बागलुङमा पनि ‘फुटसल’

बागलुङमा पनि ‘फुटसल’

कपन अनलाइन 

बागलुङ, १७ माघ । फुटबलको सानो रुप ‘फुटसल’ बागलुङमा पनि खेल्न पाइने भएको छ ।

कोठाभित्र (इनडोर) खेलिने फुटसल मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ । रसआवर फुटसल प्रालिले बागलुङ नगरपालिका–३ गुठीमा फुटसल खेल सुरुआत गर्न लागेको हो । फुटसल मैदान बनाउन रु एक करोड २० लाख लगानी भएको प्रालिका राजु केसीले बताउनुभयो ।

“आउँदो दुई साताभित्रै फुटसल खेल सञ्चालनमा आउँछ” केसीले भन्नुभयो–“धवलागिरि अञ्चलमै पहिलोपटक बागलुङमा फुटसल खेल सुरु हुँदैछ ।” केसीसहित चारजना युवा मिलेर फुटसलमा लगानी गरेका हुन् ।

खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन, खेल पर्यटनजस्ता क्षेत्रमा फुटसलले टेवा पुग्ने जनाइएको छ । फुटसलसँगै रेष्टुराँ र स्नुकर हाउस पनि खोल्ने तयारी रहेको केसीले जानकारी दिनुभयो ।

फुटसल बिहान ५ देखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ । केसी, सज्जन आचार्य, राजेश श्रेष्ठ र प्रदीप शर्माले मासिक रु ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा खरिद गरेर फुटसल मैदान निर्माण गरेका हुन् । खेल क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट भएको लगानी सराहनीय रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।

उहाँले फुटसलले जिल्लाको खेल क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल सहरी युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । पछिल्लो समय फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ ।

फुटसल खेलको औपचारिक सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो । फुटसललाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले खेलका रुपमा समेत मान्यता दिएको छ । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ५–५ जना खेलाडीबीच ४० मिनेट खेलाइन्छ । फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । रासस

तपाइँको प्रतिक्रिया ।