तौलेश्वरनाथ संस्कृत उच्च माविको वार्षिकोत्सव

कपन अनलाइन 

कपिलवस्तु, २० माघ । विद्यालय खोल्न प्रतिबन्ध रहेका बेला राणाकालीन अवस्थामा खुलेको पश्चिमाञ्चल क्षेत्रकै पुराना विद्यालयमध्येको एक तौलिहवास्थित श्री तौलेश्वरनाथ संस्कृत उच्च माविले स्थापनाको ९६औँ वार्षिकोत्सव कार्यक्रम बुधबार तौलिहवामा सम्पन्न गरेको छ ।

सो अवसरमा विद्यालयमा देवराज स्मृति पुरस्कार एक, तुलसीराम शान्ति स्मृति पुरस्कार ६ र गौरीशङ्कर स्मृति पुरस्कार तीनजनालाई प्रदान गरिएको छ ।

यसैगरी, विद्यालयका पूर्वप्रधानाध्यापक पुण्यप्रसाद अर्यालले रु एक लाखको विष्णुगोपी स्मृति अक्षयकोष स्थापना गर्नुभएको छ । सो अक्षयकोषको ब्याजबाट संस्कृत विषयमा उत्कृष्ट अङ्क ल्याएका १० जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

विद्यालयकी पूर्वविद्यार्थी हाल अमेरिका बस्दै आउनुभएकी कविता ज्ञवालीले रु एक लाखको अक्षयकोष स्थापना गर्नुभएकोमा सो अक्षयकोषको ब्याजबाट उच्च मावि तहमा अध्ययनरत सातजना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

सोही अवसरमा विद्यालयका तर्फबाट प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा प्रावि तहमा प्रथम हुने लवकुश कुर्मी, निमावि तहमा प्रथम हुने गीता रैदास र मावि तहमा प्रथम हुने शिवकुमार मौर्यलाई उत्कृष्ट विद्यार्थीका रुपमा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी सूर्यप्रसाद भुसालले राणकालीन अवस्थामा स्थापित यो विद्यालयको छुट्टै इतिहास रहेको र विद्यालयमा अनिवार्य संस्कृत विषय अध्यापन हुने उदाहरणीय विद्यालय बन्न सफल भएको भन्दै विद्यालयलाई चाँडै नै जिल्ला शिक्षा कार्यालयबाट विभिन्न शीर्षकमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाउनुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।