साया समूहद्वारा विद्यालयलाई सहयोग

कपन अनलाइन 

काभ्रे, २० माघ । फेसबुक मार्फत जोडिएको ‘साया’ नामक समूहले पाँचखाल नगरपालिकाका भीमसेनस्थान–१७ मा रहेको जनजागरण प्राथमिक विद्यालय र विद्यार्थीलाई विभिन्न सामग्री उपलब्ध गराएको छ ।

विद्यालयको भौतिक पूर्वाधार एकदमै नाजुक रहेको र विद्यार्थीको आर्थिक अवस्थासमेत एकदमै कमजोर रहेकाले समूहले विद्यालयलाई फोहर थुपार्ने भाँडा, पानीको जार, ड्रम, ग्लोबलगायतका आवश्यक सामग्री दिएको थियो भने ८२ विद्यार्थीका लागि स्टेसनरी कापी कलम, खेलौनालगायतका सामग्री वितरण गरेको थियो ।

सामाजिक सञ्जालको माध्यमबाट पनि समाज सेवा गर्न सकिने देखाउन र यस्ता कार्य गर्नैपर्ने भएकाले पनि विद्यालयलाई सहयोग गरेको समूहका सदस्य के के आर्यन बताउनहुन्छ । समाजमा देखिने गरी गरिएका कार्यक्रममध्ये यो पहिलो कार्यक्रम भएकाले आगामी दिनमा पनि समूहले सामाजिक कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

फेसबुकमार्फत उक्त समूहमा झन्डै ४३ हजार युवा जोडिएका छन् । यो आफूहरुको पहिलो कार्यक्रम भएकाले अहिले सबै सदस्यलाई एकत्रित गर्न नसकिए पनि आगामी कार्यक्रममा सबै मिलेर काम गर्ने सदस्य आर्यन बताउनुहुन्छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्था निकै नै कमजोर रहेको र विद्यालयको भौतिक अवस्थासमेत राम्रो नभएको अवस्थामा साया परिवारको सहयोग पाउनु आफ्नो विद्यालयका लागि उदाहरणीय कार्य भएको बताउँदै प्रधानाध्यापक कृष्णप्रसाद पन्तले सो समूहको सफलता र प्रगतिको कामना समेत गर्नुभयो ।

सामाजिक सञ्जालको व्यापक दुरुपयोग भइरहेको र यसमार्फत सामाजिक अपराधसमेत बढ्दै गइरहेको अवस्थामा सो समूहले समाजिक सञ्जाललाई प्रयोग गरेर सामाजिक कार्यको थालनी गर्नु निकै नै राम्रो पक्ष रहेको देशभरका गाविस सचिवहरुको सङ्गठन ‘सचिव हकहित सङ्घ’का महासचिव मकुन्दप्रसाद गजुरेलले बताउनुभयो । उहाँले सामाजिक कार्यमा साया समूहको यो निकै नै प्रशंसनीय कार्य रहेको र समाजको विकासका लागि एक जना युवामा मात्र सकारात्मक सोच भएमा समाजको परिवर्तन सम्भव रहेको पनि उल्लेख गर्नुभयो ।

वाग्मती खोलाको सरसफाइका निम्ति नियमित सहयोग गर्दै आएको साया समूहले काठमाडौँमा अलपत्र परेका र आर्थिक रुपमा विपन्न व्यक्तिलाई पनि सहयोग गर्दै आएको र रगतको अभावमा मानिसले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर समूहबाट पनि ब्लड सर्कल बनाएर सम्बद्ध व्यक्तिलाई विभिन्न समूहका रगतसमेत उपलब्ध गराउँदै आएको छ । रासस

तपाइँको प्रतिक्रिया ।