शाश्वत धामबाट सांस्कृतिक धार्मिक पर्यटनको विकास हुने राष्ट्रपतिको विश्वास

कपन अनलाइन 

कावासोती, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित शाश्वत धामले सांस्कृतिक र धार्मिक पर्यटनको विकास गराउने विश्वास व्यक्त गर्नुभएको छ ।
नवलपरासीको दुम्कौलीमा चौधरी गु्रपले निर्माण गरेको शाश्वत धामको आज उद्घाटन गर्दै उहाँले दया, करुणा र सद्भावका साथ राष्ट्रको एकता कायम गर्दै सामाजिक रुपान्तरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

आयुर्वेद र योगको ज्ञानको विकास भएको लामो इतिहास भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधता मानवजातिको वैभवका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशङ्करले शाश्वत जीवन देख्न शाश्वत धाम आउनुपर्ने बताउँदै सबै धर्म एक साथ रहेका छन् भन्नुभयो ।

भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले शाश्वत धामको विकासले यस क्षेत्रको गरिमा बढेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले योग र साधनाको महत्वपूर्ण केन्द्रका रुपमा सनातन धर्म रहेको बताउँदै सनातन मूल्य र मान्यताको अध्ययन केन्द्रका रुपमा शाश्वत धाम रहेको बताउनुभयो । नेपाली संस्कृतिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको समेत उहाँले बताउनुभयो ।
श्रीलङ्काका मन्त्री एवम् युनाइटेड नेसनल पार्टीका नेता दया गमावेले आर्ट अफ लिभिङले जीवन जिउने कला सिकाएको बताउनुभयो ।


चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले नेपालमा सनातन धर्मको रक्षा गर्दै देशभरका मन्दिरमा पुजारीको व्यवस्था गर्न धामले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सोही अवसरमा जयपुर फुटका डाडी आर मेहताले कृत्रिम हाटखुट्टा बनाउनका लागि सहयोग पु¥याउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । आज नै शाश्वतधाममा प्राणप्रतिष्ठा गरिएको छ । कार्यक्रममा हिन्दू, बौद्ध, शिख र जैन धर्मका गुरुहरुको सहभागिता थियो । रासस

तपाइँको प्रतिक्रिया ।