गगन थापा नेतृत्वको बाहेक अर्को कांग्रेस छैन– सहमहामन्त्री रसाइली

गगन थापा नेतृत्वको बाहेक अर्को कांग्रेस छैन– सहमहामन्त्री रसाइली

कपन अनलाइन
काठमाडौं भदौ २९।

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले संविधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन् । कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको र सिङ्गो पार्टीको ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित भइसकेको उनले बताए ।

विशेष महाधिवेशनको प्रसङ्ग उल्लेख गर्दै उनले वृद्धाश्रम र आर्यघाट पुगुन्जेलसम्म पद ओगटिरहनुपर्छ भन्ने परिपाटी र सोचलाई कांग्रेसले चिरेको दाबी गरे । ‘गगन थापाको नेतृत्वमा रहेको कांग्रेसबाहेक अर्को कुनै कांग्रेस छैन’, रसाइलीले भने, ‘यदि कसैले त्योभन्दा बाहिर अर्को कांग्रेसको कुरा गर्छ भने त्यो नेपाली कांग्रेसको विधानको मात्र नभई निर्वाचन आयोग र सर्वोच्च अदालतको समेत अवहेलना हो ।’ उनले आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउने दृढता व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक बनेका सहमहामन्त्री रसाइलीले रास्वपा कामले नभई अरूको आलोचना गरेर स्थापित भएको पार्टी भएको आरोप लगाए । हालैको बाढीपहिरोपछि सिर्जित विषम परिस्थितिमा सरकारको भूमिकालाई लिएर उनले कडा आलोचना गरे ।

‘अहिले बाढीपीडितहरूको अवस्था अत्यन्तै दर्दनाक छ, तर बालेन नेतृत्वको सरकार कहाँ छ ?’ उनले प्रश्न गरे, ‘प्रतिपक्षी दलहरू पूर्ण रूपमा साथ र सहयोग दिन तयार हुँदाहुँदै पनि यस्तो सङ्कटको बेला सर्वदलीय बैठकसम्म बोलाउन आवश्यक ठानिएन ।’

उनले सरकारको पूर्वतयारी र विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै थपे, ‘बाढी आउनुपूर्व सरकारले आम नागरिकलाई समयमै र प्रभावकारी रूपमा सूचना दिन सकेन । सुरुङ दुर्घटनाका बेला विदेशबाट दक्ष टोली ल्याएर समयमै उद्धार कार्य गरिएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।’

सरकार विपद्को समयमा सर्वसाधारणको उद्धार र राहतमा पूर्णरूपमा असफल भइसकेको दाबी गर्दै उनले भने, ‘यदि अहिलेको रास्वपा सहभागी सरकारको ठाउँमा कांग्रेस–एमालेको सरकार भएको भए बालेन र रविले सामाजिक सञ्जालमा कस्ता स्टाटस लेख्थे होला ?’
यसैबीच, नेता रसाइलीले बालेन सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् । प्रतिपक्षको पूर्ण सहयोग हुँदा पनि प्रधानमन्त्री बालेनले विपद्का बेला समेत सर्वदलीय बैठक नराखेर ठूलो कमजोरी गरेको उल्लेख गरे ।

तपाइँको प्रतिक्रिया ।