बैतडीका स्थानीय तहमा कार्यकारी अधिकृत खटाइए

कपन अनलाइन 

बैतडी, २ चैत । जिल्ला समन्वय समितिको कार्यालय बैतडीले जिल्लाका १० ओटै नयाँ गाउँपालिका तथा नगरपालिकामा कार्यकारी अधिकृत खटाइएको छ ।

दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा यसअघि नै कार्यकारी अधिकृत रहेका र बाँकी आठवटा स्थानीय तहमा कार्यकारी अधिकृत खटाइएको स्थानीय विकास अधिकारी खेमराज बिष्टले जानकारी दिनुभयो ।

नयाँ व्यवस्था नहुँदासम्म गाविस सचिवमध्ये ज्येष्ठताका आधारमा निमित्त कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । पुरचौँडी नगरपालिकामा ललितबहादुर चन्दलाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ भने मेलौली नगरपालिकामा धौलराम सार्कीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, सिगास गाउँपालिकामा जयबहादुर बोहरा, सुर्नया गाउँपालिकामा कमलापति भट्ट, शिवनाथ गाउँपालिकामा लोकराज भट्ट, पञ्चेश्वर गाउँपालिकामा रवीन्द्र पुनमगर, दोगडाकेदार गाउँपालिकामा मानसिंह साउद र डिलाशैनी गाउँपालिकामा रामकुमार रानालाई कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

यसैगरी, ८४ वडामध्ये ८२ वटा वडामा वडासचिव खटाइएको जिल्ला समन्वय समिति बैतडीले जनाएको छ । तत्कालका लागि प्राविधिक सहायकलाई समेत वडा सचिवको जिम्मेवारी दिइएको छ । नयाँ गाउँपालिका तथा नगरपालिकाबाट आजदेखि नै सेवा सुरु भएको छ । नयाँ संरचनाअनुसार केन्द्र तोकी केन्द्रमा कार्यकारी अधिकृत रहने र वडा केन्द्रमा वडासचिव रहनेछन् । दशरथचन्द नगरपालिकाको केन्द्र गढी तोकिएको छ भने पाटन नगरपालिकाको केन्द्र पाटन नै तोकिएको छ ।

यस्तै, सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वर, सिगास गाउँपालिकाको केन्द्र शिवलिङ्ग, डिलाशैनी गाउँपालिकाको केन्द्र डिलाशैनी, दोगडाकेदार गाउँपालिकाको केन्द्र देउलेक, पञ्चेश्वर गाउँपालिकाको केन्द्र आम्चोरा, शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान, मेलौली नगरपालिकाको केन्द्र मेलौली र पुरचौडी नगरपालिकाको केन्द्र हाट तोकिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।