कपनको राजनीतिः विगतदेखि वर्तमान

काठमाडौंको उत्तरपूर्वि क्षेत्र राजनीतिक रुपमा ०७ साल अघिदेखिनै सक्रिय रहेको क्षेत्र हो । यसै भेकमा कपन पनि पर्ने भएकोले कपनको इतिहास राजीतिकरुपमा पनि महत्वपूर्ण रहेको छ । कपन घर भएर ०७ सालको राजनीतिक क्रान्तिमा होमिएका व्यक्तिहरुको संख्यासमेत लामै भएकोले कपनसँग राजनीतिक इतिहास एकदमै प्रखर रहेको छ । यद्यपि ०३२ सालपछि देशले कोरेको साँधसिमानाअन्तर्गत भने कपन र जोरपाटी गाउँ पञ्चायत संयूक्त बनाएर जोरपाटी गाउँ पञ्चायतअन्तर्गत कपनलाई पारिएको थियो । ०३८ सालपछि फेरि कपन गाउँ पञ्चायत स्वतन्त्र भएको हो ।
विशेषगरी १९८५ सालमै कपन आउने मूख्य बाटो खुलेको कारण यस कपनको विविध विकासमा यस बाटोको मूख्य भुमिका रहेको पाइन्छ । यो बाटोसँगै आर्थिक एवम् सामाजिक हैसियत समेत कपनले उठाएको देखिन्छ । माहिला बडा गुरुज्यू हेमराज पाण्डेका लागि खोलिएको यो बाटोले कपनलाई ०७ सालको क्रान्तिसँग समेत जोड्न प्रभावकारी भूमिका खोलेको हो । यो बाटोले काठमाडौं र कपन जोड्ने सेतुको रुपमा काम गरेको छ । ०७ सालमा भएको क्रान्ति तथा त्यस आसपासका अन्य प्रजातान्त्रिका गतिबिधिमा संलग्न थुप्रै नामहरु कपनवासी भएकाले राजनीतिक रुपमा हामी पहिलेदेखि नै सचेत रहेको पुष्टि गर्न सकिन्छ । ०७ सालको क्रान्तिमा सहभागि भएका कपनका महत्वपूर्ण हस्तिहरु गोविन्दप्रसाद चालिसे, जीतबहादुर चालिसे, चन्द्रबहादुर थापा, कृष्णप्रसाद चालिसे र रत्नबहादुर चालिसे इतिहासमा स्वर्णाक्षर महापुरुष भएर पनि हामीले सम्झिने चेष्टा गर्न सकेका छैनौं । रत्नबहादुर चालिसे अझै पनि आफ्ना कथाहरु सुनाउन सक्ने अवस्थामा हुनुहुन्छ ।
०७ सालदेखि ०४६ सालसम्म कपनमा बसेर राजनीतिक रुपमा सक्रिय कृष्णप्रसाद चालिसे(गोपाल दाइ) कपनको इतिहासका त्यस्ता महापुरुष हुन् जसले कपनलाइृ चिनाउन समेत अत्यन्त महत्वपुर्ण भूमिका निर्वाह गरे । त्यसैगरी कपन ब्यँुझाउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुमध्ये अर्का अग्रणी पुरुष मनुज बाबु मिश्र हुन् । ०१२ सालमा उनले नै बालेको शिक्षाको दियोले कपनमा ०१७ साल, ०३६ साल तथा ०४६ सालको जनआन्दोलनमा भाग लिन यहाँका स्थानीयलाई अभिप्रेरित तुल्याएको हो ।
०७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु आफ्नो जीवनको उत्तरार्धसम्म पनि अत्यन्त सफलरुपमा खटेको देखिन्छ । विशेषगरी कृष्णप्रसाद चालिसे(१८८७)सँग नेपाली राजनीतिका सुवर्ण समसेर, सुन्दरराज चालिसेजस्ता महान व्यक्तिको सम्बन्धसमेत जोडिएको छ । त्यसैगरी चन्द्रबहादुर थापा, रत्नबहादुर चालिसे, गोविन्दप्रसाद चालिसे, शेर बहादुर देउजाजस्ता व्यक्तिहरु ०४६ सालसम्म कपन राजनीतिको प्रेरक व्यक्तित्वको रुपमा कृयाशील रहे । तर यी महान् प्रजातन्त्रका योद्धाहरुलाई अब हामीले यस्तै लेखहरुमा मात्र सिमिति पारिसकेको छौं । उनीहरुलाई सम्मानको शब्द पेश गर्ने कुनै काम हामीले गर्न सकेका छैनौं ।
०३६ सालमा कपनले राजनीतिक रुपमा निलोको पक्षमा राम्रै वकालत गरेको पाइन्छ । हाल कपनमा राजनीति गर्ने कोही पनि त्यतिखेर सक्रिय नरहे पनि कपनले प्रजातन्त्रको पक्षमा त्यो बेलाका युवाहरुलाई पर्याप्त रुपमा पाएको थियो । बहुदल÷निर्दलको चुनावमा कपन क्षेत्रबाट बुथ प्रतिनिधिरुपमा काम गर्ने शेन बिक्रम खड्का र श्याम बहादुर खड्कालाई आज हामीले नचिने पनि कपनमा राजनीतिक उज्यालो छर्ने व्यक्तिहरुमा उहाँहरु महत्वपूर्ण नाम हुन् ।
कपनको राजनीतिक इतिहासमा शेरबहादुर देउजा(१९५७) पहिलो गाउपञ्चायतको प्रधानपञ्च हुने राजनीतिक व्यक्ति हुन् । देउजा ०७ सालको प्रजातान्त्रिक आन्दोलनमा समेत खुट्टामा गोली खाएका व्यक्ति हुन् । ०१९ देखि ०२२ सम्म उनी प्रधानपञ्च थिए । देउजापछि टीकाबहादुर सिलवाल कपनमा यस क्षेत्रमा प्रधानपञ्च भएको पाइन्छ । स्व.टीकाबहादुर सिलवालकै पालामा यस क्षेत्रमा कपनलाई पहिलोपटक आधुनिक तवरले नापी भएको थियो । ०२७ सालतिर इलाहाबहादुर खड्का यस क्षेत्रको प्रधानपञ्च भए । यही बेलामा महांकाल–फैका पूल निर्माण गर्ने जगसमेत हालिएको थियो । पछि सूर्यबहादुर केसीको पालामा मात्र यो निर्माण भयो । ०३० सालतिर गाउँपञ्चायतको प्रधानपञ्चको रुपमा भैरवबहादुर राउृत(१९९६) निर्वाचित भएका थिए ।
कपनको राजनीतिक तथा सामाजिक इतिहासमा सूर्यबहादुर के.सी.को स्थान अत्यन्तै महत्वपूर्ण रहेको छ । ०३२ सालमा कपन–जोरपाटी गाविसको संयूक्त प्रधानपञ्च(जोरपाटीबाट मणिराम चालिसे) भएपछि ०३८ सालमा फेरि कपन स्वतन्त्र भएपछि पनि सूर्यबहादुर के.सी नै प्रधानपञ्च चुनिएका थिए । कपन इतिहासमा सबैभन्दा लामो समय प्रधानपञ्च रहने व्यक्ति पनि सूर्यबहादुर के.सी. नै हुन् । २२ वर्षे लामो राजनीतिक तथा सामाजिक जीवन बिताउनु भएका के.सी.सँग तत्कालिन कपनका थुप्रै विकास निर्माणका प्रकृयाहरु जोडिएका छन् ।
०४२ सालमा भएको गाउँपञ्चायतको निर्वाचनपछि भने आत्माराम पौडेल कपनको प्रधानपञ्चमा निर्वाृचित भए । प्रजातन्त्र आएपछि पनि एक कार्यकाल आत्माराम पौडेल नै कपन गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । कपन कांग्रेसमा प्रभावकारी भूमिका निर्वाह गर्ने आत्माराम पौडेल हाल पनि राजनीतिक रुपमा सक्रिय व्यक्तिको रुपमा लिइन्छ ।
०४६ को आन्दोलनमा कपनमा हाल राजनीति गर्नेहरुमध्ये धेरै जना सक्रियरुपमा सहभागि थिए । ती नामहरुमा पूराना कृष्णप्रसाद चालिसेदेखि निलाम्बर पन्थी, विष्णु सापकोटा, नवराज सापकोटा, केशव भट्टराई,, मीठाराम अधिकारी, रामकृष्ण क्े.सी., अच्यूत पौडेल, गोपाल पौडेललगायत थुप्रै नयाँ नामहरु ०४६ सालको जनआन्दोलनमा सक्रिय थिए ।
कपनले ०३६ र ०४२ सालको चुनावमा पनि जनपक्षीय उम्मेदवारहरुलाई साथ दिएको क्षेत्र हो । विशेषगरेर पद्मरत्न तुलाधारलाई कपनका प्रजातन्त्रप्रेमीहरुले साथ दिएको पाइन्छ । त्यसो त कपन जोगमेहर श्रेष्ठको पनि आधार इलाका रहेको क्षेत्र हो । विशेषगरेर स्व. सूर्यबहादुर के.सी.जोगमहेर श्रेष्ठका प्रमुख सल्लाहकार थिए ।
कपनको राजनीतिक इतिहास ०४६ को परिवर्तनपछि कांग्रेस र एमालेमा बाँडिएको हो । ०४७ को आम निर्वाचनमा कपन प्रजातन्त्र प्रभावित क्षेत्र भएर हुनसक्छ काठमाडौं क्षेत्र नं. २ बाट दमननाथ ढुंगाना निर्वाचित भएका थिए । वामपन्थि उम्मेदवार मल्ल के सुन्दर पराजित भएका थिए । ०४९ को स्थानीय चुनावमा पूर्व प्रधानपञ्च आत्माराम पौडेलले एकपटक फेरि कपन चलाउने जिम्मा पाएका थिए । प्रजातन्त्रपछि कपनका १ र ३ वडामा बढेका नयाँबस्तिले कपनलाई बिस्तारै बामपन्थि प्रभावित क्षेत्रको रुपमा विकास गर्यो । ०५४ को स्थानीय चुुनावमा एमालेले अध्यक्ष पदसहित महत्वपूर्ण वडाहरुमा आफ्नो प्रभुत्व जमाएको थियो । कपनमा मीठाराम अधिकारी यही ०५४ को चुनावपछि स्थापित भएका हुन् । आम निर्वाचनमा पनि ०४७ पछि कपनले लगातार एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई ३ पटक लगातार विजयी बनायो ।
नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा पनि कपन बेलाबेलामा समाचारको विषय बन्ने गरेको थियो । कपनलाई माओवादी आधार इलाकाको रुपमा समेत चिनाइन्थ्यो कुनै समय । हाल यस कपनमा माओवादी पोलिटव्यूरो पासाङ र प्रभाकर बसोबास गर्नुले पनि जनयुद्ध ताका यो क्षेत्र महत्वपूर्ण थियो भन्ने कुरामा विश्वास गर्न सकिन्छ ।
०६२–०६३ को गणतान्त्रिक आन्दोलनमा कपनले अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्यो । कपन र चुनिखेल गाविसको संयूक्त आन्दोलन समितिले हरेक दिन प्रभावकारी नेतृत्व गर्दै चावहिल क्षेत्रमा हुने आन्दोलनमा आफ्नो भूमिका निर्वाह गरेको थियो । आन्दोलनको संयोजक मीठाराम अधिकारीले थिए भने न्हुच्छे नारायण श्रेष्ठ र रामकृष्ण केसी सह संयोजक भएर “चुनिखेल कपन, गणतन्त्र जपन” भन्ने नाराका साथ अधिकांश कपनवासी यो आन्दोलनमा होमिएका थिए । गणतन्त्रको आगमनपछि कपन गाविस रहेको काठमाडौं क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसकी सुप्रभा घिमिरे निर्वाचित भएकी थिइन् ।
कपनमा यतिखेर एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा–माओवादी, राप्रपा नेपाल, जनशक्ति पार्टी आफ्नो गाउँ कमिटि बनाएर कृयाशील रहेका छन् ।

– केशव पाठक
(प्रस्तुत लेख कपन गाविसको अधिकारिक वेवसाइटका लागि तयार पारिएको हो ।)

“आदरणीय पाठकवर्ग, यो लेखमा केही तथ्यहरु छुटेका भए वा गलत भए सच्याएर सहयोग गरिदिन हुन अनुरोध गरिन्छ ।”

तपाइँको प्रतिक्रिया ।