमा भने बुनपामा प्रभावकारी बन्न सकेको छैन । रविन अधिकारीको क्रेजलाई पार्टीले सम्पत्तिको रुपमा लिन सकेको पनि देखिएको छैन । बुढानिलकण्ठ नगरपालिकामा विकासका महत्वपूर्ण खाकासहित हिँडेका रविन अधिकारीलाई जनताले दिनसक्ने साथलाई चुनावी मतपत्रसम्म कसरी पुर्याउने विषयमा अझै माओवादी केन्द्र गम्भीर बनेको पनि देखिएको छैन ।

 

युवाहरुको क्रेज तथा जनभावनालाई मतपत्रमा नल्याई चुनाव जित्न सकिने अबस्था नभएका कारण माओवादी केन्द्रको चुनावी रणनीति कति परिस्कृत होला भन्ने विषय एकातिर छ भने अर्काेतिर राष्ट्रिय राजनीतिमै डिफेन्सिब अबस्थामा पुगेको पार्टीलाई बुनपामा स्थापित गराउने एक अबसर गुमाउला की भन्ने डर पनि साथमै छ ।

 
यतिखेर रविन अधिकारी बुनपाको गाउँगाउँ, टोलटोलमात्र हैन घरघरमा पुग्दै छन् । उनी बुनपा विकासका कुरा १०-२० जनाको भीडमा सुनाउने हैन घरघरमा सबैले बुझ्ने गरी बुझाउनु पर्ने धारणा राख्दछन् । उनी भन्छन्, “पर पार्टीको केही व्यक्तिका झुण्डमा सुनाउने कुरा आफै प्रचार सामग्री त बन्ला तर भोट पाउन आधारचाहिँ बन्दैन । त्यसैले म आफू र आफ्नो पार्टीको विकासको यजेन्डा घरघरमा आफैले पुर्याउन चाहन्छु ।”

 
चुनाव आउन एक महिनाको हाराहारी मात्र बाँकी रहेको अवस्थामा बुनपा १० को बालुवाखानी क्षेत्रमा भेटघाटमा व्यस्त भेटिए रविन अधिकारी । रविन अधिकारी घरका महिला र बृद्धहरुलाई विकास भनेको के हो बुझाउन जरुरी रहेको बताउँछन् । “विकास भन्ने विषय अझै पनि सोखको कुरा भन्ने हाम्रो समाजको धारणा रहेकोले विकास भनेको आवश्यक्ता हो भन्ने कुरा बुझाउन जरुरी छ”, दार्शनिक रुपमा प्रस्तुत भए रविन । बाटो घाटो, ढल, पानीमै विकासको अवधारणालाई सिमित गराइने अबुझ परिपाटीलाई अन्त्य गर्नु पर्ने परिस्कृत धारणा राख्छन् उनी ।

 
“विकास भनेको अब फराकिलो कुरा हो । यसले मानव जीवनसँग छुने हरेक अबयवसँग सम्बन्धित हुनुपर्दछ ।” अर्काे सचेत विषय उठाए रविनले । उनी यस्ता कुरा घरघरमा रहेका गृहणी र आमाबुबासम्म पुग्नुमात्र हैन बुझाउनु आवश्यक मान्दछन् ।

 
दिनदिनै परिस्कृत नेताको रुपमा विकसित भएका रविनको विकासवादी सोचले नै उनी अब्बल बनेका हुन् । चुनावमा प्रयोग हुने प्रचारात्मक स्वरुप तथा जमघटलाई रविनले कसरी प्रभावकारी बनाउँछन् भन्ने विषय हेर्न बाँकी छ । नेका र एमालेभित्रको आन्तरिक चुनावी जोड घटाउबाट आउने आपसी वैमनस्यता र असन्तुष्टिलाई रविनले कसरी ह्यान्डल गर्छन् यसले पनि चुनावी गणितलाई प्रभाव पार्दछ । यसको साथै उपमेयर, वडाध्यक्ष र वडासदस्यको चयन र उनीहरुसँगको सहकार्यले पनि रविनको भविष्यलाई निर्धारित गर्नेछ ।

तपाइँको प्रतिक्रिया ।