बडादशैंले सुनसान बनायो कपनलाई

बाल उद्धार उ. मा. वी. कपन -३ अगाडि को सुनसान सडक

संस्कृति तथा सभ्यतासँग सम्बन्धित महत्वपूर्ण चाडपर्वहरु यतिखेर नेपालीको घरआँगनमा भित्रिरहेको छ । बडादशैंको टीका नजिकिंदै गर्दा गाउँगाउँमा चहलपहल बढिरहेका बेला  राजधानी भने सुनसान छ । विभिन्न उदेश्यका साथ काठमान्डौं आएका नेपालीहरु  आफ्नो घर फर्केका कारण राजधानी सुनसान देखिएको हो । राजधानीमा पसल कम खुलेका छन् भने यातायातका साधन पनि कम देखिन्छन् । घटस्थापना देखि हिजो सम्म विभिन्न नाका हँुदै प्रहरी तथ्यांक अनुसार ५ लाख भन्दा बढी  मानिस राजधानि बाहिरिएका छन् ।
कपन गाविसमा करिब ७५ प्रतिशत विभिन्न जिल्लाबाट आएर बसेकाहरुको संख्या भएकोले अधिकांश जन्मघरतिर जाँदा तथा कोठामा बस्नेहरु करिब सबै नै घरतिर जाँदा कपन यतिखेर सुनसान तथा शान्त देखिएको छ । भीडभाडको पर्याय बनिरहेको कपन यतिखेर शान्त भएको छ । सुनसान देखिएको कपनलाई शान्त कपन भन्नहरुका संख्या पनि छ । कपन ८ निवासी देवेन्द्र देवकोटा भीडभाड कपनबाट आजित भएको अवस्थामा यसको शान्त वातावरणले आफू खुशी भएको बताउँछन् । सरकारले सत्ता तथा विकासलाई विकेन्द्रित गरेर गाउँ गाउँमा पुर्याउन सके कपन यसरी भीडमा परिणत हुँदैनथ्यो देवकोटा शान्त कपनको पक्षमा मात्र हैन विकसित गाउँको पक्षमा पनि देखिन्छन् ।

 

कपनमा १ मा बस्ने राजन थापा भने सुनसान कपनसँग दिक्क छन् । आफ्ना केही सहकर्मि गाउँतिर लाग्दा एक्लो भएको महशुस गर्दै राजन भन्छन्, ‘चाडपर्वमा सुनसानभन्दा भीडभाडनै ठीक हुन्छ ‘। तास खोल्ने साथीहरुकोसमेत अभाव भएको उनको गुनासो थियो ।
कपन १ बस्ने ठाकुरप्रसाद खकुरेलले भने फरक दृष्टिकोण व्यक्त गरे । उनको दुखेसो अब चाडपर्व जाँडरक्सि तथा जुवातासमा सिमित बनेकोमा थियो । ‘यो चौतर्फि सुनसान बेलामा मजस्ता मानिसचाहिँ सुतेर बस्नु बाहेक केही काम भएन’, सामाजिकरुपमा पनि परिचित ठाकुरप्रसाद खकुरेल थप्छन्, ‘चिया पसलसमेत खुल्दैन के बाहिर निक्लनु’ ।
धार्मिकरुपमा अत्यन्त महत्वपूर्ण मानिने बडादशैंलाई असुरहरुमाथि देवताहरुको विजयलाई अथवा नराम्रो तत्वमाथि राम्रा तत्वहरुको विजय भनेर चिनाइन्छ । आफूभन्दा ठूला मानिससँग आशिर्वाद लिइने प्रचलन आफैले पनि हाम्रो पहिचान तथा सभ्यतालाई जोडेर हेर्न सकिन्छ । मासु खाने चाडको रुपमा पनि परिचित यो पर्वसँग विश्वकै सबैभन्दा धेरै बलि चढ्ने प्रथासँग कुख्यातिसमेत कमाएको छ ।

 

देवतालाई भनेर चढाइने बलि पछिल्लो केही वर्षदेखि विस्तारै कम हुँदै भने गएको छ । मानव स्वास्थ्यका लागि रातो मासु नराम्रो मानिनुले धेरै मानिस साकाहारी बनिरहेको अवस्थामा नेपालीको दशैं पर्व विस्तारै परिमार्जित हुनु पर्ने राय कपन निवासी पंण्डित जयप्रसाद उप्रेती राख्दछन् । अब मासु खानका लागि घरघरमा खसिबोका काट्ने परम्परालाई समेत न्युनिकरण गरेर बधशालाहरुलाई विश्वस्तरीय बनाउनु पर्ने पण्डित उप्रेतीको तर्क थियो । सम्पूर्ण नेपालीको महानपर्व भएकाले यसलाई सकभर हर्षाेल्लासपूर्ण बनाउनु आफैमा महत्वको विषय भए पनि चाडपर्वलाई आध्यत्मिकरुपमा लिइने चलन कम हुँदै गएकोमा उनले समाजप्रति दुखेसो पोखे ।
कपन अनलाइन सम्पूर्ण आफ्ना पाठक तथा शुभचिन्तकहरुलाई बडादशैंको हार्दिक शुभकामना प्रदान गर्न चाहन्छ ।

तपाइँको प्रतिक्रिया ।