स्थानीय तह प्रभावकारी बनाउन अन्तरक्रिया

कपन अनलाइन 
धुलिखेल, ३ चैत । स्थानीय निकाय भङ्ग भई स्थानीय तह कार्यान्वयनमा आएसँगै यसलाई कसरी प्रभावकारी बनाउने भन्ने बहस सुरु भएको छ ।

व्यवस्थापिका–संसद्को विकास समितिको आयोजनामा बुधबारदेखि यहाँ सुरु भएको स्थानीय सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयको अन्तरक्रिया कार्यक्रममा सांसदले तोकिएको समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी सिंहदरबारको अधिकारलाई गाउँपालिकासम्म पु¥याइनुपर्नेमा जोड दिनुभयो ।

समितिका सभापति रवीन्द्र अधिकारीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेतको अधिकार भएको स्थानीय सरकारलाई प्रभावकारी बनाउन सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सांसद चिनकाजी श्रेष्ठ, प्रकाश पौडेल, रामकुमार भट्टराई, दीपकप्रसाद कुइँकेल, यज्ञबहादुर थापा, अनिता देवकोटा, प्रञ्जना सरदार र शान्ता मानवीले स्थानीय तह सञ्चालन ऐन छिट्टै ल्याइनुपर्ने विचार राख्नुभयो ।

सो अवसरमा आइडिइए–डिएफआइडीको साझेदारीमा स्थानीय सरकार समन्वयविज्ञ डरमोट शिल्डस्ले दैलेख जिल्लामा अध्ययन गरेको आधारमा तयार पार्नुभएको स्थानीय सरकारसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव डा हरि पौडेल र डिएफआइडीका टोली नेता टम विङफिल्डले स्थानीय सरकारलाई प्रभावकारी बनाउने सन्दर्भमा आफ्ना धारणा राख्नुभयो ।

कार्यक्रममा विकास समितिका सांसद, मन्त्रालयका अधिकारी, विकास साझेदार संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता छ । अन्तरक्रिया आज सम्पन्न हुनेछ । रासस

तपाइँको प्रतिक्रिया ।