नेकपा एमाले कपनको चियापानमा बामदेव गौतम गर्जिए

नेकपा एमाले कपनले विजयादशमी, दीपावलीलगायतको चाडपर्वको अवसर पारेर विशेष चियापान कार्यक्रमको आयोजना गर्यो । कपनस्थित बालउद्धार उमावि पछाडिको परिसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रमुख अतिथिको रुपमा उपस्थित थिए । नेकपा एमाले कपनले हरेक वर्ष दशैंको पूर्व सन्ध्यामा यस कार्यक्रम गर्ने परम्परा अन्तर्गत काठमाडौं क्षेत्र नं. ४ अन्तर्गतका अधिकांश सक्रिय उपस्थित कार्यक्रममा विशेष अतिथिको रुपमा केन्द्रिय सल्लाहकार समिति सदस्य शान्ता मानवी, नेकपा एमाले काठमाडौं अध्यक्ष निर्मल कुइकेल उपस्थित थिए ।
चियापान समारोह कम शक्ति प्रदर्शन ज्यादा देखिएको कार्यक्रममा अतिथिहरुलाई मञ्चमा उपस्थित गराउनमात्रै करिब ४५ मिनेट लागेको थियो । कार्यक्रमको सुरुमै कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपानेले कपनमा एमाले सँधै सबैभन्दा ठूलो पार्टी र विकासतिर क्रियाशील पार्टी हो भनेर उद्घोष गरे । उपस्थितहरुको उत्साहपूर्ण तालीमा कपन अध्यक्षले अप्रत्यक्षरुपमा एमाओवादी तथा कांग्रेसलाई चुनौति दिन पनि भ्याए ।
विशेष अतिथिको भूमिका रहेका एमाले काठमाडौं अध्यक्ष निर्मल कुईंकेलले एमालेको सुधारिएको सांगठनिक स्वरुपले अबका दिनमा एमाले नेपाली राजनीतिमा आँधीको रुपमा प्रस्तुत हुने बताए । जनसामान्यभन्दा कार्यकर्ताहरुको भीडका बीच उनले एमाले सँधै राजनीतिको केन्द्र विन्दुमा थियो अब झनै महत्वपूर्ण भूमिका देखिने भन्दै दशैंपछि हुने आन्दोलनतिर सबैलाई आकर्षित गराए ।
सांस्कृतिक कार्यक्रमको रुपमा विभिन्न बहुदलीय जनवादी गीत संगीतको कार्यक्रमहरुका बीच कार्यक्रमका प्रमुख आकर्षण एमाले उपाध्यक्ष बामदेव गौतमले वर्तमान सरकार र एमाओवादीको कार्यशैलीप्रति आक्रोशको वर्षा गरे । कार्यकर्ताकोहरुको अविरल तालिकाबीच अब दशैं तिहारलगत्तै राष्ट्रपतिले प्रधानमन्त्रिलाई हटाउने खुलासा गर्दै यदि त्यसो हुन नसके लगत्तै एमालेले सिंहदरवार आक्रमण गरेर बाबुराम भट्टराईलाई गलहत्याउने बताए ।


चाडपर्वको मुखमा गरिने यस्ता चियापान कार्यक्रम प्रायः सबै पार्टीले गर्ने गरेका छन् । यसपाला एमालेले निकै गतिलो कार्यकर्ताहरुको उपस्थिति देखाएको छ । साथै कपनमा एमालेको राजनीतिलाई विकासतिर डोर्याउने पुराना स्थानीय नेता बिष्णु सापकोटालाई सम्मान गरेर चियापान कार्यक्रम लाई उचाई प्रदान गरिएको थियो । एमालेले गरेको कार्यक्रमले अब कार्तिक ३ गते नेपाली कांग्रेसले गर्ने कार्यक्रमलाई अप्रत्यक्ष चुनौति दिएको छ ।

तपाइँको प्रतिक्रिया ।