स्थानीय तहको निर्वाचन हुन्छःउपप्रधानमन्त्री थापा

कपन अनलाइन 

काठमाडौँ, १ चैत । उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले जस्तोसुकै अवस्था आइपरेपनि स्थानीय तहको निर्वाचन भएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

मिडिया नेपालको प्रथम वार्षिक उत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनु अहिलेको राष्ट्रिय आवश्यकता हो ।”

उपप्रधानमन्त्री थापाले प्रजातान्त्रिक अभ्यास गर्ने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन हो, यसवाट कोहि पनि टाढा रहनु हुन्न, यसका लागि सरकार हदैसम्म लचकदार बन्न तयार छ भन्दै मुलुकलाई बचाउन र बनाउन सबै तिक्ततालाई चटक्कै बिर्सी निर्वाचनमा होमिन सबैसंग आग्रह गर्नुभयो ।

पछिल्लो समयमा पार्टीगत पत्रकारिताले जग गाडेको भन्दै उहाँले आमसञ्चार माध्यमलाई व्यावसायिक बनाएर पेसागत चुनैतीको सामना गर्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री थापाले संविधान संशोधन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पस्ट पार्दै “असन्तुष्ट रहेका मधेसी दललाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण तयार हुनुपर्दछ भन्नुभयो ।”

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सञ्चार जगतलाई आफ्नो पेसाप्रति जिम्मेवार हुँदै राजनीतिक रुपमा गरिने पत्रकारितालाई पूर्ण रुपमा त्याग्न आग्रह गर्नुभयो ।

देश विकासको प्रत्येक चरणमा पत्रकारको ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा पनि सक्रिय रुपमा सोही अनुरुपको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो ।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले मधेसको समस्यालाई सम्बोधन नगर्ने हो भने देशले ठूलो क्षति व्यहोर्नुपर्ने बताउँदै समस्याको सम्बोधन गर्नु वर्तमान सरकारको प्रमुख दायित्व हो भन्नुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र पे्रस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले संविधान कार्यान्वयन सँगै स्थानीय तहको निर्वाचन अहिलेको आवश्यकता हो भन्नुभयो । रासस

तपाइँको प्रतिक्रिया ।