अडिटरले जोरधारालाई लगाएको आरोप २ वर्ष अघिको

गएको २ दिन जोरधारा खानेपानी संरक्षण संस्थाको समाचारले कपन पूर्णरुपमा तरङ्गित भयो । सामाजिक अडिटर भनेर २ वर्षअघि नियुक्त भएका तीन जना अडिटरमध्ये एकजना गंगा बहादुर श्रेष्ठले कपन अनलाइनलाई एक रिपोर्ट पेस गरे र त्यो रिपोर्टलाई कपन अनलाइन समाचार बनाएपछि यो विषयमा धेरैले चासो दिएको पाइयो । पानीसँग सम्बन्धित विषय भएकोले यो गंगा बहादुर श्रेष्ठले दिएको रिपोर्टको पक्षमा मात्र कलम चलाउनु अप्रासङ्गिक महशुस गरेर हामीले यो विषयमा सम्बन्धित धेरै पक्षसँग यो रिपोर्टबारे बुझ्न खोज्यौं । सबैले कपन जोरधाराका केही आफ्ना समस्याहरु भए पनि गंगाबहादुर श्रेष्ठले यतिखेर निकालेको विषयप्रतिचाहिँे अनावश्यक र अर्थहिनरुपमा चर्चामा आउने दाउमात्र बताए ।
यो विषयमा हामीले दुईवटा निष्कर्ष निकाल्यौं । पहिलो, यति ठूलो र पानीजस्तो महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको संस्थामा साँच्चिकै भ्रष्टाचार भएको छ भने हामी पनि यो भ्रष्टाचारको पृष्ठपोषक हुनुहुँदैन । दोस्रो, पानीजस्तो महत्वपूर्ण क्षेत्रमा काम गरिरहेको संस्थाका बारेमा अनावश्यक र आधारहिन टिप्पणी गर्नेहरुको समाचार छापेर जनता भाँड्न पनि हुँदैन । जोरधारा खानेपानी पनि यही समाजको अंग हो भने गंगाबहादुर श्रेष्ठ पनि हामीले चिनेको चरित्र हो । त्यसैले सत्यतथ्य समाचारप्रति हामी सचेत छौं । यो विषयलाई सार्वजनिक बहस त बनाउन सकिन्छ तर खानेपानीजस्तो महत्वपूर्ण विषयमा भैरहेको कामलाई बिथोल्ने काम हामीबाट हुनुहुँदैन ।
सामाजिक अडिटर कसरी नियुक्त गरिन्छ ? वा कस्ता व्यक्ति सामाजिक अडिटर हुने हो ? यसको कुनै अर्थपूर्ण जवाफ हामीसँग छैन । तीनवटा राजनीतिक दलहरुले तीन जना अडिटर जोरधारामा पठाउने क्रममा ने.का.को तर्फबाट सुधिर थापा, एमालेको तर्फमा मुक्ति भण्डारी र एमाओवादीका तर्फबाट गंगाबहादुर श्रेष्ठलाई सामाजिक अडिटर बनाएर नियुक्ति गरिएको माइन्युट जोरधारा खानेपानीमा पाइन्छ । यद्यपि आजका दिनमा गंगाबहादुर श्रेष्ठ आफूलाई सबैभन्दा बढि एमाओवादी विरोधीको रुपमा चिनाउँछन् । यसरी पार्टीहरुले नियुक्त गरेका अडिटरमध्ये सुधिर थापा र मुक्ति भण्डारी रजिष्टर्ड अडिटर हुन् र उनीहरुको काम अहिले पनि अडिटरकै हो तर गंगाबहादुर श्रेष्ठले कुनै अडिटरको काम गरेको थाहा हुन सकेन । उनको शैक्षिक योग्यता पनि जम्मा ७ कक्षा पास रहेको उनी स्वयम् बताउँछन् । यी तीनजना बाहेक जोरधारा खानेपानीमा अर्का पनि अडिटर कार्यरत छन् उनीचाहिँ जोरधारा खानेपानीमा आधिकारिकरुपमा शुल्क लिएर काम गर्ने पोषकलाल श्रेष्ठ हुन् ।
सामाजिक अडिटरको हैसियतले गंगाबहादुर श्रेष्ठले सात महिना लगाएर जोरधारामा हिसाबकिताब दुरुस्त पार्न सहयोग गरेका थिए । जोरधारा खानेपानीमा रहेका सबैले उनले गरेको कामप्रति प्रशंसा नै गरेको पाइयो । विशेषगरेर ०६७ सालभन्दा अगाडि हिसाबकिताब राख्दा भएका त्रुटिहरुलाई मिलाउन उनले सामाजिक अडिटरको हैसियतले समय दिएको पाइन्छ । उनले सात वर्षमा भएको खर्च तथा आम्दानीलाई लेजरमा मिलाउने काम गरेको देखिन्छ ।

 

०६७ सालभन्दा अघि गंगाबहादुर श्रेष्ठले ९ बुँदेमा भनेजस्तै जोरधारामा प्रकृया पूरा नभएका निकै सन्दर्भहरु देखा पर्दछन् त्यसमध्ये बैंकखाताबाट खर्च तथा आम्दानी सन्चालन नगर्नु, ठूला सामान खरिद गर्दा सार्वजनिक आव्हान नगरिनु, अनुगमन समितिले खरिद गरिएको सामानलाई पारित नगर्नु, जिन्सी खाता मेन्टेन नगर्नु, भ्याट बिलमा सामान खरिद नगरिनु जस्ता समस्याहरु देखा पर्दछन् । तर ०६७ सालमा सर्वदलीय भेलाले अडिटर नियुक्त गरेर काम संचालन भए यता भ्रष्टाचार नै हुने गरी कुनै त्यस्तो गम्भीर त्रुटी भएको देखिदैन । स्वयम् गंगाबहादुर श्रेष्ठ पनि ०६७ सालयता त्यस्तो कुनै उल्लेखनीय गल्ति नभएको स्वीकार्छन् ।
सामाजिक अडिटरका हैसियतले सामन्यतया कुनै शुल्क लिइँदैन तर गंगाबहादुर श्रेष्ठले विभिन्न मितिमा पेश्की स्वरुप १८ हजार रुपैया र बाँकी रकम असार महिनामा लिएर पच्चीस हजार शुल्कवापत भनेर लिएको देखिन्छ । जोरधाराले यो पच्चीस हजारलाई गंगाबहादुर श्रेष्ठलाई काम गरे वापत पारिश्रमिक दिइएको भनेर मायन्युट गरेको छ । गंगाबहादुरले पारिश्रमिक भनेर रु. ४२,५०० र मासिक ६००० पाउने गरी सँधै जोरधारामा काम गर्ने निवदेनसमेत पेश गरेका तर जोरधाराले त्यो नमाने पछि उनी रुष्ट भएको जोरधाराका केही कर्मचारीले हामीलाई बताए ।
हामीले गंगाबहादुर श्रेष्ठसँग करिब ३० मिनेट रेकर्डेड कुराकानी गर्यौं । उनले कुनै तथ्यपरक गल्ति हामीलाई भन्न सकेनन् । ०६७ सालभन्दा अघि प्रकृयागत त्रुटि धेरै भएको र त्यो त्रुटिलाई अनुमोदन गर्नुपर्छ भन्ने मात्र उनको धारणाको सार संक्षेप देखियो । उनी आफै ०६७ साल यता कुनै गल्ति नभएको बताउँछन् । उनले कपन अनलाइनलाई प्रदान गरेको ९ बुँदे प्रतिवेदन अहिलेको नभई दुईवर्ष अघिको समस्याको पोको हो भन्ने कुरा हामीलाई बुझाए ।
पैसाकै लागि मात्र गंगाबहादुर श्रेष्ठले जोरधारासँग सम्बन्धित यी कुरा सार्वजनिक गरे भनेर भन्नु त त्यति ठीक नहोला तर उनका यी सबै तर्क २ वर्ष अघिको भएको हुँदा यो प्रसङ्ग त्यतिखेर ल्याउन सकेको भए ठूलो अर्थ राख्थ्यो तर अहिले यसको ठूलो अर्थ रहला जस्तो हामीलाई लागेन । किनकी उनी स्वयम् अहिले जोरधारामा समस्या छैन भन्छन् ।

 

यसैबीच सिजेएमसि एफएमका लागि पुन्यराज पुडासैनीले यहि बिषयसँग सम्बन्धित रहेर गंगाबहादुर श्रेष्ठ तथा जोरधारा खानेपानीका संरक्षक के.बि. मरहट्ठाबीच टक सो को कार्यक्रमको आयोजना गरेको छन्  । कपन अनलाइनका पाठकहरुका लागि हामी सिजेएमसि एफएमको यो वार्तालाप हामी सँधै सुन्न सकिने किसिमको वातावरण बनाएका छौँ । 

तपाइँको प्रतिक्रिया ।