यौनका अचम्म अचम्मका काण्ड

– लेखक विश्वमणि सुवेदी –
आधुनिक विश्वले हामीलाई चामत्कारिक प्रविधिसँग साक्षात्कार गरायो । संसारलाई एउटा सानो गाउँजस्तो बनाएको छ । सँगै मानिसका जीवनशैलीमा पनि विश्व आधुनिकता हावी हुँदैछ । प्रविधि हावी हुँदा हामी ज्ञान र सीपले सम्पन्न भएका छौं, तर जीवनशैलीमा आएको विसंगतिले हाम्रो समाजलाई नराम्रोसँग गाँजेको छ ।
यसरी शहरी सभ्यता बिग्रिँदा मुख्यतः यौन विकृति फस्टाएको छ । कपनकै उदाहरण दिने हो भने प्रशस्तै अघोषित यौनकेन्द्र छन् । राजधानीको चक्रपथबाहिरका कतिपय रिसोर्टहरु संगठित यौन व्यवसाय सन्चालन गर्ने भएका छन् । चक्रपथभित्रको कुरा गर्दा हिजोआज सुन्धारातिरका गेस्ट हाउसको कथा अर्कै छ । अल्छे पतिका फुर्तिली पत्नीहरु मर्निङ वाक जान्छन् । वाकिङमा ठिटाहरु भेटिन्छन् । विहानै भएर के भयो त, रमाइलोको कुनै घडी हुँदैन । र, सुन्धाराका गेस्ट हाउसमा एकाविहानैबाट फुर्तिलीपत्नीहरु ठिटासहित हाजिर हुन्छन् । यो जाडोमा स्युँ स्युँ गर्दै सडकमा हिँड्नुभन्दा सिरकभित्र अंगालिएर बस्नुको मज्जै अर्को । चक्रपथबाहिरका कथा अर्कै छन् । प्रहरीले काठमाडौंका भित्री क्षेत्रका होटल र लजमा छापा मार्न थालेपछि यौनका शौखिनहरु चक्रपथ छाडेर अन्यत्र जान थाले । भैंसेपाटी, पलाँसे, ककनी, चोभार, हात्तीबन, नगरकोटदेखि कपनको जगडोल डाँडासम्मका यौन केन्द्रलाई नियाल्दा केही कहालिलाग्दा प्रबृत्ति देखिन्छन् ।

समाजमा यसरी यौन विकृति बढ्नुका पछाडि केवल आधुनिकतामात्र दोषी छैन । प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भने, मुख्यतः वैदेशिक रोजगारीमा गएका पुरुषका पत्नीहरु त्यस्ता केन्द्रमा बढी भेटिएका छन् । पतिले कमाएर पठाएको रकम यहाँका ठिटाहरुलाई पोस्ने गरिएको छ । अर्कातर्फ यौनको अतृप्त प्यास मेटाउने नाममा उनीहरु त्यस्ता यौन केन्द्रको खोजीमा हुन्छन् । योसँगै विवसताले यौन बेच्न बाध्य युवती शहरमा प्रशस्तै छन् । अनि, अर्कातर्फ स्कुल र प्लस टु जेनेरेशनका बालबालिकामा बढ्दो यौन आकर्षले अनेकन सामाजिक कुरिती निम्तिएको छ । केही समयअघि मात्र कपन र चावहिलमा सन्चालित एक विद्यालयकी छात्राले बालुवाखानीस्थित आफ्नै घरमा आत्महत्या गरिन् । सुनिन्छ, उनी स्कुले जीवनमै प्रेममा परेकी थिइन् । धोका भएपछि विष पिइन् । त्यही स्कुलकी अर्की एक छात्राले पनि केही वर्षअघि अत्यधिक सिटामोल सेवन गरी आत्महत्या प्रयास गरिन् । स्कुल पढ्ने उमेरका विद्यार्थीहरु आजकल कक्षा ८ देखि नै ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने भएका छन् । त्यसमाथि गोपीकृष्ण हलको मर्निङ शोमा पर्दा भित्रको सिनेमा र पर्दा बाहिरको सिनेमा एकैपल्ट हेर्न पाइन्छ ।

यसरी बालबालिकासम्मा यौन विसंगति बढ्नुको कारणचाहिँ अभिभावक नै हुन्छन् । गृहिणी र कामकाजी महिला तथा पुरुषमा गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड बनाउने चलन बढेको छ । त्यही सिको बालबालिकाले गर्ने हुन् ।

बढ्दो यौन विकृतिलाई रोकथाम गर्न केवल प्रहरीले छापा मारेर मात्र पुग्दैन । प्रहरीले छापा मारेपछि उनीहरुलाई निश्चित अवधी थुन्छ र छाडिदिन्छ । खाने मुखलाई जुँगाले किन छेक्थ्यो र । उनीहरु फेरि त्यतैतिर पल्किहाल्छन् । ठिमीस्थित प्रहरी बृत्तका डिएसपी विनोद खरेलले केही दिनपहिले कौशलटारको मिडवे होटलबाट एउटा जोडी पक्रिए । केटीका पति दरबारमार्गको रेस्टुरेन्टमा काम गर्ने । केटा कुपण्डोलमा हार्डवेयर पसल चलाउने, विवाहित पुरुष । दिउँसोको मौका छोपेर यी दुबै घुम्दै कौशलटार पुगे । प्रहरीले छापा हानेर हिरसातमा राख्यो । केटाले घरमा फोन गरेर मापसेमा पुलिसले थुन्यो भनिदिए । केटीले पनि माइतबाट गाउँको दाइ भेट्न आएको थिएँ, केटा–केटाको झगडा पर्दा मलाई पनि समात्यो भन्ने बहाना निकालिन् । यदि प्रहरीले केटाको घरकी पत्नी र केटीको पतिको उपस्थितिमा उनीहरुलाई रिहा गरिदिएको भए ती जोडी फेरि फर्किएर त्यस्तो गतिविधिमा लाग्दैनथे । कपन प्रहरीका इन्स्पेक्टर नवराज ढुंगानाले पनि केही दिनअघि नीलोपुलबाट फ्ल्याटमा यौन केन्द्र चलाउने सन्चालक र यौनकर्मी पक्राउ गरे । उनीहरु पनि ठिमीको जस्तै प्रक्रियाबाट रिहा भए । हिरासतबाट निस्किएर ती युवती सोझै नयाँ अखडातिर लागे, सुध्रिएनन् । बौद्ध प्रहरीले त्यसरी पक्राउ परेका महिलालाई मानव बेचबिखनमा मुद्दा चलाउन चाहेको थियो । तर, स्थानीयवासीले सन्चालिका महिलाको सानो बच्चाको बहाना झिक्दै त्यसो नगर्न अनुरोध गरेपछि प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप्यो । केही दिन हिरासतको हावा खाएर महिला रिहा भइन् । सुनिँदैछ, फेरि धन्दा शुरु भइसक्यो ।

E-mail: [email protected]

(लेखक जनआस्थाका प्रमुख संवाददाता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ

तपाइँको प्रतिक्रिया ।