एमाओबादीका सञ्जय अर्यालसंगको महत्वपूर्ण वार्ता
कपनमा माओवादी भनेर नाम लिँदा सबैभन्दा पहिला यहाँको मानिसहरुको मानसपटलमा आउने अनुहर सञ्जय अर्यालको हो । एमाओवादीका काठमाडौं जिल्ला सदस्यको रुपमा कार्यरत अर्याल सुरुमा एमाले त्यसपछि माले अनि माओवादी भएर राजनीति गर्दा हाल कपनमा माओवादीको पर्याय अनुहार भएको छ । साधारण जीवन, कठोर बोली बोल्ने व्यक्तिको रुपमा पनि कपनमा परिचित सञ्जय अर्यालसँग कपन अनलाइनले गरेको राजनीतिक वार्ता ः
प्रश्न ः यहाँलाई माओवादी बन्ने रहर कसरी चल्यो ?
सञ्जय अर्याल ः नेकपा एमाले छँदादेखि नै गणतन्त्रप्रेमी भएका कारण बिभाजित भएर माले बनिसक्दा पनि आफ्नो सपना पूरा नभएको हुँदा र नेकपा माओवादीले गणतन्त्रको मुद्धालाई सार्थक रुपमा उठाएको हुँदा माओवादीतिर आकर्षित भएको हुँ ।
प्रश्न ः के हुँदो रहेछ गणतन्त्र भएपछि ?
सञ्जय अर्याल ः यो युग अनुसारको कुराकानी हो । दुनियाँ दास युगबाट पुँजिबादी युगमा अगाडि बढि सके तर हामी हिजोकै सामान्तवादी युगमा छौँ । सामान्तवादी संस्कारले जनता मारमा पर्ने भएकोले देशलाई औधोगिकरण गर्न सम्भव नहुने भएकोले यसको अन्त्य गर्नु नै थियो । त्यस किसिमको सामान्तवादी सत्ताको मूल नाइके राजा भएकोले गणतन्त्रतिर देश उन्मुख भएको हो ।
प्रश्न ः राष्ट्र औधोगिकरणतिर लैजान वा हामी आत्मनिर्भर हुनका लागि कुनै वाद तथा तन्त्रले असर पार्छ र ?
सञ्जय अर्याल ः कुन अर्थ व्यवस्थालाई देशमा लागु गर्ने भन्ने कुरा सबैभन्दा ठूलो हुने भएकोले सामान्तवादी सत्ताबाट देश औधोगिकरणतिर नजाने भएकोले गणतन्त्र जसमा जनताले आफ्नो लागि अर्थव्यवस्था चयन गर्न सक्छ त्यसैले रोजिएको हो । देशलाई माथि उठाउन वाद तथा तन्त्रको ठूलो हात रहन्छ ।
प्रश्न ः यहाँ लामो समय एमालेमा रहनु भयो , एमालेमा छँदा पनि यस्तै लाग्थ्यो ?
सञ्जय अर्याल ः पक्कै पनि । एमाले छँदा पनि मैले गणतन्त्रको सबालमा पटक पटक संघर्ष गरेको हुँ । एमालेमा त्यो पूरा नहुने देखेपछि माले भइयो । तर दुई महिनामा मालेले आफ्नो संकृर्ण सोच पस्केपछि त्यहाँ बस्न नसकेर नै माओवादी हुन पुगेको हुँ ।
प्रश्न ः एमालेबाट माले भएपछि मालेको हैसियत एकदमै कमजोर भएकोले अरु शक्ति खोज्नु भएको जस्तो पनि देखिन्छ नि ?
सञ्जय अर्याल ः मालेमा नै रहँदा पनि मेरो व्यक्तिगत पहँुच थियो । म कपनको उपसचिव थिएँ । म पहुँचभन्दा पनि पार्टी नीति र कार्यान्वयनको तहका बारेमा अत्यन्त विमती राखेर माले छोडेका हुँ । पद नपाएर वा मालेको हैसियत कमजोर भएर हैन ।
प्रश्न ः नेपाली कांग्रेसमा पनि प्रवेश गर्नु भयो हैन ? कति समय कांग्रेस रहनु भयो ?
सञ्जय अर्याल ः हैन, म कांग्रेस भइन । तर मेरो नाममा कांग्रेसमा प्रवेशको वक्तव्य चाहिँ जारी भएछ । आन्दोलन चर्किंदै गएको बेला केही मालेमा रहेका साथीहरु केही तत्कालिन माओवादी साथीहरुलाई राज्यको त्राश फैलिएको अनुभव भएको थियो । त्यही त्राशलाई न्युनिकरण गर्न कांग्रेस प्रवेश गर्ने र सुरक्षित रुपमा रहने भन्ने योजना बनाउँदा ती साथीहरुले मेरो नाम पनि प्रयोग गरिदिँदा यो भ्रम भएको हो । म कांग्रेस प्रवेश गरेको होइन ।
प्रश्न ः तत्कालिन अवस्थामा माओवादीमा प्रवेश गर्दा पार्टीमा हैसियत प्राप्त हुने र जनतामा पनि नयाँ रुपले जान पाउने भएकोले पनि प्रव्रेश गर्नु भयो होला हैन ? यहाँको धारणा पहिलेदेखि नै माओवादीले नै लिएको लाइन जस्तो थियो त ?
सञ्जय अर्याल ः एमालेमा रहुञ्जेल माओवादीसम्बन्धित कुनै पनि सोचाई थिएन । तत्कालिन बहुदलीय जनबाद बाटै राज्य सत्तामा जनतको अधिकार प्राप्त हुन्छ भन्नेमा नै म विश्वस्त थिएँ । त्यहाँ गणतन्त्रको मुद्धा पनि थियो । तर अल्पमतमा थियो । सर्वहारा वर्गको राज्यसत्ताको लागि गणतन्त्रमा जानु नै पथ्र्यो त्यसैले सबैभन्दा बढि यो मुद्धा माओवादीका तर्फबाट उठेको हूँदा म आकर्षित भएको हुँ । फेरि वैज्ञानिक तथ्य के हो भने पूरानोलाई नयाँले विस्थापित गर्छ नै । माओवादी मुद्धा नयाँ थियो । कालन्तरमा सबैलाई विस्थापित गर्यो पनि । कुनै हैसियत वा नाफाका लागि माओवादी लाइनमा प्रवेश गरेको हैन । यो मेरो स्वभाव नै हो ।
प्रश्न ः तपाईले भन्नु भएको वैज्ञानिक तथ्य अनुरुप पूरानालेलाई नयाँ विस्थापन गर्ने क्रममा के अब एमाओवादीलाई नयाँ माओवादीले विस्थापन गर्ला त ?
सञ्जय अर्याल ः यो विज्ञान हो । त्यसैले गर्दैन भन्न त नसकिएला तर तत्काललाई माओवादीले एमाओवादीलाई विस्थापन भने गर्न सक्दैन । पार्टीले कुन नीति लिएको छ र उसको व्यवस्थापनको विधि कस्तो छ भन्ने कुराले उसले लिने रुप आंकलन गर्न सकिन्छ । अहिले नयाँ माओवादीले भनेको जस्तै चुनाव पनि नगर्ने, विद्रोह पनि नगर्ने, युद्ध पनि नगर्ने जस्त अत्यन्त ढुलमुले नीतिले कालन्तरमा मोहनविक्रम सिंहको हालतमा पुग्ने अनुमान गर्न सक्छ । एमाओवादीलाई विस्थापन संभव छैन ।
प्रश्न ः गणतन्त्रपछि नेपालीले तत्कालका लागि प्राप्त गरेका देखिने विषयहरु भनेको राजतन्त्र सकिनु र धर्म निरपेक्ष हुनु हो । यी कुराले एउटा सामान्य मानिसलाई के असर पार्छ ?
सञ्जय अर्याल ः सिधै व्यक्ति केन्द्रित भएर भन्दा केही नदेखिएला तर समग्रमा राजनीतिले अर्थतन्त्रलाई गाइड गर्ने भएकाले भावी अर्थतन्त्रको संस्कृति कस्तो निर्माण गर्ने, त्यसको पँुजि वितरण प्रणाली कस्तो बनाउने भन्ने विषयले विस्तारै हरेक मानिसलाई प्रभाव पार्छ नै ।
प्रश्न ः धर्म निरपेक्ष देश हुँदा तपाइले भनेको राष्ट्रियताको र औधोगिकरणको प्रश्नलाई कहाँनिर सम्बोधन गर्छ ?
सञ्जय अर्याल ः राजनीतिको पहिलो उद्धेश्य भनेको मानिसले स्वतन्त्रतापूर्वक वाँच्न पाउनु पर्छ भन्ने हो । उसको चाहना अनुसारको मुभमेन्ट गर्न पाउनुपर्छ भन्ने हो । त्यसैले राज्यको एउटा धर्म भनेर घोषणा गर्दा अरु धर्मावलम्बिहरुलाई अन्याय हुने हुँदा धर्म निरपेक्ष बनाउँदा सबै धर्माबलम्बि स्वतन्त्र हुने भएकोले देशको सर्वाङ्गिण विकासका लागि धर्म निरपेक्ष अनिवार्य थियो ।
प्रश्न ः गणतन्त्रका बारेमा तपाईका तर्क मान्ने हो भने गणतन्त्रपश्चात के भएका छन् देशलाई औधोगिकरणतिर लैजाने प्रकृयाका आधारहरु ?
सञ्जय अर्याल ः माथिल्लो राजनीतिक माहौलले तलको राजनीतिक महौललाई प्रभाव पारिरहेको हुन्छ । लामो वर्षदेखिको विविध सामन्ति संरचनाहरु भत्काउने चरण हो यो । देशलाई औधोगिकरणतिर लैजाने भनेको आजको भोलि हुने कुरो होइन । त्यसका लागि तयारी स्वरुप पूराना नराम्रा संरचना भत्काउने कामहरु भैरहेका छन् ।
प्रश्न ः तपाईको कपनको मान्छे भएर एमाओवादीको जिल्ला कमिटिमा हुनुहुन्छ । तपाईले भनेका गणतन्त्रपश्चात आएको राम्रा पक्षहरुलाई आफूलेचाहिँ आफ्ना क्षेत्रमा कति लागु गर्नु भयो ?
सञ्जय अर्याल ः गणतन्त्रपश्चात कपनको हकमा हामीले पूराना थुप्रै फ्याँक्नु पर्ने संरचना तोडेका छौं । कपनको समाजलाई गतिशीलरुपमा अगाडि बढाउन मैले वा मेरा पार्टीले वैज्ञानिक तथ्यका आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष थुप्रै कामहरु गरेका छौं । कपनलाई औधोगिकरणतिर उन्मुख गाविस बनिसकेको छ । त्यतिमात्र हैन राजनीतिक संरचना पनि कपमा परिवर्तन भैसकेको छ । पहिलेजस्तो एउटा पार्टीमात्र निर्णय गर्ने वा एउटा पार्टीलाईचाहिँ बाहिर बनाएर काम गर्ने परम्परा पूर्ण रुपमा ढालि सकिएको अवस्था हो । गाविस सञ्चालनको प्रकृयासमेत पहिला जस्तो छैन ।
प्रश्न ः राजनीतिमा पनि स्वार्थ हुन्छ नि । यो पदमा पुगुँ वा यसो गरुँ भन्ने । मानवीय चरित्र हो काम गरेपछि केही उचाई पाउने उस्को चाहना हुनु स्वभाविक पनि हुन आउँछ । तपाईको राजनीतिको स्वार्थ कस्तो छ ?
सञ्जय अर्याल ः स्वभाविकरुपमा त्यस्ता स्वार्थ कहिलेकहिले जागृत भैहाल्छ । मेरो मूल्यांकन होस् भन्ने चाहना राजनीतिमा अरु क्षेत्रमासरह हुन्छ । त्यो आफ्नो संघर्षले निर्धारण गर्ने विषय पनि हो । मेरो व्यक्तिगत कुरा गर्दा म जहाँ छु म सन्तुष्ट छु । मैले त्यति धेरै महत्वाकांक्षा पनि बनाएको छैन । त्यो समयले र मेरो संघर्षले निर्धारण गर्ने विषय पनि हो ।
प्रश्न ः आफ्नो व्यक्तिगत जीवन चलाउन यहाँले गरिरहेको राजनीति यथेष्ट हुन्छ ? यहाँले गरेका राजनीतिले कमाइ दिन्छ ?
सञ्जय अर्याल ः मैले गरेको राजनीतिको कमाई पक्कै छैन । कमाउन मन लागेको भए व्यपार गरिन्थ्यो होला । यो समाजसेवाको क्षेत्र हो । राजनीतिबाट कमाउने किसिमको चरित्र मसँग छैन पनि । मेरो बुबाले मेरो नीजि जीवन चलाउन सबैभन्दा ठूलो योगदान दिनु भएको छ । त्यो बाहेक जसरी मेरो जीवन चलेको छ म यसबाट सन्तुष्ट पनि छु ।
प्रश्न ः एउटा मन्छे अभाव जिन्दगीमा कहिलेसम्म सन्तुष्ट हुन सक्छ ?
सञ्जय अर्याल ः मान्छेको स्वभाव नै भन्ने हो भने अभावमा मात्र हैन भरीपूर्णमा पनि सन्तुष्ट हुन सक्दैन । तथापि मेरा अभावलाई मेरो घरका सदस्यहरुले राम्रै भरथेग गरिदिएका कारण म सन्तुष्टिका सामान्य रेखा कोर्न सक्छु । अब विस्तारे हाम्रो पार्टीले पनि नयाँ नीति ल्याइसेकेको छ, सबैजना उत्पादन सम्बन्धमा जोडिनु पर्छ भनेर । अब म पनि निकट भविष्यमा उत्पादन सम्बन्धमा जोडिने विचारमा छु ।
प्रश्न ः अहिले तपाईका लागि यो राजनीति के हो त ? काम पनि हैन, काम भएको भए माम हुन्थ्यो । पेशा पनि हैन पेशा भएको भए कमाई हुन्थ्यो ।
सञ्जय अर्याल ः मेरा लागि राजनीति समाजसेवा नै हो । अझ थपौँ, देशका लागि संघर्ष हो ।
प्रश्न ः राजनीतिबाट तपाईका पनि धेरै साथीहरु पैसा कमाइरहेका छन् । सामान्यरुपमा राजनीति पैसा कमाउनकै रुपमा गरिने पेशा भैरहेको अवस्थामा तपाई आफुचाहिँ समाजसेवा भनिरहनु भएको छ । अलि नपच्ने वा अव्यवहारिक उत्तर भएन यो ?
सञ्जय अर्याल ः मानिसहरुको आफ्नै दृष्टिकोण र चरित्र हुन्छ । मेरो कमाउने खालको चरित्र कहिल्यै विकास भएन । फेरि राजनीतिलाई आवरण बनाएर जसले पैसा कमाए वा कमाउँदै छन् ती खहरे खोलका भेलजस्ता हुन् कतिपय आएर हराए, कति चाँडै नै हराउने छन् । म खहरे खोलाको भेल बन्न चाहन्न । राजनीति टिक्नका लागि पनि हो ।
प्रश्न ः तपाईले नामका लागि राजनीति गरिरहेको छु भन्ने आशय पोखिरहनु भएको छु, तपाईको नाम राम्रो कोटीमा बसेको छ भन्ने कुरामा कसरी विश्वस्त हुनुहुन्छ ?
सञ्जय अर्याल ः राजनीतिमा नाम आलोचना वा सकारात्मक दुवै दृष्टिकोणबाट आउन सक्छ । त्यसमा मेरो केही गुनासो छैन तर सञ्जय अर्यालको नाम कुनै पनि दिन आर्थिक हिनामिनासँग जोडिएर आउँदैन ।
प्रश्न ः कपनमा केही केही राजनीति गर्नेहरु कपन मैले बनाएको भन्ने भ्रम पाल्छन् । त्यस्ता भ्रमका खेती गर्नेहरुको अघिल्तिर तपाई कपनका लागि केही मार्ग दिएको छु भनिरहनु भएको छ । के मार्ग दिनु भएको छ, खुलाउन सक्नुहुन्छ ?
सञ्नय अर्याल ः राजनीति भीषण द्वन्द्वको अवस्थामा नयाँ राजनीतिक प्रणालीको व्यवस्था गर्नु, पुराना राजनीतिक दलहरुको साँघुरो चेतना विकास भनेको बाटोघाटोमात्र हो भन्ने त्यसबाट उनीहरुलाई पनि बाहिर निकाल्ने काम भयो । विकासका बहुआयाममा ती पुरातनपन्थि राजनीतिक दलहरुलाई ल्याउनु सानोतिनो काम हैन ।
प्रश्न ः के हुँदो रहेछ त त्यस्तो, बाटोघाटो, पानी वा ढलभन्दा माथि उठेर गर्न सकिने विकासका बहुआयामचाहिँ ?
सञ्जय अर्याल ः समाज विकासको क्रममा तयार गरिने धेरै संरचनामा शिक्षा, सामाजिक सुरक्षा, खेलकुुद, विज्ञानप्रविधिका क्षेत्रमा हालिने हातहरु अबका विकासका नवआयाम हुन् । खेलकुदमा कपनमा एउटा राष्टियस्तरको स्टेडियम, कपन गाविसको आफ्नै वेबसाइट, कपनलाई वाइफाइ फ्रि जोनजस्ता काममा मैले तथा मेरो पार्टीले कपनलाई नेतृत्व गरिरहेको छ ।
प्रश्न ः यदि तपाईले माथि उल्लेख गरेका कुरा कपनमा हुँदै छन् वा हुन लागेका हुन् भने यो जस तपाईले मात्र किन लिन खोजेको अरुले पनि पाउनु पर्ला नि ?
सञ्जय अर्याल ः जस मेरै पोल्टामा आउनु पर्छ भन्ने त हैन तर यस प्रसङ्गको पहलकर्ताचाहिँ म नै हो । हिजोको कपनको नेतृत्व विकासलाई बाटोघाटोमा नै सिमित राख्न चाहन्थ्यो मैले वा मेरो पार्टीले नै हो यो क्षेत्रमा सबैलाई समावेश गरेको । अहिले विस्तारै उहाँहरु पनि बुझ्न थाल्नु भएको छ ।
-केशव पाठक
फोटोः सागर बैजु