हत्कडीसहित भागेको २६ वर्षपछि पक्राउ

कपन अनलाइन 

काठमाडौँ, १ चैत । जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा दोषी ठहर भई फरार रहेका नुवाकोट घ्याङफेदी घर भई हाल काठमाडौँ, बौद्ध बस्ने फुर्पा तामाङलाई प्रहरीले आज बौद्धबाट पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला अदालतको २०६३ भदौ १३ गतेको फैसलाले सात वर्ष छ महिना कैद सजाय तोकिएको थियो । फरार रहेका उनी विगत २६ वर्षदेखि लुकिछिपी बौद्ध क्षेत्रमा बस्दै आएको छ । हाल ठेक्कापट्टाको कार्य गर्दै आइरहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले पक्राउ गरेको हो ।

नुवाकोट घ्याङफेदी बस्ने १३ र १४ वर्षकी दुई जना बालिकालाई तामाङसमेत चार जना व्यक्ति मिली ललाइफकाइ २०४७ जेठ १४ गते बिक्री गर्ने मनसायले भारतको मुम्बई लैजान लाग्दै गर्दा कालिमाटीबाट वीरगन्जतर्फ लैजाने क्रममा प्रहरी टोलीले पीडितलाई उद्धार गर्नुका साथै चार जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाएको थियो ।

विसं २०४७ असार ८ गते सर्जमिनका क्रममा नुवाकोट, खरानीटार भन्ने स्थानमा बाटोमा हुरीबतास तथा मुसलधारे पानी परेपछि होटलमा चिया खान बसेका बेला प्रहरीको आँखा छली चार जना प्रतिवादी नै हत्कडीसहित भाग्न सफल भएका थिए ।

पक्राउ परेका लामालाई प्रहरीले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको छ । रासस

तपाइँको प्रतिक्रिया ।