पूर्वविद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना

कपन अनलाइन 

बेनी (म्याग्दी), ३ चैत । महेन्द्ररत्न मावि बरञ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

महेन्द्ररत्न उच्च मावि पूर्वविद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ ।

कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

छात्रवृत्ति सिफारिसका लागि पाँच सदस्यीय उपसमिति गठन गर्ने पनि साधारणसभाले निर्णय गरेको जनाइएको छ । पुन मगरले आफ्नी स्वर्गीय बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाखको अक्षयकोषसमेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार पाँचसयभन्दा बढी विद्यार्थीले एसएलसी र दुईसयभन्दा बढीले दश जोड दुई उत्तीर्ण गरिसकेका विद्यालय प्रशासनले जनाएको छ ।

महिलाले खने गाउँसम्म मोटरबाटो

यसैबीच, म्याग्दीको अन्नपूर्ण गाउँपालिका साबिकको घार गाविस–३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् ।

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साबिकको ३ देखि ४ वडासम्म पुग्ने एक किमी मोटरबाटो निर्माण गरेका हुन् ।

एक महिनासम्म ६० भन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एकजनाले रु एक लाख बराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

मोटरबाटो निर्माण भएपछि घारका दुई सय घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्नसक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।