महानगरका १,७,८ र ३० वडामा नेकाबाट इकाई सभापतिहरू वडाध्यक्षको दौडमा
कपन अनलाइन, काठमाडौँ । देशकै राजधानी रहेको काठमाडौँ महानगरपालिकामा स्थानीय निकायको चुनावी माहौल तात्ने क्रममा छ । बिभिन्न पार्टीका आकांक्षीहरू टिकट पाउने कसरतमा लागेका छन् । मेयर पदका लागि देशकै ठूला नेताहरूदेखि टोले नेताहरूसम्मका नाम आईरहेका छन् । त्यसैगरी महानगरका ३५ वटा वडाहरूमा वडाध्यक्ष पदका लागि पनि बिभिन्न दलकास्थानीय नेताहरूले आफ्ने आकांक्षा प्रस्तुत गर्न थालेका छन् ।
काठमाडौँ क्षेत्र नं ४ मा रहेको महानगरका ४ वटा वडामा पनि चुनावी वातावरण बनिरहेको छ । पार्टीहरू आन्तरिक रूपमा चुनावी रणनितिमा व्यसत छन् । क्षेत्र नं ४ का ४ वटा वडाहरूमा नेपाली कांग्रेसबाट इकाई सभापतिहरू टिकटको दौडमा अग्रस्थानमा रहेका छन् ।
महानगर वडा नं १ मा इकाई सभापति भोला थापालाई नै सम्भावित वडाध्यक्ष उम्मेदवार मानिएको छ । २० वर्ष अगाडिका चुनावमा राप्रपाले नतिजा ल्याउने गरेको यस वडामा पछिल्ला समय नेकाको राम्रो पकड रहेको बताइन्छ । थापाको अलावा अरू नाम चर्चामा रहेको छैन ।
त्यसैगरी महानगरमा ठूलो मतदाता बोकेको वडा नं ७ पनि इकाई सभापति प्रवेश लामिछानेको वडाध्यक्षको दौडमा रहेको बताइन्छ । लामिछानेका साथै क्षेत्रीय सदस्य रमेश महर्जन तथा विमल होडाको नाम पनि सम्भावित वडाध्यक्ष उ्म्मेदवारको दौडमा रहेको बताइन्छ ।
त्यसैगरी प्रशिद्ध पाशुपत क्षेत्र रहेको वडा नं ८ मा इकाई सभापति आशामान संगतलाई संभावित वडाध्यक्ष उम्मेदवारको रूपमा हेरिएको छ । संगत उम्मेदवार बने भने सम्भावित विजेता बन्न सक्ने समेत बताइन्छ भने यो वडाबाट दिनेश डंगोलले पनि वडाध्यक्ष पदका लागि आकांक्षा राखेको बताइन्छ ।
हाल मन्त्रीसमेत रहेका सांसद गगन थापाको निवास रहेको वडा नं ३०(पहिला ३३) मा वडा सभापति तथा पूराना नेता दलबहादुर कार्कीलाई नै सम्भावित वडाध्यक्ष उम्मेदवारको रूपमा हेरिएको छ । यो वडामा कार्कीबाहेक तरूण दलका क्षेत्रीय अध्यक्ष अनुप प्रधानले पनि वडाध्यक्ष पदमा आकांक्षा राखेको बताइन्छ । नेपाली कांग्रेसमा वडाध्यक्ष पदको टिकट क्षेत्रीयस्तरबाट बाँडिने मापदण्ड बनाइएको छ ।